दाङ : बगासोतीखर्कका १३ घरमा सोलार बत्ती जडान

 भदौ १३, २०७८ आइतबार ९:३४:१२ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको देउखुरी राप्ती गाउँपालिका–१ बगासोतीखर्कका १३ घरमा सोलार बत्ती जडान गरिएको छ ।

वर्षाैँदेखि सल्लाको दियालो, टुकी र लालटिनको उज्यालोमा बसेका स्थानीयवासी घरमा सोलार जडान भएपछि खुशी भएका छन । 

स्थानीय चेतमान बुढाले गाउँमा वडाले सोलारको व्यवस्था गरेपछि पहिलेजस्तो अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको बताउनुभयो । स्थानीय सुशीला बुढाले पनि वर्षाैँवर्ष अन्धकारमा जीवन बिताएकाे र अहिले गाउँमा सोलार जडान भएपछि निकै खुसी लागेको बताउनुभयो ।

‘घरको काम रातिसम्म गर्नुपर्छ, जसले गर्दा महिलाहरुलाई धेरै अप्ठ्याराे हुने गरेको थियो’, उहाँले भन्नुभयो– ‘तर अहिले सोलारबाट रातमा काम गर्दा बत्ती बाल्न पाइन्छ । जसले गर्दा आफूहरुजस्ता महिलाहरुलाई काम गर्न सहज भएको छ।’

घरमा बत्ती भएपछि रातमा सर्प तथा अन्य किराकाँटीहरुकाे डर कम भएकाे उहाँले बताउनु भयाे । अहिले बालबालिकालाई रातको समयमा पढ्न समेत सजिलो भएको छ । त्यस्तै उहाँले टुकी तथा लालटिन हुँदा बालबालिकाकाे लापरबाहीले गर्दा आगलागीको समेत जोखिम हुने गरेको थियो। अहिले, बत्तीको व्यवस्था भएपछि त्यो जोखिमसमेत हटेको उहाँले बताउनुभयो । 

वडाको विकट बस्तीका रुपमा रहेको बगासोतीखर्कमा २ लाख रुपैयाँ बजेटबाट १३ घरमा बत्तीको व्यवस्था गरिएको राप्ती गाउँपालिका-१ का अध्यक्ष तारा डीसीले जानकारी दिनुभयो । बागासोतीखर्कमा अति विपन्न परिवारहरु बसोबास गर्ने र त्यस गाउँमा घरहरु पनि टाढा–टाढा भएकाले विद्युत पुर्याउन समस्या भइरहेको अध्यक्ष डीसीले बताउनुभयो ।

अब विद्युत सेवा विस्तार गर्ने काम सुरु गरिने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया