फराकिलो बन्दै ओली र नेपालको फरक–फरक बाटो

 भदौ ९, २०७८ बुधबार ११:९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

तेस्रो धारमा रहेका नेताहरुलाई आफ्नो पक्षमा ल्याउने केपी शर्मा ओलीको योजना पूरा भएसँगै नेकपा एमालेले आफ्नो बाटो तय गरेको छ । सँगै नेकपा एकीकृत समाजवादी गठन गरेर गठबन्धन सरकारमा सहभागी हुने माधवकुमार नेपालको लक्ष्य पनि पूरा हुँदैछ । निर्वाचन आयोगले प्रक्रिया पुर्याएर आज बुधबार नै नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने तयारी गरेको छ ।

नयाँ दल दर्ता भएपछि नेपाल नेतृत्वको पार्टीले आफ्नो लय समात्नेछ । अनि माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता भएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने बाटो पर्खेर बसेका प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि सहज हुनेछ । अर्थात बुधबार निर्वाचन आयोगले दल दर्ताको प्रक्रिया सकेपछि प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र प्रस्तावित नेकपा एकीकृत समाजवादीलाई आ–आफ्नो बाटोमा हिँड्न थप सहज हुनेछ ।

नेपालको राजनीतिक लक्ष्य वैज्ञानिक समाजवाद

निर्वाचन आयोगले आज बुधबार महन्थ ठाकुरसँगै माधव नेपालको नयाँ दल दर्ता गर्ने तयारी गरेको छ । नेपालले कम्तीमा ४१ केन्द्रीय सदस्य अथवा ३१ सांसद आयोगमा उभ्याउन सकेमा उहाँको प्रस्तावित नेकपा एकीकृत समाजवादीले मान्यता पाउनेछ । तोकिएको निर्धारित समय बिहान साढे ११ बजेदेखि २ बजेसम्मको समयभित्र प्रमाण पुगेको खण्डमा दल दर्ताको प्रमाणपत्र दिने आयोगको तयारी छ । 

प्रस्तावित नेकपा एकीकृत समाजवादीमा १७ पदाधिकारीसहितको एकसय ५१ जना केन्द्रीय कमिटी रहनेछन् । विधानअनुसार अध्यक्ष, वरिष्ठ नेता, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, सात सचिवसहित एक सय ५१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । प्रदेशमा अध्यक्ष, दुई उपाध्यक्ष, सचिव, दुई उपसचिवसहितको ६ सदस्यीय पदाधिकारीको प्रस्ताव गरिएको छ । 

पार्टीले रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद भनेको छ । राष्ट्रिय पुँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य–मान्यतासहितको समाजवादका आधार निर्माण गर्नु पार्टीको तत्कालीन लक्ष्य रहेको विधानमा उल्लेख छ । 

एमालेमा १० बुँदे कार्यान्वयन गर्दै मंसिरमा महाधिवेशन

माधव नेपालको नयाँ पार्टी दर्ता हुने निश्चित भएसँगै नेकपा एमालेले पनि आफ्नो लय समातेको छ । यसअघि माधवकुमार नेपाल समूहमा रहेका असन्तुष्ट १० नेतासहितको उपस्थितिमा मंगलबार बसेको स्थायी कमिटी बैठकले एकताको नयाँ सन्देश दिएको छ । बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गर्दै पार्टीलाई नेकपा माओवादी केन्द्रसँगको एकतापूर्वको साङ्गठनिक संरचनाका आधारमा सञ्चालन गर्न बैठकले निर्देशित गरेको छ । 

बैठकले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको मङ्सिर १० देखि १२ गतेसम्म तथा विधान महाधिवेशन असोज ४ देखि ६ गते काठमाण्डौमा गर्ने निर्णय गरेको छ । त्यसपूर्व सदस्यता नवीकरण, वडा र पालिकास्तरका अधिवेशन, विधान महाधिवेशनलगायतका कार्यतालिकालाई संशोधन गरेको छ । बैठकले पार्टीका केन्द्रीय कमिटी, निकाय, प्रदेश समन्वय कमिटी, जिल्ला कमिटी, स्थानीय तह कमिटी जनसङ्गठनलगायत सबै कमिटीमा रहेका पदाधिकारीलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको छ ।

दस बुँदे प्रस्तावमा आधारित निर्णय कार्यान्वयन गर्ने क्रममा उत्पन्न हुनसक्ने समस्या समाधान तथा केन्द्रीय कमिटीका मनोनयन गरिने १० प्रतिशत सदस्यको सिफारिस गर्न एक कार्यदल गठन गरिएको छ । १० बुँदे सहमति कार्यान्वयनका लागि महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष डा भीम रावल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेको कार्यदल गठन गरिएको हो ।

बैठकले २०७५ साल जेठ २ गते सदस्यतालाई आधार मानेर एकीकरणका क्रममा आबद्ध भएका सदस्यसमेतको पार्टी सदस्यता नवीकरण अगाडि बढाइने र २०७५ साल जेठ ३ पछि दिइएका नयाँ सदस्यको पनि नवीकरण असोज मसान्तसम्म गर्ने निर्णय पनि गरेको छ ।

यस्तै पार्टीका स्थानीय कमिटीलाई व्यवस्थित गर्न देशैभर २०७८ साल कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका वा त्यो सरहका कमिटीको अधिवेशन गर्ने तथा पार्टीकोे पछिल्लो निर्णय सम्प्रेषण गर्न भदौ १६ देखि २० सम्म केन्द्रीय प्रशिक्षकको उपस्थितिमा सबै जिल्लामा कार्यकर्ता भेला र जनसङ्गठनको केन्द्रीय कार्यकर्ताको भेला आयोजना गरिने पनि निर्णय भएको छ । महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजबारे छलफल गर्न भदौ २५ र २६ स्थायी कमिटी र २७ गते केन्द्रीय कमिटीको बैठक  आयोजना हुनेछ । त्यसअघि यही भदौ १० गते केन्द्रीय कमिटीको बैठक हुनेछ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया