दाङ : पहिरोले पाँच घरपरिवार विस्थापित, राप्ती नदीमा बगेर एक जना बेपत्ता

 भदौ ११, २०७८ शुक्रबार १२:१६:४२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – अविरल वर्षापछि खसेको पहिरोले दाङको बङ्गलाचुली टाकुराका पाँच घर परिवार विस्थापित भएका छन । गएराति खसेको पहिरोका कारण बङ्गलाचुली गाउँपालिका–२ टाकुराको धरमपानी टोलका पाँच घर परिवार विस्थापित भएका हुन् ।

विस्थापित हुनेमा दिलबहादुर घर्ती, भीमबहादुर घर्ती, पाराश्वर पुन, तेजबहादुर सार्की, होमबहादुर घर्तीसहित पाँच परिवारका २२ जना रहेको वडा सदस्य भीमकुमार बुढाले जानकारी दिनुभएको छ । दिलबहादुर घर्तीको परिवारलाई जनता आवास घर बेडिपोखरामा सारिएको छ । अन्य चार परिवारलाई पनि अन्यत्र सार्ने तयारी भएको उहाँको भनाइ छ ।

पहिरोका कारण दिलबहादुरको घर भासिएको छ । अन्य चार घर बस्न नमिल्ने गरि चिराचिरा परेको वडा सदस्य बुढाले जानकारी दिनुभयो । क्षतिको विवरण भने प्रहरीद्वारा मुचुल्का उठाएपछि आउने वडा सदस्य बुढाले बताउनुभयो । अहिले पनि निरन्तर बस्ती माथिबाट ढुङ्गा र बस्ती तलबाट पहिरो खसिरहेको उहाँले जानकारी दिनुभएको छ ।

राप्ती नदीमा बगेर एक जना बेपत्ता

राप्ती नदीमा बगेर एक जना बेपत्ता भएका छन । भैंसी चराउन राप्ती नदी किनारमा गएका लमही नगरपालिका–७ का ४५ वर्षीय सुन्दरराम चौधरी घर नफर्किए पछि नदीमा बगेको आशङ्कामा खोजी भइरहेकाे प्रहरीले जनाएकाे छ । 

भैंसी घर फर्किए पनि मान्छे नफर्किए पछि परिवारले खोजी गरिदिन प्रहरी कार्यालयमा निवेदन दिएका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय अमिलियाको टोली र स्थानीय बासिन्दा ती व्यक्तिको खोजीमा जुटेका छन् ।

बिहीवारदेखि चौधरीको खोजी जारी राखिएको र अहिलेसम्म फेला नपरेको जनाइएको छ । बुधवार दिउँसो भैँसी चराउन गएका चौधरी घर नफर्किए पछि हिजो बिहीवार प्रहरी कार्यालयमा निवेदन दिइएको थियो । भैँसी घर फर्किए पनि सुन्दरराम नफर्किए पछि नदीमा बगेको हुन सक्ने अनुमान गरिएको छ ।

घोराही–होलेरी सडक खण्ड बन्द

अविरल वर्षाका कारण गएको पहिरोले दाङको घोराही हुँदै रोल्पाको होलेर जाने घोराही–होलेरी सडक खण्ड बन्द भएको छ ।

शुक्रवार बिहान घोराही–होलेरी सडक खण्ड अन्तर्गत दाङको घोराही उपमहानगरपालिका वडा–१३ काभ्रेमा पहिरो गएपछि सडक पूर्ण रुपमा बन्द भएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । सडक बन्द भएपछि दाङको घोराहीबाट रोल्पाको होलेर र प्युठान जाने आउने गाडी बन्द भएकाे छ । बन्द भएको सडक खुलाउने कार्य भइ रहेको प्रहरीले बताएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय दाङले तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । प्रशासनले आज शुक्रवार एक विज्ञप्ति जारी गर्दै जल तथा मौसम विज्ञान विभागले आजदेखि ३ दिनसम्म दाङलगायत आसपासका क्षेत्रहरुमा  भारी वर्षा र अविरल पानी पर्ने सम्भावना भएकाले सचेत रहन आग्रह गरेको हो ।

साथै प्रशासनले काठ, दाउरा लगायत अन्य कामका लागि नदी क्षेत्रमा नजान अनुरोध गरेको हो । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जारी गर्नु भएको विज्ञप्तिमा तटीय क्षेत्र लगायत अन्य क्षेत्रका बासिन्दालाई पनि उच्च सर्तकता अपनाउन अनुरोध गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया