‘१०–१२ कक्षा पढेको छ तर तरकारीमा नुन कति राख्नुपर्छ भन्ने अड्कल गर्न सक्दैन !’

 भदौ १२, २०७८ शनिबार १८:२१:३९ | तीर्थराज पाेखरेल
unn.prixa.net

मानिसले शिक्षा प्राप्त गर्नु सँगसँगै राम्रो संस्कार पनि सिक्नु आवश्यक छ । हाम्रो घर, परिवार र समाजमा जस्तो प्रकारको संस्कार छ हाम्रा बालबच्चा पनि त्यस्तै बन्दछन् । भन्ने गरिन्छ परिवार नै बाल बालिकाको पहिलो पाठशाला हो । त्यसैले बालबच्चाको अगाडि कहिल्यै पनि नकारात्मक सन्देश दिने कुनै पनि कुरा गर्नु हुँदैन । पढेर राम्रो जीपीए ल्याएर सफल भयो भनेर गर्व गर्नुभन्दा असल बन्नुमा गर्व गर्नुपर्छ । आजकालका धेरैजसाे बालबच्चाहरू आवश्यकभन्दा अनावश्यक कुराहरू (फ्री–फायर, पबजी, टिकटक आदि) मा व्यस्त भइ आफ्नो अध्ययन कार्यप्रति बेवास्ता गरेको देखिन्छ ।

धेरैजसो समय माेबाइलमै व्यस्त भइ रहने हुनाले पारिवारिक सम्बन्ध, आफ्नो जिम्मेवारीपनको अभाव, सामाजिक भावनाको कमी, बोलीमा मिठासपनकाे अभाव, झर्कने स्वभाव, आफ्नो भविष्यको योजना तयारीको कमी आदि कुरामा एकदमै अस्तव्यस्त देखिन्छ । असल संस्कार र व्यावहारिक ज्ञानबिनाकाे मानिस गन्धविनाकाे फूल, तृप्तिबिनाको प्राप्ति, उद्देश्यबिनाको कार्य र प्रसन्नताबिनाको जीवन जस्तै व्यर्थ हुन जान्छ । सुख र सन्तुष्टि भन्ने कुरा सम्पत्ति, पद र प्रतिष्ठाबाट होइन असल काम र व्यवहारबाट हुन्छ । हरेक अभिभावकले आफ्नो सन्तानबाट यस्तो कुरा सिकोस् भन्ने अपेक्षा राख्नु उपयुक्त हुन्छ ।

परिश्रम गरी कमाएको सय रुपैयाँ सित्तैमा कमाएको हजारौँ रुपैयाँभन्दा बढी मूल्यवान् हुन्छ । अब्राहम लिंकनले भने झैँ आकाशमा उडिरहेका चराहरू घमाइलो दिनमा भुनभुनाइ रहेका माहुरीहरू र पहाडी काखमा फुलेका फूलहरूको शाश्वत रहस्य बुझ्न सक्ने होस् । सुनेको कुरालाई राम्ररी छुट्ट्याउन सक्ने होस्, दुःख र कष्टमय अवस्थामा पनि प्रफुल्ल रहन सकोस् , ऊ आफ्नो बाहुबल बुद्धि र सामर्थ्यमा विश्वास गरोस्, यदि उद्देश्य उपयुक्त र सही छ भने जस्तोसुकै विरोध भए पनि जिउ ज्यानले लागि परोस्, उभित्र सत्य र न्याय प्राप्तिका लागि सङ्घर्ष गर्न सक्ने साहस र दृढ शक्तिको विकास गर्न सकोस्, उभित्र साहस र सधैँ केही गरौँ भन्ने भावना आइरहोस् । आफ्नो सन्तान निर्भिक, साहसी र उत्साहित बन्न प्रेरित भइरहोस् । ऊ मानवताप्रति परम आस्थावान् हुन सकोस् । हरेक व्यक्तिसँग बोल्दा प्रेरणादायी तरिकाले बोलोस् ।

एक महिलाले पँधेरामा पानी भर्दै थिइन्, त्यसै समयमा एक खाइलाग्दो पुरुष आउँछ र पानी माग्दै भन्न थाल्छ । ओहो ! तपाईँ त ठ्याक्कै मेरा बाकी स्वास्नी जस्तै हुनुहुँदो रहेछ । तपाईँलाई देख्दा त मेरा बाकी स्वास्नीको धेरै याद आयो भन्छ र ती महिला रिसाउँदै तैँले मलाई तेरा बाकी स्वास्नी बनाइस्, म तलाईँ जानेकी छु भन्दै चप्पलै चप्पलले हिर्काउँदै त्यहाँबाट धपाउँछिन् ।

केही समयको अन्तरालपछि अर्को पुरुष त्यहीँनेर आइपुग्छ र उसले पनि पानी माग्दै भन्छ– ओहो ! तपाईँ त ठ्याक्कै मरी आमाजस्तै हुनुहुँदो रहेछ, तपाईँलाई देख्दा त मेरी आमाको धेरै याद आयो भन्छ र ती महिला पनि भन्छिन्– मलाई तपाईँलाई देख्दा मेरै छोराको याद आयो, तपाईँ पनि मेरै छोराजस्तै हुनुहुँदो रहेछ । एक–अर्कामा आमा–छोराको नाता जोडिन्छ । यी दुवै पुरुषले व्यक्त गरेको आशय एउटै हो तर प्रस्तुतीकरण शब्द चयनमात्र फरक हो । पहिलो पुरुषले बाकी स्वास्नी भनेको पनि आमा नै हो दाेस्राे पुरुषले आमाजस्तै लाग्यो भन्नु पनि बाकी स्वास्नी नै हो ।

त्यसैले भाषा र शब्द प्रयोग गर्दा भाषिक सीपको शब्द चयनमा ध्यान पुर्‍याउनुपर्ने देखिन्छ । यो पनि भाषिक संस्कार नै हो । हामीले जहिले जुनसुकै समयमा पनि सही तरिकाले फरक अर्थ नलाग्ने गरी कुरा गर्ने बानीको विकास गर्नुपर्छ । हामी राम्रो बोल्यौँ भने परिवार राम्रो बोल्छ । परिवार राम्रो बोल्यो भने छिमेक राम्रो बोल्छ र छिमेक राम्रो बोल्यो भने समाज राम्रो बोल्छ अनि सभ्य समाजको निर्माण हुन्छ ।

त्यसैले त भन्ने गरिन्छ– मिठो वचन बोल्न सके शत्रु पनि मित बन्छ, आफ्नो मनलाई बुझ्न सके घृणा पनि प्रित बन्छ, जिन्दगीलाई बुझ्न सके हार पनि जित बन्छ । यसरी नै सिकाउन सक्यौँ भने असल संस्कारको बिजारोपण हुन सक्छ । त्यसैले भनिन्छ– बोलीले बताउँछ संस्कार कस्तो छ, हेराइले बताउँछ नियत कस्तो छ, बसाइले बताउँछ धैर्यता कस्तो छ, सङ्गतले बताउँछ स्वभाव कस्तो छ, लेनदेनले बताउँछ व्यवहार कस्तो छ र कर्मले बताउँछ भाग्य कस्तो छ । हामीलाई थाहा छ जहाँ ज्ञान हुन्छ, त्यहाँ नियम हुन्छ । जहाँ नियम हुन्छ, त्यहाँ अनुशासन हुन्छ । जहाँ अनुशासन हुन्छ, त्यहाँ अनुशरण हुन्छ । जहाँ अनुशरण हुन्छ, त्यहाँ शान्ति हुन्छ । जहाँ शान्ति हुन्छ, त्यहाँ प्रेम हुन्छ । जहाँ प्रेम हुन्छ, त्यहाँ स्वर्ग हुन्छ ।

यहाँ १०–१२ कक्षा पढेको छ, तरकारीमा नुन कति राख्नुपर्छ अड्कल गर्न सक्दैन । घरमा आएको अतिथिलाई सत्कार गर्न जान्दैन । घरमा को आयो को गयो, कुनै नाता सम्बन्ध छुट्याउँदैन । आफ्ना घरमा भएका सरसामानलाई व्यवस्थापन गर्न जान्दैन । आफ्ना बुबाआमाले आफ्ना सन्तानप्रति गरेको कर्तव्य र दायित्वलाई बिर्सेर आफूले उहाँहरूप्रति गर्ने कर्तव्य र दायित्वलाई कुल्चेर अगाडि बढेको देखिन्छ । हरेक अभिभावकले छोराछोरीलाई परिवारप्रतिको जिम्मेवारी, सामाजिक दायित्व, राष्ट्रप्रतिको प्रेम, सद्भाव, समर्पित भावना र सकारात्मक सोचको विकास गराउन सक्नुपर्छ ।

शिक्षा प्राप्त गरेर मात्र पनि हुँदैन, त्यसका लागि असल संस्कारको आवश्यकता पर्दछ र संस्कार मात्र भएर पनि हुदैन, संस्कारलाई अगाडि बढाउन व्यावहारिक ज्ञानको पनि आवश्यक पर्दछ । हामीले हाम्रा सन्तान कस्तो बनाउने भन्ने कुरा हाम्रो संस्कारमा भर पर्दछ । हामीले हाम्रा सन्तानलाई शारीरिक तन्दुरुस्ती, स्वस्थ्यकर बानी एवम् सिर्जनात्मकताको विकास तथा जातजाति, धर्म, भाषा, संस्कृति क्षेत्रप्रति सम्मान र सद्भावको विकास गर्न सिकाउनुका साथै दैनिक जीवनमा आइपर्ने व्यावहारिक समस्याको पहिचान गरी समाधानका उपायहरुको खोजी गर्न पनि सिकाउनु जरुरी हुन्छ ।

अर्जुनजस्तो लक्ष्य लिइ सत् मार्गमा अगाडि बढ्न सकेमा मात्र गन्तव्यमा पुग्न सकिन्छ भन्ने कुराको आभास आफ्ना सन्तानलाई दिन सक्नुपर्छ ।  

असल संस्कार र व्यावहारिक ज्ञान पाएमा हाम्रा सन्तानहरू एक भएर होस्टेमा हैँसे गर्दै राष्ट्र निर्माणको पुनीत कार्यमा लागिपर्ने हो भने कुनै पनि देशले अभावमा सिँगाैरी खेल्नुपर्दैन । विकसित देशका अगाडि हात फैलाउनुपर्दैन । त्यो देशले चाँडै नै काँचुली फेर्न सक्छ । त्यहाँ उन्नति र प्रगतिका ढकमक्क फूलहरू फुल्न सक्छन् ।  

प्रत्येक सन्तान एक भएर राष्ट्र निर्माणको महायज्ञमा जुट्ने हो भने कुनै पनि देशले गरिबीसँग सङ्घर्ष गर्नुपर्दैन । हामीले हाम्रा सन्तानहरूलाई पद, पैसा, प्रशंसा, प्रेमी, प्रेमिका, पुत्र, पुत्री, पति, पत्नी भन्दै 'प' को पछि लाग्न सिकायौँ भने पाप गर्छौँ, पछुताउँछौँ, पश्चाताप गर्छौँ र पतन हुन्छौँ । बुद्धिमान मानिसहरू भूतबाट शिक्षा लिइ भविष्यको सुन्दर कल्पना बोकेर वर्तमानको यथार्थमा उभिरहेका हुन्छन् । त्यसैले हामीले हाम्रा सन्तानहरूलाई असल संस्कार र व्यावहारिक ज्ञान दिनु अत्यन्तै आवश्यक हुन्छ ।  

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तीर्थराज पाेखरेल

पाेखरेल श्री प्रभात मावि प्युठानका शिक्षक हुनुहुन्छ ।

2 Comments

  • बालकृष्ण

    Aug. 29, 2021, 2 p.m.

    एकदम सहि लागो

  •  0 Reply
  • तारा पन्थी ढकाल

    Aug. 28, 2021, 9:07 p.m.

    अत्यन्तै उत्कृष्ट लेख छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया