कतारमा अलपत्र नेपाली श्रमिकको उद्धार

 भदौ २६, २०७८ शनिबार १३:४३:१ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – हवाइ टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाइ कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँ रहेकाे नेपाली दूतावास र गैरआवासीय नेपाली सङ्घ, कतारको पहलमा उद्धार गरिएको छ ।

कतारको रोजगारी गुमेपछि स्वदेश फिर्तीको प्रतिक्षामा रहनुभएका बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ का विकास शाही, काठमाण्डाैकी अस्मिता लामा, भोजपुरका मोहन पौडेल र महोत्तरीका उदयकुमार यादवलाई सङ्घले हवाई टिकटको प्रबन्ध गरी नेपाल पठाएको हो ।

सङ्घका प्रवक्ता सन्तोष क्षेत्रीका अनुसार शाही र यादव नेपाल एयरलाइन्सको विमानमार्फत शुक्रबार बिहान ९ः०० बजे काठमाडौँ आइपुग्नुभएको हो । लामा र पौडेल भने यही भदौ १ गते नेपाल फर्कनुभएको थियो । “कानुनी प्रबन्ध दूतावासले मिलाउने गर्छ, सङ्घले हवाई टिकट व्यवस्थापन गरेर उहाँलाई घर पठाएको हो”, प्रवक्ता क्षेत्रीले टेलिफोनमा भन्नुभयो ।

छ महिनाअघि कतार जानुभएका शाहीले आफू स्वास्थ्यका कारण काम छाडेर नेपाल फर्कनुपरेको बताउनुभयो । “सुरुका दुई महिना काम गरेँ, त्यसपछि बिरामी परेँ”, उहाँले भन्नुभयो, “कम्पनीले पठाउन नमानेपछि दूतावास र एनआरएनएको सहयोगमा नेपाल आएँ ।” सङ्कटमा सघाएर ‘एनआरएन’ले नबिर्सने गुन लगाएको उहाँको भनाइ छ । काठमाडौँ ओर्लेपछि आफू जन्मघर बाजुरा हिँडेको शाहीले सुनाउनुभयो । 

कोभिड–१९ महामारी फैलिएयता थुप्रै अलपत्र श्रमिकलाई उद्धार र सहायता गरिएको सङ्घले जनाएको छ । नेपाली दूतावाससँगको समन्वयमा उद्धार कार्य हुने गरेको प्रवक्ता क्षेत्रीले बताउनुभयो । महामारीका बेला विदेशमा रोजगारी गुमाउने नेपाली श्रमिकको सङ्ख्या ठूलो छ ।

सङ्घको राष्ट्रिय समन्वय परिषद् कतारले उद्धार समिति नै बनाएर त्यहाँ रहेका श्रमिक नेपालीको दुःखमा साथ दिँदै आएको छ । “समस्यामा परेका जो–कोही नेपालीलाई सङ्घले सहयोग गर्छ”, प्रवक्ता क्षेत्रीले भन्नुभयो, “जस्तोसुकै अप्ठ्यारो पर्दा सङ्घमा खबर गर्नुस् भनेका छौँ ।”

 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया