मनाङ : ‘बाटो छैन, स्याउ बजारमा कसरी पुर्‍याउने ?’

 भदौ ३१, २०७८ बिहिबार १६:६:३ | रासस
unn.prixa.net

मनाङ – यस वर्ष मनाङमा उत्पादित स्याउ बजारमा पुग्न सकिरहेकाे छैन । विगतका वर्षमा भदौ महिना लाग्नासाथ स्याउ बजारमा पुर्‍याउन सुरु गरिन्थ्यो ।

नासों गाउँपालिका ९ मा रहेकाे दानाक्यु एग्रो फार्म प्रालिका सञ्चालक राजु गुरुङले सडक नहुँदा यस वर्ष स्याउ टिप्न र बजारसम्म पुर्‍याउन ढिलो भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगतका वर्षमा यतिखेर स्याउ टिप्न चटारो हुन्थ्यो । यस वर्ष स्याउ टिप्न र बजार लैजान सक्ने अवस्था छैन । कतै सडक नहुँदा बारीमा नै कुहिने त होइन भन्ने चिन्ता लागेको छ ।’

उहाँका अनुसार एक सय रोपनीका फार्ममा लगाइएको स्याउमध्ये ३० रोपनी पहिराेले बगाउँदा ४० लाख रुपैयाँ क्षति भएको छ । उहाँजस्तै मनाङका आफ्नै बारीमा व्यावसायिक स्याउ खेती गर्दै आएका किसान बाटाे नहुँदा मर्कामा परेका छन् । यस पटकको बाढी पहिराेले स्याउ खेती गर्ने किसान बढी समस्यामा परेका जनाइएको छ ।

बजारमा स्याउ पुर्‍याउन मुस्किल भएको नासों ८ ताचैका किसान सोलबहादुर गुरुङले बताउनुभयो उहाँले भन्नुभयो, ‘दशैंँ अगाडिसम्म सडक मर्मत भएमा स्याउ पुर्‍याउन सकिन्छ कि भन्ने आशा जागेको छ ।’

एग्रो मनाङका प्रमुख सोमराज गुरुङले यतिखेर स्याउ बजारमा पुर्‍याउनुपर्ने भए पनि बाटाे नहुँदा पुर्‍याउन नसकिएको बताउनुभयो । ‘गएकाे वर्ष यो सिजनमा प्याकिङ गरिन्थ्यो । यस वर्ष पनि दशैँसम्म सडक निर्माण हुने खबर पाएका छौं । त्यहीअनुसार प्याकिङको काम थालेका छौँ । सडक बनेपछि बजारमा पुर्‍याउने तयारीमा छौँ’, उहाँले भन्नुभयो ।

सडक मर्मत हुँदै यसैबीच डुम्रे–बेसीसहर–चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युत विलास पन्तले सदरमुकाम चामेसम्म असोजसम्ममा सडक सञ्चालन गराउने तयारीमा रहेको जानकारी दिनुभयो । ‘सडक मर्मत भइरहेको छ । वर्षा भइरहेकाले समस्या भने आइरहेको छ । एक ठाउँमा बनायो अर्को ठाउँमा भत्किन्छ । यो समस्याले सडक निर्माणमा अलि ढिलाइ चाहिँ भएकै हो’, उहाँले भन्नुभयो ।

उहाँका अनुसार आउँदाे दशैँंअघि नै जिल्ला सदरमुकामसम्म सवारी सञ्चालन गर्ने योजनासहित काम भइरहेको छ । माथिल्लो मनाङ जाने सडकअन्तर्गतको तलेखु–भ्राताङ भिरमा ब्लास्टिङ गर्ने सबै सामग्री उपलब्ध गराउँदै काम पनि भइरहेको उहाँले बताउनुभयो । याे सडक खण्डकाे एक सय सात किलोमिटरमध्ये लमजुङको बेसीसहरदेखि नासों गाउँपालिका १ खोत्रोसम्मको ३५ किलाेमिटर सडक निर्माण भइसकेको छ । त्यस्तै चामे गाउँपालिकामा स्थानीयवासीको सहयोगमा पालिकामा गाडी चल्न थालेकाे उहाँले बताउनुभयो ।

उहाँका अनुसार अब त्याे सडक खण्डअन्तर्गतको खोत्रोदेखि तिमाङसम्म झन्डै १५ किलोमिटर सडक निर्माण हुन बाँकी छ । माथिल्लो र तल्लो मनाङलाई जोड्नका लागि झन्डै साढे दुई महिनापछि तलेखु–भ्राताङ भिरमा चट्टान काटेर सडक निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ । यस सडक निर्माण भएपछि सर्वसाधारणलाई आवतजावत तथा सामग्री ढुवानीमा सहज हुनेछ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया