यस वर्ष औसतभन्दा बढी पानी पर्‍याे, माैसम कहिले खुल्छ ?

 भदौ २७, २०७८ आइतबार १७:१९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – मनसुनको अवधि जुनदेखि सेप्टेम्बर पूरा नहुँदै (चार महिना नपुग्दै) देशमा सरदरभन्दा बढी पानी परेकाे छ । अझ उत्तरी भूभागमा बढी वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ ।  

देशका विभिन्न मुख्य २० वर्षा मापन केन्द्रलाई आधार मानेर निकालिएको औसत मौसमी विवरणअनुसार चार महिनामा नेपालमा सरदर एक हजार ४०३ मिलिमिटर पानी पर्थ्याे तर अहिले १८ दिनअघि नै एक हजार ५२७ मिलिमिटर पानी परिसकेको छ । 

मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखा प्रमुख, वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलका अनुसार सेप्टेम्बर १२ अर्थात् आजसम्मको विश्लेषण गर्दा सरदर एक हजार २६८ मिलिमिटर वर्षा हुनुपर्ने थियो तर औसत विवरणअनुसार २६९ मिलिमिटर बढी पानी परिसकेको छ । यो सरदर वर्षाको अनुपातमा आजसम्मको वर्षा विश्लेषण गर्दा १२० दशमलव ४ प्रतिशत हो । उहाँका अनुसार सरदर वर्षाको अनुपात भने ९० देखि ११० प्रतिशतलाई मानिन्छ ।

काठमाण्डाैमा पनि यसपालि धेरै पानी परिसकेकाे छ । विभागका अनुसार काठमाण्डाैमा आजसम्म सरदर एक हजार ७२ दशमलव ५ मिलिमिटर वर्षा हुनुपर्नेमा आजसम्म एक हजार ३५१ दशमलव २ मिलिमिटर पानी परिसकेको छ । मनसुनको अवधि (सेप्टेम्बर अन्तिम) सम्म एक हजार १७६ मिलिमिटर पर्नुलाई सरदर वर्षा मानिन्छ । अहिले नै वर्षा नाघिसकेको छ ।

काठमाण्डाैमा आजसम्मको तुलना गर्दा १२६ प्रतिशत पानी परिसकेको छ । चार महिनाको मनसुन अवधिको औसत निकाल्दा भने यो ११५ प्रतिशत हुन आउँछ । 

प्राप्त विवरणअनुसार जोमसोममा सबैभन्दा बढी पानी परेकाे छ । सरदर १३७ दशमलव १ मिलिमिटर पानी पर्नुपर्नेमा त्यहाँ ३३९ दशमलव ३ मिलिमिटर पानी परिसकेको छ । कँडेलका अनुसार यो सरदरको २५४ दशमलव ८ प्रतिशत हो । यसपालि दोस्रो बढी पानी पर्ने अर्को केन्द्र भैरहवा हो । त्यहाँ १४० दशमलव ७ प्रतिशत वर्षा भएको छ । उहाँका अनुसार आजसम्म एक हजार २४९ दशमलव ८ प्रतिशत सरदर वर्ष हुनुपर्नेमा एक हजार ९२५ मिलिमिटर पानी परिसकेको छ । 

नेपालमा यसपालि औसतभन्दा बढी पानी पर्ने आकलनकै बीच भारी वर्षापछिको बाढी, पहिरो र डुबानले ७१ जिल्लालाई नराम्ररी प्रभावित बनायो । मुख्यतः सिन्धुपाल्चोक, मनाङ, पाल्पा, कास्की, दाङ, पर्वतलगायत एक दर्जन जिल्ला मानवीय र भौतिक क्षतिका दृष्टिले बढी प्रताडित छ । सरकारले मनाङ र सिन्धुपाल्चोकलाई त विपद् सङ्कटग्रस्त जिल्ला नै घोषणा गरेर आवश्यक पुनरुत्थानका कार्य अघि बढाइसकेको छ । 

मनसुनजन्य घटना (बाढी, पहिरो र डुबान) का घटनामा मात्रै यसपालि देशभर १३० जनाको ज्यान गएकाे छ भने अझै ४१ जना हराइरहेका छन् । सबैभन्दा बढी सिन्धुपाल्चोकमा मानवीय क्षति भएको छ । याे जिल्ला गएकाे वर्ष पनि विपद्का दृष्टिले सबैभन्दा बढी प्रभावित थियो ।

जल तथा मौसम विज्ञान विभागले गएकाे वैशाखमै मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली गण्डकी, वाग्मती प्रदेशका धेरैजसाे ठाउँ तथा प्रदेश १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सदरदभन्दा बढी (३५ देखि ६५ प्रतिशत) वर्षा हुने अनुमान गरेको थियो ।

उच्च हिमाली क्षेत्रमा भने ५५ देखि ६५ प्रतिशत वर्षा हुने आकलन गरिएको थियो । प्रदेश १ को तराई र प्रदेश २ को पूर्वी जिल्लामा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको थियो । विभागले विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारूप, जल तथा मौसम विज्ञान विभागको मनसुनी वर्षा र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आकलनका आधारमा यस्ताे निष्कर्ष निकाल्ने गरिन्छ । 

नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको अवस्था, जलवायु प्रारूपको मनसुन अवधिको आकलन, युरोप तथा एसियामा गएकाे हिउँद तथा प्रिमनसुनको अवधिमा परेको हिउँ, अन्तरऋतु परिवर्तनशिलताका कारकलाई समेत मध्यनजर गरी यस्ताे आकलन तयार पारिन्छ । यसपालि गएको वैशाखमै आकलन गरिएको थियो । त्यसमा नेपाल, भारत, म्यानमारलगायत नौ देशका मौसमविद् सहभागी थिए । 

के अब मौसम खुलेकै हो ?  

ठूलाठूला विपद्का घटना निम्तिएपछि पछिल्ला केही दिनदेखि विस्तारै मौसम सफा हुँदै गएको हो कि भन्ने महसुस गराएको छ । कर्णाली प्रदेशबाहेक आज धेरै ठाउँमा घाम लागिरहेको छ । के अब मौसम खुलेकै हो त ? यसपालिको विपद् यति नै हो त ? आम सर्वसाधारणमा प्रश्न खेलिरहेको छ । त्यही प्रश्न मौसमविद्सँग राख्दा त्यो अनुमान गर्न अझै हतारो हुने प्रतिक्रिया प्राप्त भएको छ । उनीहरूका अनुसार अझै विपद् टरिसकेको छैन । 

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मी भन्नुहुन्छ, ‘मनसुन नसकिँदासम्म जोखिम कायमै रहन्छ, खुलेको जस्तो देखिए पनि कुनै पनि बेला मनसुन सक्रिय भएर भारी वर्षा हुनसक्छ, नियमित अपडेटमा रहनुपर्छ ।’

यसपालिको मनसुनका समयमा देशका धेरैजसो भूभागमा सरदरभन्दा बढी पानी पर्ने आकलन गरिएको थियो । त्यहीअनुसार नै पानी परेकाे जनाइएको छ । नेपालमा यसपालि मनसुन दुई दिन ढिला गरी गएको जेठ २८ गते भित्रिएको थियो । आउँदाे असाेज १७ को आसपास मनसुन बाहिरिनेछ । 

जेठ ३० गतेदेखि देशैभरि मनसुन सक्रिय भयो । त्यसको अर्को दिनदेखि नै ठूलाे पानी पर्न सुरु भएर जनजीवन प्रभावित बनायो । सुरुवाती वर्षाले मनाङ र सिन्धुपाल्चोकलगायत जिल्लामा ठूलो जनधनको क्षति गरायो । असार १ र असार १६ गते फेरि ठूलाे पानी पर्दा सिन्धुपाल्चोकमा दोहोरिएर क्षति भयो । अघिल्लो हप्ता तराईका जिल्लामा ठूलाे पानी पर्दा बाढी र डुबानको समस्या निम्तियो । 

गृह मन्त्रालयबाट प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा अहिलेसम्म ६ जनाको ज्यान गएकाे छ भने २० बेपत्ता भएका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा मात्रै दुई सय ४७ घर बाढीले भत्काएको छ । कुल एक हजार सात सय रोपनीभन्दा बढी जमिन लगेको छ । जग्गामा मात्रै तीन अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । 

उता सिन्धुपाल्चाेककाे हेलम्बु गाउँपालिकामा दुई सय २७ घर बग्यो । कुल दुई हजार एक सय रोपनी बढी जग्गा लगेको विवरण प्राप्त छ । यस्तै पाल्पामा ६, कास्कीमा सात, दाङमा १० र पर्वतमा १३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । 

यसपालि मनसुनजन्य विपद्का कारण ७१ जिल्ला प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठ अहिले देशभर मौसम सामान्य बदली रहे पनि कर्णाली प्रदेशमा छिटफुट वर्षा भइरहेको जानकारी दिनुहुन्छ । ‘सोमवार पनि मौसम सामान्य नै छ, मङ्गलवार केही बदली हुनसक्छ’ , श्रेष्ठले भन्नुभयो । उहाँले पनि तत्कालै ठूलाे पानी पर्ने सम्भावना भने नदेखिएको बताउनुभयो । यद्यपि मनसुन नबाहिरिँदासम्म कुनै पनि बेला बदली हुने श्रेष्ठको भनाइ छ ।   

वैशाखयताका घटना र मानवीय क्षति 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाखयता कुल एक हजार सात सय ६२ विपद्का घटना भएको छ । ती घटनाबाट दुई सय ३४ जनाको ज्यान गएकाे छ । यसमा बाढी, पहिरो र डुबानबाहेकका विपद्जन्य घटनासमेत समावेश छ । ती घटनामा ४१ जना हराइरहेका छन् भने चार सय ६४ घाइते भए । कुल दुई हजार दुई सय ७८ परिवार प्रभावित छन् । कुल सात अर्ब ७७ करोड रुपैयाँको क्षति भएको अनुमान गरिएको छ । 

जसमा सबैभन्दा बढी ६ सय ७९ आगलागीका घटना भए । यद्यपि मानवीय क्षतिका हिसाबले भने सबैभन्दा बढी पहिराेबाट ७७ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी बाढीमा परेर ३२ बेपत्ता भएका छन् । 

प्राप्त विवरणअनुसार आगलागी १४, पहिराे ७७, बाढी ३८, अविरल वर्षा १६, चट्याङ ४८, सर्पको टोकाइ १६, डढेलो तीन, हावाहुरी एक र जनावरको आक्रमणबाट २१ जनाले ज्यान गुमाएका छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया