काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
उपचारार्थ काठमाण्डाै पुग्नुभएका गोविन्द तिवारी चिकित्सकको ‘काउन्सिलिङ’ (परामर्श) बाट निकै प्रभावित हुनुभयो । सोह्र वर्षअघि नारायणगढका सहिदचोकमा प्रहरीको राइफलको कुन्दाले कुटिएर ढाडमा‘ट्युमर’ पलाएपछि उपचार गर्न उहाँ काठमाण्डाै छिर्नुभएको थियो । यसो त आफ्नै परिवारका सदस्य चिकित्सक भए पनि उहाँले यस किसिमको परामर्श जिल्लामा कहिल्यै पाउनुभएन ।
उहाँ ढाडमा पलाएको ‘ट्युमर’को शल्यक्रिया गर्न वरिष्ठ स्पाइनल सर्जन डा.विनोद बिजुक्छेकामा पुग्नुभयो । उपचारपछि निको भएर चितवन फर्किनुभएका तिवारी डा बिजुक्छेका परामर्शको व्याख्या गरेर नसकिने बताउनुहुन्छ । उहाँले भन्नुभयो 'चितवनमा यस्तो परामर्श कहाँ पाइन्छ र ? काठमाण्डाैमा अरुले के गर्छन थाहा भएन, उहाँको परमर्श सबै चिकित्सकले सिक्नुपर्छ ।'
ग्राण्डी इन्टरनेशनल हस्पिटलका मेडिकल उपनिर्देशकसमेत रहनुभएका डा बिजुक्छे अस्पतालमा वरिपरि चिकित्सकीय समूहसँगै बिरामी र उनका आफन्त राखेर शल्यक्रियापूर्व एक घण्टा हाराहारीमा परामर्श गर्ने गर्नुहुन्छ ।
उहाँले भन्नुभयो, 'हामी साना ठूला जस्तोसुकै शल्यक्रिया पूर्व बिरामीको अवस्थाका बारेमा पूर्णरुपमा परामर्श दिने गर्छौं ।' उपचारमा गएका बिरामीलाई सबै कुरा बुझाउने चिकित्सकको कर्तव्य भएको उहाँको भनाइ छ । स्पाइनलसम्बन्धी ठूला शल्यक्रियाका लागि उहाँकहाँ बिरामी पुग्ने गर्दछन् । चिकित्सकका परामर्शमा कमजोर हुँदा अस्पतालमा धेरै समस्या आउने गरेको बताइएको छ ।
सामान्यत : उठी उठी बिरामी र उनका आफन्तलाई दुई चार शब्द भनेर औषधि लेखेर पठाउँदा बिरामी अन्याेलमा पर्ने गर्दछन् । शल्यक्रियापूर्व राम्रो परामर्श नदिँदा शल्यक्रियाका क्रममा दुर्घटना भएमा अस्पताल तोडफोडका घटनासमेत बढ्दो छ । राम्रोसँग परामर्श नपाउँदा औषधि लिएर घर जाने पूर्ण विश्वस्त भएर जान सकिरहेका हुँदैनन् । एउटै चिकित्सकले एकै दिन १०० भन्दा बढी बिरामी परीक्षण गर्दा कस्तो परामर्श हुन्छ? भन्ने प्रश्न पनि उठ्ने गरेको छ ।
सरकारी अस्पतालमा थोरै चिकित्सकले धेरै बिरामी परीक्षण गर्नुपर्दा राम्रो परामर्श दिनै भ्याउँदैनन् । यसो त तिनै चिकित्सकले निजीमा पनि यस्तै व्यवहार गरेको गुनासो आउने गर्दछ । कतिपय चिकित्सक भने परामर्शलाई प्रमुख रुपमा लिने गर्दछन् ।
वरिष्ठ मनोरोग विशेषज्ञ प्रा डा. सिपी सेढाईं बिरामी र उनका आफन्तलाई राम्रोसँग परामर्श गर्न नसक्दा अस्पतालमा दुर्घटना हुने गरेको बताउनुहुन्छ । धेरै चिकित्सकले बिरामी र आफन्तलाई रोगका बारेमा राम्रोसँग नबुझाउने गरेको स्वीकार्दै उहाँले भन्नुभयो, 'जस्तोसुकै रोगका बिरामी भए पनि हामीले राम्रोसँग बिरामी र आफन्तलाई बुझाउनै पर्छ ।'
बिरामीको अवस्था यो छ, उपचार पछि यो हुन्छ भनेर प्रष्ट पार्न नसक्दा बिरामी र आफन्त असन्तुष्ट हुने गरेको उहाँको बुझाइ छ । उहाँंले भन्नुभयो, 'बिरामीले बुझ्ने भाषामा चिकित्सकले परामर्श गर्नुपर्छ । जति गर्नुपर्ने हो हामीले गर्न सकेका छैनौँ ।' उपचारका लागि लाग्ने खर्चदेखि हुनसक्ने जटिलताका बारेमा समेत बुझाउनुपर्ने उहाँको भनाइ छ । चितवन मेडिकल कलेजमा कार्यरत डा सेढाईं सबै रोगमा परमर्शको जरुरी रहेकामा जोड दिनुहुन्छ ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. कालीदास अधिकारी चिकित्सकले भ्याएर पुगेसम्म परामर्श दिने गरेको दाबी गर्नुहुन्छ । सरकारी अस्पतालमा धेरै बिरामी हेर्नुपर्दा पर्याप्त परामर्श दिन नसकिएको भने उहाँको स्वीकारोक्ति छ । परामर्श मात्रै होइन, धेरै कुराको अभाव सरकारी अस्पतालमा हुने गरेको अधिकारी बताउनुहुन्छ ।
बुद्धिजीवी प्रेम रिमाल उपचार जीवन र मरणसँग सवाल भएकाले परामर्श राम्रो दिनुपर्ने बताउनुहुन्छ । युरोप, अमेरिकालगायतका देशले परामर्शलाई बढी जोड दिने गरेको भन्दै उहाँले भन्नुभयो, 'यहाँको परामर्श कमजोर छ, चिकित्सकले मैले भनेपछि के भन्नुपर्यो भनेर बिरामीसँग भन्ने गर्दछन् ।'
पुराना र गनिएका चिकित्सकको परामर्श कमजोर भएको भन्दै उहाँले नयाँ पुस्तामा परामर्शको विकास हुँदै गएको पनि बताउनुभयो । परामर्शलाई चिकित्सकले दायित्वका रुपमा लिनुपर्ने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।