खाग काटिएकाे अवस्थामा भेटियो मृत गैँडा

 साउन ३१, २०७८ आइतबार १३:२६:५६ | रासस
unn.prixa.net

चितवन - चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएकाे अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ क्षेत्र अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हिलोमा गडेका मृतावस्थामा गैँडा फेला परेको जानकारी दिनुभयो । दलदलमा फसेका अवस्थामा यही साउन ११ गते मृत गैँडा भेटिएपछि अनुसन्धान अघि बढाएको निकुञ्जले घटनाबारे आज मात्रै जानकारी दिएको हो । कम्तीमा दुई महिनाअघि मरेको हुनसक्ने आशङ्का गरिएको छ । 

खाग काटिएको र टाउकोका हड्डीमा गोली लागेको जस्तो चोट देखिएको बताइएको छ । उहाँले भन्नुभयो,'खाग काटिएका अवस्थामा मृत गैँडा भेटियो ।'

नेपाली सेना र निकुञ्जका कर्मचारीको संयुक्त गस्तीले  मृतावस्थामा फेला पारेको हो । यस लगत्तै निकुञ्जको उच्चस्तरको टोलीले अनुसन्धान अघि बढाएको छ । उहाँले भन्नुभयो,'हामीले अनुसन्धान जारी राखेका छाैँ।'

कुहिएकाले भाले पोथी पहिचान हुनसकेको छैन । घटना लगत्तै कारागारबाट छुटेका र अन्य शङ्कास्पदमाथि अनुसन्धान थालिएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गएकाे  आर्थिक वर्षमा निकुञ्जमा चार गैँडा चोरी सिकारीले मारेका थिए भने प्राकृतिक कारणले २८ मरेका थिए । 

चालु आवका साउनमा मात्रै प्राकृतिक कारणले पाँच गैँडा मरेका छन् । योसहित ६ गैँडा मरेका हुन् । निकुञ्जले गस्ती कार्यलाई तीव्रता दिएको भए पनि चोरी सिकार रोकिन सकेको छैन ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया