काठमाण्डौ महानगरपालिकाका हरेक वडामा पार्क बन्दै, पाँच नं वडामा शिलान्यास

 साउन २५, २०७८ सोमबार १७:२२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले एक वडा, एक पार्कको काम अघि बढाएको छ । महानगरपालिकाले आफ्नो नीतिमै हरेक वडामा हरित पार्क बनाउने उल्लेख गरेअनुसार पार्क निर्माणको काम अघि बढाएको हो । 

वडा नम्बर–५ को हाँडीगाउँमा आज साेमवार नरबुद्धपार्कको शिलान्यास कार्यक्रममा सम्बाेधन गर्दै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरले सबै वडामा पार्क बनाउने र त्यसको सुरुवात आज गरिएको बताउनुभयो । सात रोपनी क्षेत्रफलमा निर्माण हुने पार्कको लागत एक करोड ४८ लाख रुपैयाँ रहेको महानगरपालिकाले जानकारी दिएको छ ।  

पार्कमा कलात्मक डिजाइनका साना–ठूला गरी चार वटा ढोका रहने छन् भने आराम गर्नका लागि चौतारीसहितको छहारी रहने छ । त्यसैगरी विश्रामका लागि झिँगटीका छाना भएका चौताराहरू पनि रहने छन् । व्यायाम र हिँडडुलका लागि बाटो र खुला ठाउँको समेत पार्क डिजाइनमा व्यवस्था गरिएको छ । वृद्धवृद्धा र अपाङ्गमैत्री पार्कमा अभय मुद्राको बुद्धको मूर्तिसमेत राख्ने योजना रहेको छ ।

कार्यक्रममा मेयर शाक्यले काठमाण्डाै महानगरपालिले अहिलेसम्म साना–ठूला गरी ७० वटा पार्क निर्माणको काम अघि बढाएको बताउनुभयो । सार्वजनिक जग्गाको उपलब्धता हेरेर कुनै वडामा १०/१२ वटासम्म पनि पार्क बन्ने र कुनैमा एउटा भए पनि बनाइने उहाँले बताउनुभयो ।

पार्क निर्माणसँगै सम्पदा निर्माण, पुनर्निर्माणको अभियानलाई पनि प्राथमिकतामा राखेको बताउँदै मेयर शाक्यले काठमाण्डाै महानगरलाई सुन्दर बनाउने अभियानमा लागेको बताउनुभयो । 

कार्यक्रमलाई सम्बाेधन गर्दै वाग्मती प्रदेशका सांसद नारायण सिलवालले हाँडीगाउँदेखि कपन निलोपुलसम्मको क्षेत्रलाई पार्क हबको रूपमा विकास गर्ने योजनामा रहेको बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया