पाथीभरा मन्दिरमा लिफ्टबाट पानी लगिँदै

 साउन २२, २०७८ शुक्रबार १४:१:१४ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङको प्रसिद्ध तीर्थ स्थल पाथीभरा ३ हजार ७ सय ९४ मिटर उचाइमा छ । वार्षिक हजारौंको संख्यामा तीर्थयात्री जाने गरेको पाथीभरामा  पर्याप्त पानी छैन । केवल आफ्नो शरीर मात्रै पुर्याउन त हम्मे हम्मे पर्ने पाथीभरामा तीर्थयात्री स्वयंले पानी बोकेर लानु पर्ने बाध्यता छ ।

यसरी हजारौंको संख्यामा आउने तीर्थ यात्रीलाई हिँडेका बेला सुकेको मुख भिजाउन अथवा मन्दिरमा पुगेर पूजा आराधनाको लागि अक्षता भिजाउन तथा जल चढाउनका लागि पनि पानी चाहिन्छ । त्यस्तै पूजा सामग्रीका लागि पनि जलका रुपमा पानी त चाहिन्छ नै । 

तीर्थयात्रीको सुविधाका लागि सरकार र निजी क्षेत्रबाट पानी यस क्षेत्रमा पानी पुर्याउन धेरै प्रयत्न भए । हालसम्म यस्ता पाँच वटा प्रयास भए । तर, कुनै पनि सफल भएका छैनन् । पाथीभरामा हालसम्म पानी पुर्याउने यस अघि भएका प्रयास सफल नभए पनि याे पाँचौं प्रयास भने सफल हुने देखिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो । 

पाँचौं प्रयासको रुपमा लिफ्टिङ विधि अपनाइएको छ । मन्दिरमै पर्याप्त पानी पुर्याउन काफ्ले पाटीबाट लिफ्ट निर्माणको काम भइरहेको छ । मुहान बाहेक माथिल्लो सबै ठाउँमा ट्याङ्की निर्माण कार्य सकिएको छ । काफ्ले पाटीमा प्रमुख इन्टेक ट्याङ्की निर्माण भएको छ । बुलुडाँडा, माथिल्लो भेदी, दोबाटो, नयाँ पाटी र पाथीभरा मन्दिरमा गरी विभिन्न चरणमा निर्माण कार्य सकिएको निर्माण कार्यमा संलग्न खड्ग थापाले बताउनुभयो । पाइप जोड्ने काम भइरहेको तथा आउँदाे माघ सम्ममा काम  सम्पन्न गर्ने समेत थापाले जानकारी दिनुभयो । 

सरकार र उपभोक्ताको गरी ६ करोड ६२ लाख रुपैयाँको लागतमा कामको ठेक्का दिएको उपभोक्ता समितिका अध्यक्ष गोपाल न्यौपानेले बताउनुभयो । निर्माण सम्पन्न भएर पानी पुगेपछि प्रतिघण्टा ३० हजार लिटर पानी मन्दिरमा झर्ने बताइन्छ । 

पानी व्यवस्थापनका चार प्रयास 

मन्दिरमा पानी पुर्याउने धेरै प्रयास असफल भएका छन् । पहिलो प्रयास स्वरुप मुहानबाट पाइप मार्फत खानेपानी ल्याइएको थियो । तर, यसलाई मन्दिर क्षेत्रमा भने पुर्याउन सकिएन । पहिलो प्रयासमा माथिल्लो फेदीको बस्ती देखि एक किलोमिटरमा रहेको नीलो पाटीसम्म पानी पुगेको थियो । तर, मन्दिरमा पानी पुर्याउने त्यो प्रयास पनि सफल हुन सकेन । 

तीन हजार एक सय मिटर उचाइमा रहेको माथिल्लो फेदीका बासिन्दालाई भने त्यसले फाइदा पुर्यायो । माथिल्लो फेदीका बासिन्दाको पानीको सपनामा त्यस प्रयासले केही राहत भने प्रदान गर्यो । माथि मन्दिरसम्म पानी पुर्याउने प्रयास विफल भए पनि पानी बोकेरै जानुपर्दा पनि यहाँबाट मन्दिर अढाई किलोमिटर मात्रै भएकाले केही सहज भने पक्कै बनाएको हो । यसले तीर्थयात्री लाई नुहाउन, चिसोमा तातोपानी तताएर पिउन अनि हात चोख्याउन भने केही राहत भएको छ । 

पहिलो प्रयास असफल भएपछि अर्को प्रयास स्वरुप मन्दिर परिसर र बाटोमा बनाइएका धर्मशालामा मगरा राख्ने र आकाशे पानी पर्दा त्यसलाई ड्रममा जम्मा गर्न थालियो । पछि खानेपानी कार्यालयसँगको सहकार्यमा सिमेन्टका ट्यांकी बनाएर धारामा पानी झर्ने पनि बनाइयो । तर, सिमेन्टका ट्यांकी पनि उपयोगी हुन नसकेको बताइन्छ । 

छानाबाट सिधै ड्रममा झारिएको पानी भने भरपर्दो रह्यो । अहिले पनि सबैभन्दा भरपर्दो विधि यही भएको बताइन्छ ।  प्लास्टिकका ड्रममा जम्मा गरेको पानी समेत उपयोगमा आएको छ । तर लामो समय पानी नपरेर खडेरी चल्दा भने पानीको हाहाकार हुने गरेको बताइन्छ । 

तेस्रो प्रयास भने प्राविधिक रुपमा केही नौलो र भिन्न रह्यो । जाली राखेर पानी बोकेको कुहिरो ठोकाउने र त्यहाँबाट झर्ने विधि अपनाइयो । यसका लागि मन्दिर नजिकैको डाँडामा चारवटा जाली राखिए । जब कुहिरो जालीमा ठोकिन्थ्यो त्यसको पानी जालीमार्फत ड्रममा जम्मा हुने गर्थ्याे । ड्रममा जम्मा भएको पानी धारामा झर्ने बनाइएको थियो । यस कार्यका लागि दातासँग सहकार्य गरिएको थियो । तर, यो विधि पनि प्रभावकारी हुन सकेन । स्थापनाको केही वर्षमै प्रयोग विहीन बन्यो यो प्रयास पनि । 

चौथो प्रयास अन्तर्गत, हिउँदमा हिउँ पगालेर पानी बनाउने र सञ्चित गर्ने विधि । यो विधिको प्रयोग भने हिउँदमा अहिले पनि हुन्छ । यसले मन्दिरमा आउने तीर्थ यात्रीलाई अक्षता मुछ्न, हात खुट्टा धुन र तातोपानी खान भने सहयोग पुर्याएको छ । हिउँदमा पानी नपर्ने भएकाले मन्दिरमै बस्नेका लागि पानीको एक मात्र स्रोत हिउँ पगाल्नु हो । 

हिउँदमा भने अगेनामा आगो बालेर भाँडामा हिउँ तताएर पानी बनाइन्छ । हिउँदका तीन चार महिना हिउँ जमिरहने भएकाले हिउँ पगालेर पानी बनाउनु भने केही सहज छ । 

पानीका लागि हिउँ पगाल्न समितिले ठूला भाँडाहरूको व्यवस्थापन गरेको छ । हिउँ पगाल्नका लागि दाउरा पहिले नै तयारी अवस्थामा राख्ने र आवश्यकता अनुसार ठूला/साना भाँडामा हिउँ पगाल्ने गरिन्छ । मंसिर अन्तिम देखि चैतसम्म पानी बनाउने विधि भनेको यही मात्रै हो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • ई. कुसुम ज्ञवाली

    Aug. 11, 2021, 10:04 a.m.

    टेक्निकल कुरालाई मिठोसंग समाचार रिपोर्ट बनाउनु भएछ तेशवजीलाई साधुबाद!🌷❤️

  •  1 Reply

तपाईको प्रतिक्रिया