लुम्बिनी प्रदेश सरकारमा जिम्मेवारी हेरफेर

 भदौ १८, २०७८ शुक्रबार २०:३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषदमा आज शुक्रवार दोस्रो पटक कार्यविभाजन गरिएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आज मन्त्रिपरिषदमा केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजन तोक्नुभएको हो ।

प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार गएकाे साउन २८ गते गठित  मन्त्रिपरिषदमा हेरफेर र कार्यविभाजन गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी सागर गौतमले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर र कार्यविभाजनमा यसअघि आर्थिक मामिला मन्त्रीको जिम्मेवारीमा रहनुभएका कृष्णध्वज खड्कालाई सहकारी मन्त्रालयको समेत जिम्मेवारी थप गरिएको छ । सरकारले यही भदौ १३ गतेको मन्त्रिपरिषद्को बैठकले प्रदेशमा मन्त्रालयको सङ्ख्या बढाएर १३ पुर्‍याएकाे थियो । त्यहीअनुसार आर्थिक मामिला मन्त्रालयमा सहकारीसमेत गाभ्ने निर्णय गरिएको हो ।

यस्तै यसअघि विना विभागीय मन्त्री रहेका अजयबहादुर शाहीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ । यो मन्त्रालय पनि नयाँ स्थापना गरिएको हो । मन्त्री शाही पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं १ (ख) बाट प्रदेश सभामा निर्वाचित सदस्य हुनुहुन्छ ।

यस्तै यसअघि सहरी विकास मन्त्रालयको मात्र जिम्मेवारीमा रहनुभएका मन्त्री डिल्लीबहादुर चौधरीलाई पर्यटन, ग्रामीण मन्त्रालयको समेत जिम्मेवारी थप गरि पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी थपिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री केसीले मुख्यमन्त्रीसहित नौ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको जनाएको छ ।

गएकाे साउन २८ गते विना विभागीय मन्त्रीमा नियुक्त जनता समाजवादी पार्टीका दुई मन्त्री पुर्मती ढेंगा र सुमन शर्मा रायमाझीलाई भने अझै पनि जिम्मेवारी तोकिएको छैन ।  

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया