सरकारलाई प्रदीप ज्ञवालीकाे चुनाैती : एमालेकाे सहयाेगविना एमसीसी पास गरेर देखाउ

 असोज १, २०७८ शुक्रबार १९:३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले आफूहरूको सहयोगविना संसदबाट एमसीसी पास गर्न चुनौती दिनुभएको छ ।

आज शुक्रवार काठमाण्डाैमा आयोजित ‘नयाँ सरकारको कुटनीतिक अभिमुखीकरण : सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले वर्तमान सरकारसँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोगविना एमसीसी संसदबाट पास गर्न चुनौती दिनुभएको हो । 

विगतमा एमाले नेतृत्वको सरकारले एमसीसी पास गर्न खोज्दा वर्तमान सत्ता गठबन्धनकै दलहरूले सडकमा आगो बालेको भन्दै सम्झौता गलत भए किन सम्झौता गरेको भन्ने प्रश्नसमेत गर्नुभयो । उहाँले सम्झौता सही थियो भने संसदबाट पास गर्न किन रोकिएको हो भन्ने प्रश्न पनि गर्नुभयो । एमसीसी पास गर्न प्रतिपक्षको सहयोग मागेको भन्दै उहाँले अब सरकारले संसदमा प्रस्ताव ल्याएपछि मात्रै आफूहरूको धारणा सार्वजनिक गर्ने स्पष्ट पार्नुभयो । 

नेता ज्ञवालीले भन्नुभयो, ‘त्यो सम्झौता ठिक थियो भने अघिल्लो सरकारले यसलाई अगाडि बढाऔँ भनेकै हो । किनभने दुई देशबीचको सम्झौता भइसकेपछि सरकार आएपिच्छे फेर्दै जाने हो भनेदेखि त कहिल्यै पनि दुई देशबीचकाे सम्बन्ध दिगो हुन सक्दैन । सरकार भनेको एउटा अविछिन्न उत्तराधिकारीवाला संस्था हो । अघिल्लो सरकारले गरेको भए पनि यसलाई अगाडि बढाऔँ भन्दा आगो बाल्नु भो उहाँहरूले । सम्झौता गर्ने उहाँहरू गाली खाने केपी ओली । सम्झौता गर्ने उहाँहरू गाली खाने हामी । यदl त्यो गलत थियो भने सम्झौता किन गर्नुभयाे तपाईँहरूले ? यदि सही थियो भने त्यसलाई पास हुनबाट किन रोक्नु भयाे तपाईँहरूले ? अनि आज प्रतिपक्षको सहयोग खोजिरहनुभएको छ । आज उहाँहरूसँग सङ्ख्या छ, उहाँहरूले अगाडि बढाउने हो भने बढाए हुन्छ । प्रस्ताव आइसकेपछि हामी आफ्नो धारणा राखाैँला ।’  

नेता ज्ञवालीले एमसीसीलाई आन्तरिक राजनीतिको किचलोको विषय बनाउन नहुने बताउनुभयो । यसले छिमेकी देशमा देशको विश्वसनीयतालाई कमजोर गराउने उहाँको तर्क छ । उहाँले सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्याको रूपमा लिएको भन्दै सीमा समस्या नै नभएको चीनसँग भने सीमा समस्या देखाएर सम्बन्धमा चिसोपना निम्त्याउने काम गरेको बताउनुभयो । 

नेता ज्ञवालीले दुवै छिमेकी देशसँग सन्तुलित र परिपक्व सम्बन्ध राखेर अघि बढ्नुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया