कोभिसिल्डको दोस्रो मात्राको पर्खाइमा रहेका नागरिकले पर्सिदेखि खोप पाउने

 साउन २३, २०७८ शनिबार ७:१५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोभिसिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका नागरिकका लागि पर्सिदेखि खोप अभियान सुरु हुने भएको छ । हिजो भुटानबाट तीन लाख डोज एस्ट्राजेनेकाको खोप काठमाण्डौ ल्याइएको तथा आज र भोलि जापानबाट ८ लाख डोज एस्ट्राजेनेकाकै खोप आउने भएकाले पर्सिदेखि दोस्रो डोजको खोप अभियान सुरु हुन लागेको हो ।

यसअघि कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका नागरिकलाई यो खोप दिइने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले उज्यालोलाई जानकारी दिनुभयो । उहाँकाअनुसार पर्सि सोमवारदेखि वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई खोप लगाइनेछ ।

प्रदेश-१ र प्रदेश-२ मा केही दिन ढिला हुने भए पनि यो महिनाभित्र सुरु भइसक्ने पनि उहाँले उज्यालोलाई जानकारी दिनुभयो । गएको फागुन तेस्रो हप्ता ६५ वर्षमाथिका झण्डै १४ लाख नागरिकले कोभिसिल्डको पहिलो मात्रा लगाएका थिए ।

पहिलो मात्रा लगाएको १२ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भनिए पनि भारतले सम्झौताअनुसार १० लाख डोज खोप नदिएपछि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका नागरिक दोस्रो मात्रा लगाउनबाट वञ्चित हुँदै आएका छन् । जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने खोपको पहिलो खेप आज काठमाण्डौ ल्याउन लागिएको हो ।

जापानले दिन लागेको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये आज र भोलिमा ८ लाख डोज खोप काठमाण्डौ आइपुग्ने खोप शाखा प्रमुख गौतमले जानकारी दिनुभयो । उहाँकाअनुसार जापानले उपलब्ध गराउने बाँकी ८ लाख खोप पनि यो महिनाभरि ल्याउने तयारी छ ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया