सङ्खुवासभा हत्या प्रकरण : लाेकबहादुरका भाइसहित चार जना अनुसन्धानमा तानिए

 असोज ३, २०७८ आइतबार १९:५८:५२ | रासस
unn.prixa.net

फाइल फाेटाे

सङ्खुवासभा – सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनालाई अनुसन्धानमा तानिएको छ । 

एकै परिवारका ६ जनाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि चार जनालाई तानिएको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । घटनामा अन्य व्यक्तिको समेत संलग्नता भएको आशङ्कामा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । 

उहाँका अनुसार यस घटनामा संलग्न रहेको आरोपमा स्थानीयवासी लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । नियन्त्रणमा लिएको अन्य चार जनामाथि प्रहरीले अनुसन्धान थालेको प्रवक्ता प्रहरी उपरीक्षक राईले बताउनुभयो । मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गएकाे शुक्रवार फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थल केन्द्रमा पुगेको प्रवक्ता राईको भनाइ छ । घटनाबारे थप प्रमाण फेला परेपछि सङ्घीय इकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा प्रदेश नं. १ प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान गरिरहेको प्रवक्ता राईले जानकारी दिनुभयो । 

गएकाे भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उहाँकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।    

लोकबहादुरले ६ जनाको हत्या गरेको बताइएको छ । लोकबहादुरको बयानका आधारमा उनका भाइ नरेशलाई नियन्त्रणमा लिएको थियो । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर र नरेशको बयानका आधारमा अन्य चार जना माथिसमेत प्रहरीले अनुसन्धान थालेका प्रवक्ता राईले बताउनुभयो । 

सङ्खुवासभा प्रहरीले घटनाको सातौँ दिनपछि अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो । रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै हराएको थियो । त्याे मोबाइल लोकबहादुरको घरमा फेला पारेको थियो ।  

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया