सङ्खुवासभा हत्या प्रकरण : आफूलाई ‘अल्छी र काम नलाग्ने’ भनेका कारण हत्या गरेको आरोपीको बयान

 भदौ २७, २०७८ आइतबार १४:३:५४ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभाको मादी नगरपालिका वडा नम्बर १ मा भएको सामूहिक हत्या पारिवारिक कुण्ठाका कारण भएको पाइएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गर्दै प्रदेश १ प्रहरी कार्यालयका डीआईजी अरुण बिसीले पारिवारिक कुण्ठाका कारण हत्या भएको पाइएको बताउनुभएको हो । 

विदेश गएर बिरामी परि फर्किएका लोकबहादुरलाई काका नाताका मृतक तेजबहादुर कार्कीले सम्झाइबुझाइ गर्ने गरेका र त्यसलाई लोकबहादुरले आफ्ना छोरा विदेश गएर कमाए भनी काकाले आफूलाई हेपेको रूपमा बुझेका कारण हत्यासम्मको अवस्था आएको पाइएको डीआईजी बिसीले बताउनुभयो ।   

लोकबहादुरले एउटै चिर्पटले ६ जनाको हत्या गरेको खुलेको छ । बिहानै आफूलाई खेताला बोलाउन घरमा आएका काकालाई पछ्याउँदै गएर बाटोमा चिर्पटले हानेको र काका ढलेको देखेर आएका काकी, भाउजु र दुई नाबालाक भतिजो/भतिजीलाई पनि त्यही चिर्पटले हानेर हत्या गरेको लोकबहादुरले बयान दिएका छन् । हजुरआमा अर्थात् तेजबहादुरकी आमालाई भने घरमै गएर हत्या गरी चिर्पट आगोमा हालेर फर्किएको लोकबहादुरले बयान दिएका छन् ।  

लोकबहादुरका हजुरबुबा र मृतक तेजबहादुरका बुबा बौद्धमान दाजु–भाइ हुन् । उनीहरूको घर नजिकै रहेको छ ।

हत्या आरोपी लोकबहादुर मानसिक रोगीसमेत रहेका प्रहरीले जनाएको छ । आरोपी लोकबहादुरले दिएको बयानमा तेजबहादुरले आफूलाई अल्छी, जाँगर नभएको लगायत शब्द प्रयोग गर्ने, गाली गर्ने जस्ता कार्य गरेकोले हत्या गरेको बयान दिएका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

1 Comments

  • basanta khatri

    Sept. 12, 2021, 11:01 p.m.

    🙏🙏🙏🙏🙏🙏🙏 अल्छी भनेको मा मात्र है न । अरु पुरानो दुश्मनी हुनु पर्छ पैसा को कारोबार पनि छ । पुरै बंश नै नास हुनिगरि हत्या हरेको छ अपराधी लाई फासि दिनु पर्छ 😭😭😭😭😭😭😭

  •  0 Reply

तपाईको प्रतिक्रिया