दार्चुला घटना छानबिन गर्न गठित समितिद्वारा विवरण संकलनको काम सुरु

 साउन २०, २०७८ बुधबार ११:४२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – दार्चुलामा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले विवरण संकलन सुरु गरेको छ ।

गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा रहेको छानबिन समितिले घटनासम्बन्धी विवरण संकलनको काम थालेको हो । आज पनि घटनासँग जोडिएका र जानकारसँगको छलफल तथा विवरण संकलनको काम भैरहेको समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले जानकारी दिनुभयो ।

‘अहिले पनि हामी छलफलमै छौ’ उहाँले भन्नुभयो । विवरण संकलन गर्न सहसचिव गौतम नेतृत्वको टोली हिजो सदरमुकाम खलंगा पुगेको थियो । समितिले हिजो घटनास्थल मालघाट पुगेर फर्किएको सुरक्षाकर्मीको टोलीसँग छलफल गरेको थियो ।

यसअघि डिएसपी वीरसिंह धामी नेतृत्वको टोली स्थलगत निरीक्षणका लागि खटिएको थियो । छानबिन टोलीलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको छ । गएको शुक्रबार तुइन तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानले डोरी काटिदिएपछि धामी महाकालीमा खसेर बेपत्ता भएका स्थानीयबासिन्दाले बताउँदै आएका छन् । तर भारतीय पक्षले घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ । घटनापछि स्थानीयबासिन्दाले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएका थिए ।

नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका स्थानीबासिन्दाले सदरमुकाम खलङ्गा पुग्न पनि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया