शोकलाई शक्तिमा बदल्न आमाछोरी राजनीतिमा

 भदौ २०, २०७८ आइतबार ९:४७:२२ | अमर सुनार
unn.prixa.net

दैलेख – नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पहिलो चरणमा शुक्रवार भएको वडास्तरीय चुनावमा १९ वर्षीया किशोरी स्वस्तिका महत दुल्लु नगरपालिका–३ मा निर्वाचित हुनुभयाे । सम्भवत: उहाँ देशकै कान्छी वडा सभापतिको रुपमा चयन हुनुभएकाे छ । 

देशकै कान्छी वडा सभापति स्वस्तिका कांग्रेसको १३ औं महाधिवेशनमा निर्वाचित दैलेख जिल्ला उपसभापति भूपेन्द्रजङ्ग महतकी छोरी हुनुहुन्छ । दुई वर्ष अघि स्वास्थ्य उपचारको क्रममा दिल्लीमा देहान्त हुनुभएका उपसभापति भूपेन्द्रप्रतिको सद्भावना जनाउँदै कांग्रेसले स्वस्तिकालाई सर्वसम्मतिबाट वडा सभापति बनाएको नेपाल दलित सङ्घका जिल्ला सभापति दीपक विकले बताउनुभयो ।

वडा अधिवेशनबाट चुनिएका २१ सदस्यीय वडा समिति निर्वाचन गराउन नेपाल शिक्षक सङ्घमा आबद्ध शिक्षक गङ्गाराम खनाल निर्वाचन अधिकृत खटिनुभएको थियो । वडा भरका कांग्रेसका क्रियाशील सदस्यहरुले निर्विरोध चयन गरेपछि आफूले देशकै कान्छी वडा सभापतिलाई प्रमाणपत्र दिन पाएकोमा खुशी लागेको प्रतिक्रिया दिनुभयो ।

उहाँकी आमा अर्थात पूर्व उपसभापति भूपेन्द्रकी धर्मपत्नी अरुणा महतलाई क्षेत्रीय प्रतिनिधि चयन गरेको निर्वाचन अधिकृत खनालले जानकारी दिनुभयो ।

क्षेत्रीय प्रतिनिधिले कांग्रेसको निर्वाचन क्षेत्र स्तर, जिल्ला नेतृत्व र केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा महाधिवेशन सदस्यका उम्मेदवारलाई मतदान गर्न र आफैँ उम्मेदवार बन्न पाउँछन् । देशकै कान्छी वडा सभापति स्वस्तिकाले आफ्नो बुबाले राजनीतिमा क्रियाशीलता छँदै अकालमा मृत्युवरण गरेर गर्न नपाएका राजनीतिक सेवा गर्ने अठोट रहेको बताउनुभएको छ । 

उहाँले मिलेसम्म आफू आउँदाे स्थानीय चुनावमा वडाध्यक्षको उम्मेदवार बन्ने इच्छा जनाउनुभयो । तर कानुनले मताधिकार १८ वर्षमा पाउने भए पनि पालिकाको निर्वाचनमा उम्मेदवार हुन २१ वर्ष पुगेको हुनुपर्ने उमेर हद तोकिएको छ ।

छोरी वडा सभापति र आमा क्षेत्रीय प्रतिनिधि छानिन जनमत तयार पारिदिनुभएका नेपाली कांग्रेसका पूर्व उपसभापति भूपेन्द्र महत १२ औं महाधिवेशनबाट जिल्ला कोषाध्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँको २०७६ कात्तिक १६ गते निधन भएको थियो ।

नवनिर्वाचित क्षेत्रीय प्रतिनिधि अरुणा महतले भन्नुहुन्छ ‘पहिले पनि हामीले भूमिका खेलेकै थियौँ, उहाँको निधनपछि शोकलाई शक्तिमा बदल्न हामी राजनीतिमा आयौंँ।’

अन्तिम अपडेट: बैशाख १४, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया