दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - नेकपा एमालेको विधानमा ७० वर्षे उमेर हद कायम राख्ने प्रस्ताव गरिएको छ । यो प्रस्ताव पारित भएमा एमालेको नेतृत्वमा व्यापक परिवर्तन हुनेछ भने नयाँ पुस्तालाई नेतृत्वमा पुग्नको लागि ढोका खुल्नेछ ।
हिजोको स्थायी कमिटी बैठकमा पेस भएको विधान मस्यौदामा सबै तहका कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने प्रस्ताव गरिएको छ ।
आउँदो १५ गतेदेखि १७ गतेसम्म चल्ने विधान महाधिवेशनले यो प्रस्ताव अनुमोदन गरेमा यसले मंसिरमा हुने १० औं महाधिवेशनलाई खासै प्रभाव पर्ने छैन, तर ११ औं महाधिवेशनबाट चयन हुने नेतृत्वमा भने परिवर्तन हुनेछ । उमेर हदले केपी शर्मा ओलीलाई १० औं महाधिवेशनबाट अध्यक्ष बन्न अवरोध हुनेछैन । तर दोस्रो तहमा रहेका अध्यक्षका आकाङ्क्षी नेताहरुलाई १० औं महाधिवेशन नै अन्तिम अवसर हुनेछ ।
विधान महाधिवेशन अघि स्थायी कमिटी, केन्द्रीय कमिटीबाट प्रस्ताव पारित गरेर विस्तृत छलफलका लागि विधान महाधिवेशनमा प्रस्तुत हुनेछ । विधान महाधिवेशनमा विधान पारित गरेपछि त्यसैअनुसार १० औं महाधिवेशनमा नेतृत्वको चयन गरिनेछ । यस्तै एमालेले आफ्नो विधानमा सात सदस्यीय सचिवालय गठनको प्रस्ताव गरेको छ ।
यसअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भइ गठन भएको नेकपाजस्तै एमालेमा अब सात सदस्यीय सचिवालय हुनेछ । विधान महाधिवेशनबाट विधान पारित भएपछि एमालेमा अब अध्यक्षको नेतृत्वमा सचिवालय रहने व्यवस्था गरिनेछ ।
यस्तै उपाध्यक्षको सङ्ख्या घटाएर सचिवको सङ्ख्या बढाउने प्रस्ताव गरिएको छ । यसअघि उपाध्यक्षको सङ्ख्या सात राखिएको थियो भने सचिवको सङ्ख्या पाँच रहेको थियो । त्यसमा संशोधन गर्दै उपाध्यक्षको सङ्ख्या तीन र सचिवको सात पु्र्याउने प्रस्ताव भएको छ ।
नवौं महाधिवेशनबाट उपाध्यक्ष र सचिवको सङ्ख्या पाँच/पाँच राखिएको थियो । उपमहासचिवको सङ्ख्या दुई जना राखिएको छ । विधानमा केन्द्रीय कमिटीको सङ्ख्या २ सय २५ राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।