विकासका लागि वृहत् योजना बनाउनुपर्छ : प्रचण्ड

 भदौ ९, २०७८ बुधबार १७:१८:६ | रासस
unn.prixa.net

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनसहितका तीन जिल्लाको विकासका लागि वृहत् योजनाअन्तर्गत काम गर्नुपर्ने बताउनुभएको छ ।

भरतपुर मेट्रो प्लाजा (बहुउद्देश्यीय भवन) को आज बुधवार शिलान्यास गर्दै उहाँले चितवनको नवलपुरको दाउन्नेसम्म र मकवानपुरको हेटाैँडालाई जोडेर एउटै विकास प्राधिकरणको अवधारणाअन्तर्गत काम गर्नुपर्ने बताउनुभएको हो ।

अध्यक्ष दाहालले यी जिल्ला मिलाएर विकासको मोडालिटीमा जाँदा यहाँको शिक्षा, पर्यटन, कृषि, धार्मिक पर्यटनका हिसाबले प्रचुर सम्भावना बोकेको क्षेत्र बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘चितवनका लागि मात्रै नभएर मकवानपुरको हेटाैँडासम्म र नवलपुरको दाउन्नेसम्म एउटै विकास प्राधिकरणको अवधारणाअन्तर्गत विस्तारपूर्वक वृहत् योजनामा जानुपर्छ ।’ आफूले यो सपना देखेको भए पनि यसअघिको सरकारले चितवन र मप्रतिको हेर्ने दृष्टिकोण फरक राखेका कारण काम हुन नसकेको उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘अब विकासका कामलाई गति दिने कोसिस हुने छ ।’ उहाँले आफैँले बनाएको प्रधानमन्त्री मप्रति नै सकारात्मक नहुँदा यहाँको विकासमा समस्या आएको उल्लेख गर्दै जसले गठबन्धनबाट देशमा राजनीतिक स्थायित्व र विकास हुन्छ भनेर लाग्यो त्यहीमाथि प्रहार र निषेधको खेल भएको बताउनुभयो । नेपालको परम्परागत राज्य व्यवस्था र संरचनाका कारण निजी क्षेत्रलाई सकारात्मक ढङ्गले हेर्ने काम नभएकाले यहाँको विकास निर्माण पछि परेको अध्यक्ष दाहालले बताउनुभयो ।

संविधानमा नै सार्वजनिक, निजी र सहकारीको संयोजनमा नेपालको विकासको मोडेल समाजवाद उन्मुख हुने छ भनेर लेखे पनि व्यावहारिक रूपमा त्यस्ता आयोजना अघि बढ्न र निजी क्षेत्रसँग भएको साधन–स्रोत परिचालन गर्नमा राज्य राम्रोसँग अघि आउन नसकेको उहाँले बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, ‘अबको समय सामाजिक न्यायसहितको विकासमा लाग्नुपर्छ ।’

सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजा आर्या बिल्डर्स एन्ड इन्जिनियरिङ प्रालीले भरतपुर महानगरपालिका ३ लायन्स चोकमा निर्माण र सञ्चालन हुने गरी सम्झौता भएको छ । सम्झौताको मितिले निर्माणका लागि तीन वर्षसहित ३० वर्षपछि भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने छ ।

मेट्रो प्लाजामा दुई तला अन्डर ग्राउन्ड पार्किङसहित १४ तलाको हुने छ । तीन लाख २५ हजार वर्ग फिट र ५१ मिटर उचाइ रहने यस प्लाजामा पाँच तारे होटलदेखि सिनेमा हल, फुट कोर्टका साथै व्यावसायिक स्थल हुनेछन् । 

आयोजनाको निर्माण आर्या बिल्डर्सले गर्नेछ भने यसको अनुगमन र नियमन भरतपुर महानगरपालिकाले गर्ने छ । भरतपुर मेट्रो प्लाजा ११ कठ्ठा सात धुर क्षेत्रफलमा निर्माण हुने बताइएको छ ।

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया