पाँच दिनदेखिको वर्षाका कारण देशका विभिन्न सडक बन्द, पहाडका ग्रामीण सडक अस्तव्यस्त

 भदौ १४, २०७८ सोमबार १९:२३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – गएकाे पाँच दिनदेखि भएको निरन्तर वर्षाले देशका डेढ दर्जन बढी सडक बन्द भएका छन् । काठमाण्डौ उपत्यकाबाट हेटौँडा जाने कान्ति लोकपथ सडकअन्तर्गत भट्टेडाँडामा सडक बन्द छ । चन्द्रागिरि नगरपालिकाको चिसापानीमा बन्द भएको पृथ्वी राजमार्ग अहिले खुलेको प्रहरीले जनाएको छ ।

यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ थिङडाँडामा पहिरो जाँदा कुलेखानी–सिस्नेरी–काठमाण्डौ सडक बन्द छ । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको हसेली तुवाचुङमा पहिरोले सडक बन्द छ ।

यता सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका लिपिङमा अरनीको राजमार्गको अवरोध अझै हटेको छैन । सिन्धुपाल्चोककै मेलम्ची–जिरोकिलो सडक पनि बन्द छ ।

साथै बेसीसहर–चामे सडक खण्डअन्तर्गत मनाङ सडक खण्ड र स्याङ्जाको गल्याङमा सिद्धार्थ राजमार्ग बन्द छन् । बेनी–जोमसोम सडक खण्डको म्याग्दी र मुस्ताङका तीन ठाउँमा सडक बन्द छ ।

यता पाल्पाको तानसेनमा रहेको डुम्रे र गौडेपुलमा सिद्धार्थ राजमार्ग बन्द रहेको छ । प्युठानको चोरनेटामा पहिरो जाँदा भालुवाङ–प्युठान सडक खण्ड बन्द छ ।

यस्तै कर्णाली राजमार्ग अन्तर्गत कालीकोट र दैलेख जिल्लामा सडक बन्द छ । बाजुराको साँफे–मार्तडी सडक पनि बन्द रहेको सडक विभागले जनाएको छ ।

गएको जेठ ३० गतेपछि देशका विभिन्न सडकको दुई सय चार वटा ठाउँमा बन्द भएकोमा १६ ठाउँमा अझै अवरोध रहेको सडक विभागले जनाएको छ । एक सय १७ ठाउँको सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ भने ६८ ठाउँको सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

अन्तरजिल्ला जोडिएका मुख्य सडकहरूसँगै धेरैजसो जिल्लाभित्रका सडकहरू पनि बाढी र पहिरोका कारण बन्द छन् । ग्रामीण भेगका कच्ची सडकहरूमा अवरोध हुँदा जिल्लाभित्रको आवतजावत प्रभावित हुने गरेको छ ।  

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया