हस्तकला सामग्रीभित्र चरेस राखेर ओसारपसार, ९ जना पक्राउ

 असोज ५, २०७८ मंगलबार १९:१०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हस्तकला सामग्रीभित्र लागुऔषध चरेस राखेर ओसारपसार गर्दै आएका नौ जना पक्राउ परेका छन् । 

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले आज मङ्गलवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी हस्तकलाका सामग्रीभित्र चरेस राखेर ओसारपसार गर्दै आएका म्याग्दीका श्यामप्रसाद रोका, वीरबहादुर रोका, दिलबहादुर रोका, धादिङका अनिलबहादुर घले, सुनबहादुर गुरुङ, जितबहादुर तामाङ, कृष्णबहादुर तामाङ, नुवाकोटका उर्पा तामाङ र वीरबहादुर तामाङलाई सार्वजनिक गरेको हो । 

उनीहरूको साथबाट कतार पठाउन हस्तकला सामग्रीमा प्याक गरी राखिएको सात केजी ६ सय १४ ग्राम चरेस बरामद गरिएको पनि ब्युराेका प्रमुख एवम् (प्रहरी वरिष्ठ उपरीक्षक) एसएसपी हृदय थापाले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरूले हाते कागजका डायरीमा चरेस राखेर कतारलगायतका देशमा पठाउने गरेको पाइएको ब्युरोले जनाएको छ । यसअघि उनीहरूले यसरी नै अचारको भाँडोमा समेत चरेस राखेर भारत हुँदै हङकङ, थाइल्यान्ड, टर्कीलगायतका देशमा पनि लागुऔषध ओसारपसार गर्दै आएको पनि अनुसन्धानमा पाइएको एसएसपी थापाले बताउनुभयो । 

पक्राउ परेका उनीहरूलाई लिएर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया