सरकार र निजी क्षेत्रको सहकार्यमा अर्थतन्त्र चलायमान बनाउनुपर्छ : प्रधानमन्त्री देउवा

 भदौ १६, २०७८ बुधबार १७:३५:४६ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रको सहकार्यबाट देशको अर्थतन्त्रलाई फेरि चलायमान बनाउनुपर्ने बताउनुभएको छ । 

महिला उद्यमी महासङ्घको पाँचाैँ अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेलाको आज बुधवार भर्चुअल सम्बोधन गर्दै उहाँले कोरोनाका कारण थला परेको अर्थतन्त्रलाई फेरि चलायमान बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो । 

‘सबै नागरिकलाई चाँडै कोरोना खोप उपलब्ध गराएर देशकाे अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रयत्नशील रहेको छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो । उहाँले नेपाली उत्पादनलाई प्रोत्साहन र बजारीकरण गर्न महिला उद्यमी महासङ्घले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । यस्ता मेलाले देशकाे अर्थतन्त्रलाई थप सबल बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो । 

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका उहाँले कोरोनाका कारण नेपालमा उत्पादन भएका सामान बजारसम्म पुग्न नसकेको वर्तमान परिवेशमा सरकारले बजारीकरणलाई विशेष प्राथमिकता दिने उल्लेख गर्नुभयो । उहाँले भेलाको पूर्ण सफलताको कामनासमेत गर्नुभयो । 

महासङ्घकी अध्यक्ष रीता सिंहले महिला उद्यमीलाई प्रोत्साहन गर्दै महिलालाई आत्मनिर्भरताको बाटाेमा लैजानका लागि मेलाको आयोजना गरिएको जानकारी दिनुभयो । महासङ्घकी प्रथम उपाध्यक्ष एवम् मेलाका संयोजक नीरु रायमाझी खत्री, द्वितीय उपाध्यक्ष शोभा ज्ञवालीलगायतले नेपालमा उत्पादित कृषि सामग्री र हस्तकलाका सामग्रीलाई अर्थतन्त्रसँग जोड्न यस मेलाको आयोजना गरिएको बताउनुभयो ।

भर्चुअल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, विभिन्न देशका राजदूत तथा महिला उद्यमीको सहभागिता रहेको थियो । मेला पाँच दिनसम्म चल्ने महासङ्घले जनाएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया