अव्यवस्थित विज्ञापनका बोर्डले लामो पुल कुरुप बन्ने खतरा

 साउन २३, २०७८ शनिबार १४:४१:४८ | रासस
unn.prixa.net

बाग्लुङ – सिङ्गल स्पान प्रविधिमा बनेको संसारकै लामो पुल भनेर प्रचारित बाग्लुङ अदुवाबारी पुलको अवलोकन गर्न आउनेको ठूलो लर्को लाग्ने गरेको छ ।

कोरोना महामारीका कारण भइरहेको निषेधाज्ञा र महामारीको त्रास छल्दै पुल घुम्न आउनेको कमी छैन । कालीगण्डकीमाथि बनेको पुल आफैँमा सुन्दर छ । पुलको पश्चिमतर्फ पर्ने शहीदपार्कले पर्यटकलाई लोभ्याउँछ । त्यही पार्कतर्फको भाग अव्यवस्थितरुपमा विज्ञापनका लागि राखिएका होर्डिङ बोर्डका कारण कुरुप हुन थालेको देखिएको छ ।

पुल घुम्नका लागि आउने पर्यटकलाई भने छेउछाउमा जर्बजस्त राखिएका होर्डिङ बोर्डले गिज्याउने गरेको छ ।

“लामो पुलको राम्रो फोटो खिचौँ भनेको दायाँबायाँ साथी राखेको जस्तै विज्ञापनका बोर्डको फोटो आउँदो रहेछ”, पोखराबाट घुम्नका लागि बाग्लुङ आउनुभएका सुदीप पौडेल भन्नुहुन्छ, “पुल र प्रकृति छेकिने गरेर किन बोर्ड राखेका होलान् ?” 

विभिन्न देशमा अध्ययनका लागि विद्यार्थी पठाउने बाग्लुङका केही कन्सल्टेन्सीले पुलको छेउछाउमा होर्डिङ बोर्ड राखेका छन् । नगरका जुनसुकै सार्वजनिक स्थानमा बोर्ड राख्दा निश्चित राजस्व तिर्नुपर्ने व्यवस्था छ । विज्ञापन गर्ने कम्पनी वा फर्मले तिरेको करबाट नगरपालिकाले बोर्डको व्यवस्थापन गर्नुपर्ने हो तर बागलुङ नगरपालिकाले भने बोर्ड राखेको विषयमा आफूहरुलाई जानकारी नभएको बताएको छ ।

“रामरेखा सामुदायिक वनक्षेत्र पर्छ, वनकै जग्गा हो, वनले दिएको भए थाहा भएन”, बागलुङ नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले भन्नुभयो, “अव्यवस्थित र कानुनविपरित राखेको भए हटाउन लगाइने छ ।’’

रामरेखा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कर्ण बोहराले केही कम्पनीले बोर्ड राख्नका लागि अनुरोध गरेको भए पनि कुनै प्रक्रिया भने पूरा नगरेको बताउनुभयो ।

“राजस्व तिर्नुपर्छ वा सेवा शुल्क लिन पाइन्छ भन्ने विषयमा मलाई थाहा भएन, केही भाइहरुले बोर्ड राख्छौँ भनेका थिए”, बाेहराले बताउनुभयाे ।

व्यवस्थित नगरिएका बोर्डका कारण पुलमा आउने पर्यटक तस्बिर खिचाउन हिचकिचाउने गरेका छन् । पुलमा खिचिएको तस्वीरमा बोर्डको स्पष्ट चित्र आउने र निःशुल्क सामाजिक सञ्जालमार्फत विज्ञापन हुनेगरी बोर्ड राखिएको छ ।

बाग्लुङकै मुख्य प्रवेशद्वार मालढुङ्गा पनि अव्यवस्थित बोर्डका कारण कुरुप देखिने गरेको छ । व्यावसायिक प्रयोजनका लागि राखिएका अव्यवस्थित होर्डिङ बोर्डहरुले बागलुङ प्रवेशद्वारको शोभा नै घटाइदिएको छ । प्रवेशद्वारमै जिल्लाका धार्मिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको चिनारी गराउनुपर्ने ठाउँमा अव्यवस्थित व्यावसायिक होर्डिङ बोर्ड मात्र टाँगिएका छन् ।

मदिराका होडिर्ङ बोर्डले बागलुङमा स्वागत गरिरहेको उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

“हाम्रो चिनारी यही हो ? मदिराको व्यापार ?”, उहाँले भन्नुभयो, “हामीले देखाउने र चिनाउने कुरा धेरै छन्, त्यसतर्फ कसैको ध्यान गएन ।”

सन्देशमूलक बोर्डबाहेकका अन्य बोर्ड तथा ब्यानर हटाउनका लागि प्रक्रिया बढिरहेको बाग्लुङ नगरपालिकाले बताएको छ ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया