जडीबुटी खेतीले फेरिएको जीवन

 साउन २१, २०७८ बिहिबार ११:३१:४ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङकाे पहाडी भेगका बासिन्दाको आयआर्जन बढाएर उनीहरुलाई स्वरोजगार बनाउनका लागि डिभिजन वन कार्यालय दाङले जडीबुटी क्षेत्र घोषणा गरी कार्यक्रम सञ्चालनमा ल्याएको छ । 

जडीबुटीका बिरुवा निःशुल्क किसानको घरसम्म पुर्याइदिने र बिरुवा हुर्काउने किसानलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग गरेको कार्यालयले उत्पादित जडीबुटीको बजारीकरण गर्नेसम्मको योजना  डिभिजन वन कार्यालयको छ । 

उमेरले दुई बीस पार गरिसकेका घोराही उपमहानगरपालिका वडा नं १९ श्री चौरका लालबहादुर पुन मगरलाई जडीबुटी लगाउने कार्यक्रमले मन छोएको छ । विवाह सानैमा भयो । बालबच्चा बढे । बालबच्चासँगै  परिवारको दायित्व पनि बढ्यो । उहाँले दायित्व निर्वाहका लागि १६ वर्ष कोइलाखानीमा काम गर्नुभयो। 

यसले पनि जीवन सहज नचले पछि तीन वर्ष तरकारी खेती अनि दुई वर्षदेखि घोराही बजारसम्म पुगेर मजदुरी गरिरहनु भएको थियो । तर समस्या ज्यूँका त्यूँ रह्याे। ‘ज्यान नै हत्केलामा राखेर काम गरियो तर गुजाराको मेसो जस्ताको तस्तै छ’ उहाँले थप्नुभयो, ‘जहाँ काम गरे पनि गर्न जाने मात्रै पैसा पाइन्छ, वर्षभर काम हुन्न कमायो खायो उस्तै ।’

यो बर्खामा उहाँले आफ्नो बारीमा एक सय बढी टिमुरका बिरुवा रोप्नु भएको छ । टिमुरले दिगो रुपमा आम्दानी दिन्छ कि भन्ने आशा उहाँलाई पलाएको छ । ‘म मरिहाले पनि यसले छोरा नातिसम्म पनि उत्पादन दिन्छ कि’, लाल बहादुरले थप्नुभयो ‘होला भनेर गर्ने हो । हेर्दै जाउँ, होला नि ।’ 

घोराहीको घोर दौराका दीपक नेपाली पनि जडीबुटीका बिरुवाले उत्पादन दिन थालेपछि मनग्य आम्दानी हुने विश्वास राख्नुहुन्छ । ‘हावापानी पनि राम्रो छ, वरपर भएका केही बुटा टिमुर राम्रै फलेको छ’, नेपालीले भन्नुभयो ‘चार सय बेर्ना लगाएको छु, राम्रै हुन्छ हाेला।’ लालबहादुर र दीपक मात्रै होइन पहाडी भेगमा पर्ने घोराहीका २ र बंगलाचुली का ५ वटा वडामा रहेका करिब ६ सय किसानले यो वर्ष टिमुर, दालचीनी र सुगन्ध कोकीला प्रजातिका ७१ हजार बढी बिरुवा रोपेका छन् । 

वर्षभरि निगरानी पुगोस् र किसानलाई स्थानीय स्तरमै सहजीकरण गर्न सजिलो होस् भनेर सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थामार्फत डिभिजन वन कार्यालयले किसानका घरै सम्म नि:शुल्क बिरुवा मात्रै दिएन रोप्ने किसानलाई प्रोत्साहन बापत पैसा समेत दियो ।
 
बिरुवा समेत कहाँ पाइन्छ भनेर मेसो नपाएका किसानलाई घरमै बिरुवा पुर्याइदिएर रोप्नलाई पैसा समेत दिएपछि किसानलाई राहत मिलेको छ ।  तिर्साङकका ताराबहादुर घर्ती भन्नुहुन्छ ‘टिमुर रोप्ने मन लागेको छ, धेरै भएको थियो वन कार्यालयले दिन्छ भने पनि कसरी यहाँसम्म ल्याउने भन्ने समस्या नै थियो । यस पटक त वन कार्यालयले हुर्केका बेर्ना दिएछ सहकारीले गाउँमै ल्याइदियो र सबै किसानलाई दियो ।’

डिभिजन वन कार्यालय दाङसँगको सहकार्यमा आफूहरुले किसानका घरसम्म बेर्ना पुर्याइ त्यसको निगरानी र लगाउने तरिकामा समेत सहजीकरण गरेको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले बताउनुभयो। 

लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा घोराहीमा सहकारी बजार सञ्चालन गरेको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाले किसानको आयआर्जनसँग जोडिएको विषय भएको र बिरुवा रोप्नु आफैँमा उत्साहजनक विषय भएकाले कार्यक्रमलाई सफल पार्न लागेको बताएको छ ।

‘बिरुवा रोप्नका लागि रोप्ने मात्रै होइन किसानलाई प्राविधिक सहयोगदेखि भोलिका दिनमा उदाहरणीय काम बनाउने गरी हामीले फिल्डमा काम गरेका छाैँ' सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाका कार्यक्रम सुपरभाइजर बाल चन्द्र शर्माले भन्नुभयो ‘दुई/चार वर्षपछि जहाँबाट मोनिटर गरे पनि हुने गरी किसानले रोपेको बारीको जीपीएस लोकेशन समेत ट्रयाक गरिराखेको छाैँ, यसलाई नमुना योग्य कार्यक्रम बनाउँछौँ।’

कार्यक्रममार्फत बिरुवा हुर्काउने किसानलाई प्रति बिरुवा ३ बिरुवाका दरले प्रोत्साहन रकम पनि दिइएको छ । उत्पादन र ढुवानी समेत गरी दुई सय रुपैयाँ प्रति बिरुवा खर्च गरेर गाउँमै बिरुवा पाउँदा किसान खुशी पनि भएका छन्। प्रोत्साहन रकम बुझ्न आएका किसानले आफूहरुले जीवनमा पहिलो पटक बिरुवा रोपे बापत पैसा पाएको प्रतिकृया दिएका छन् । 


 
पहाडी भिरालो खेतबारीमा खेतीपाती गर्न अप्ठ्यारो, खेती गरिहाले पनि सिँचाइ नपुग्ने र लगाइएको बाली नजिकैको जङ्गलबाट आउने बँदेल, बाँदर जस्ता जनावरले खाएर किसानले भित्र्याउन समेत नपाउने अवस्था छ । 
यस अवस्थाको अन्त्य गर्दै जडीबुटी खेतीमार्फत किसानको आम्दानी बढाउन दीर्घकालीन योजनाका साथ जडीबुटी रोपनको कार्यक्रम सुरु गरिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । 

‘दाङ नेपालमै जडीबुटीको लागि अब्बल जिल्ला भएकाले दीर्घकालीन योजना बनाएर थालिएको कार्यक्रम अन्तर्गत पछिल्लो दुई वर्षमा करिब डेढ लाख जडीबुटीका बिरुवा लगाइएको छ’ सूचना अधिकारी केसीले थप्नुभयो ‘हामीले गुणस्तरीय तरिकाले हुर्काइएका बाह्रवर्षे बिरुवा किसानलाई दिएका छाैँ, सजिलैसँग हुर्कन्छन् ।’ 

डिभिजन वन कार्यालय दाङको तथ्याङ्क हेर्ने हो भने गएकाे वर्ष मात्रै जिल्लामा जडीबुटीको उत्पादन दोब्बरले बढेको छ । बजारमा अत्याधिक माग रहेका जडीबुटी टिमुर, दालचीनी र मालागेडीका दाङको पहाडी भेगमा उत्पादनको प्रचुर सम्भावना रहेको छ ।

उत्पादित वस्तुमा बिचौलियाको प्रभाव नहुने र सेवा प्रभाव तथा बजारीकरणमा प्रभावकारिता ल्याउन डिभिजन वन कार्यालयले पकेट क्षेत्रको अवधारणा ल्याएर कार्यक्रम थालेको कार्यालय प्रमुख विजयराज सुवेदीले जानकारी दिनुभयो।

‘एकीकृत रुपमा उत्पादन गर्न सकियो भने उत्पादन हुँदा किसानले मूल्य नपाउने र अभाव हुँदा मूल्य आउने गरी बिचौलियाको चलखेल हुँदैन’ कार्यालय प्रमुख सुवेदीले थप्नुभयो ‘दीर्घकालीन रुपमा पकेट क्षेत्रमै सङ्कलन, भण्डार, प्रशोधन तथा बजारीकरणमा समेत सहयोग गर्ने कार्यालयको योजना छ जसबाट उत्पादन गर्ने किसानको आयआर्जन बढ्नेछ ।’

उहाँका अनुसार उपभोक्ताको भान्सादेखि विभिन्न औषधिमा प्रयोग हुने टिमुरको एउटा बोटले औसतमा वार्षिक ७ किलो उत्पादन दिने र प्रतिकिलो ७ सयदेखि १ हजारसम्म बजारमा बिक्ने गरेको छ । 

दालचीनीको भने विभिन्न मसलाको रुपमा पात र बोक्रा प्रयोगमा आउँछ । सुगन्ध कोकीलाको माग भने अगरबत्तीदेखि साबुन बनाउने काममा धेरै छ । यी जडीबुटीहरू नेपालमा मात्रै नभएर भारतसम्म निर्यात हुने गर्दछन् । यो वर्ष दाङका पहाडी क्षेत्रका सात वटा वडाका किसानले कम्तीमा ५० देखि एक हजारसम्म बिरुवा रोपेका छन् । 

जडीबुटी उत्पादनको उर्वर थलो दाङ

वनस्पति विज्ञ डिल्ली बहादुर क्षेत्रीले नेपालमा ७ सय प्रजातिका जडीबुटी पाइने गरेको बताउनु भयो । विश्वमै अनौठो तथा विशिष्ट खालको हावापानी भएको नेपालमा ७ सय प्रजातिका जडीबुटी नेपालमा पाइने र तीमध्ये १ सय ५० प्रजातिका जडीबुटीको बिक्रीवितरण भइरहेको बताउनुभयो ।

उहाँले जडीबुटीको महत्त्व बुझ्न नसक्दा नेपालमा पाइने धेरै जडीबुटी स्याउला र सोत्तरका रुपमा प्रयोग हुने गरेको बताउनु भयो । वनस्पति विज्ञका रुपमा सरकारको उपसचिव भएर ३५ वर्ष काम गर्नु भएका क्षेत्रीले साविकको राप्ती र कर्णाली अञ्चल विश्वमै पाइने दुर्लभ जडीबुटीको उर्वर थलो भएको बताउनु भयो ।

विश्व समुदाय आधुनिक चिकित्सा पद्धतिमा धेरै विश्वास गर्ने, जडीबुटीका बारेमा गहिरो अध्ययन अनुसन्धान नहुने, अध्ययन भएका विषयवस्तु कार्यान्वयनमा नल्याउने, जडीबुटीको सही पहिचान गरी मात्रा नमिलाइ खाने, तुरुन्तै प्रतिफल खोज्ने प्रवृत्तिले गर्दा जडीबुटीको संरक्षण र उपयोग कम भएको क्षेत्रीले बताउनु भयो । 

अन्तिम अपडेट: चैत ७, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया