घुस फिर्ता गर्ने ३६ ट्राफिक प्रहरी सम्मानित

 साउन २२, २०७८ शुक्रबार १४:२१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमअनुसार ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरूको प्रलोभनमा नपरि आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रहरी निरीक्षकसहित ३६ जना ट्राफिक प्रहरीलाई आज शुक्रवार पुरस्कृत एवम् सम्मान गरेको छ । 

सम्मानित हुनेहरूमध्ये नाै जना ट्राफिक प्रहरीलाई नगदसहित वृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइयो भने अन्यलाई खादा ओढाएर प्रशंसा पत्रसहित सम्मान गरेको र यस्तो कार्यले अन्य प्रहरी कर्मचारीमा समेत सकारात्मक उत्प्रेरणा जगाउने विश्वास महाशाखाले लिएकाे छ ।

‘प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकको प्रलोभनमा नपर्न हामीले नियमित ब्रिफिङ एवम् निर्देशन दिँदै आएका छौँ, फलस्वरूप घुस दिन खोज्ने ४९ जना चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने ३६ जनालाई आज पुरस्कृत एवम् सम्मान गरेका हाैँ’ , महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बताउनुभयो ।

ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्नेबाट पैसा लिन्छ भन्ने आरोपलाई चिर्दै, आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउँदै आएको एसएसपी भट्टराईले प्रष्ट पार्नुभयो । ‘त्यस्ता खराब प्रवृत्ति बोकेका, घुस दिन खोज्ने चालकलाई दैनिकजसो पक्राउ गर्दै आएका छाैँ । त्यस्ता चालकलाई कुनै पनि बहानामा छुट हुँदैन, बरु यसलाई अझै कडाइका साथ लैजान्छाैँ’, उहाँले भन्नुभयाे । 

सवारी चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न र उल्लङ्घनपछि हुने कारबाहीबाट बच्न ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्ने प्रयास नगर्न महाशाखाले आग्रह गरेको छ । 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया