धरहरा परिसरमा एनपीएलको ट्रफी अनावरण, ट्रफीमा कालापत्थरको ढुङ्...
मंसिर १०, २०८१ सोमबार
बर्दिया – बर्दियाको बारबर्दिया नगरपालिकाले प्राविधिकतर्फका इन्जिनियरिङ, एमबीबीएस र सीए विषय पढ्न चाहने निम्न आयस्रोत भएका विद्यार्थीलाई पूर्ण छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।
यी तीन विषयमा एक–एक जनालाई छात्रवृत्ति प्रदान गर्ने योजनाअनुसार चालु आर्थिक वर्षमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारुले जानकारी दिनुभयो ।
नगरभित्र ४२ सामुदायिक र १५ संस्थागत गरी कुल ५७ विद्यालयमा अध्ययनरत बालबालिकामध्ये आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमार्फत यी विषयमा पढ्नका लागि यो योजना अघि सारेको शिक्षा शाखा प्रमुख टीकानाथ गोसाईंले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, हामीले आवेदन माग गरेका छौँ । आवेदनका आधारमा छनोट गरेर छात्रवृत्ति दिन्छौँ ।
अनिवार्य तथा निःशुल्क शिक्षा प्रत्याभूत भएको नगरपालिकाका रूपमा २०७५ सालमा बारबर्दिया नगरपालिका घोषित भएको हो । त्यसयता विभिन्न शैक्षिक योजना बनाउँदै विपन्न तथा पिछडिएका समुदायका विद्यार्थीका लागि काम गर्दै आएको छ । जनतासँग नगर प्रमुख, विद्यार्थीसँग नगर प्रमुखलगायत कार्यक्रममार्फत विद्यार्थीलाई शैक्षिक सहुलियत तथा शतप्रतिशत छात्रवृत्ति प्रदान गरिरहेको नगरपालिका शिक्षा शाखा प्रमुख टीकानाथ गोसाईंले जानकारी दिनुभयो ।
त्यस्तै गरी अति विपन्न, आमाबुबा नभएका बालबालिकालाई पनि आवासीय शिक्षा बाल संरक्षण केन्द्र बनाएर प्रदान गरिरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले ५० जना उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । आधारभूत तहमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका सय जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । प्रमुख गोसाईंले भन्नुभयो, घरैमा बस्ने तर विद्यालय जानका लागि आवश्यक कापी, किताब, पेन्सिल, पोसाक खरिद गर्न नसक्ने सय जना विद्यार्थीलाई छात्रवृत्ति दिँदै आइरहेका छौँ ।
नगरपालिकाले मुक्त कमैया, सुकुम्वासी बस्तीका बालबालिकालाई घरैमा बस्ने र पढाइका लागि आवश्यक सामग्री उपलब्ध गराउने गरेको हो । बारबर्दिया नगरपालिकाले शहीद विष्णु धनी बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याएको छ । वन विज्ञान विषयका लागि अनुमति पाइसकेको शिक्षालयमा १५ जना विद्यार्थीले पूर्ण छात्रवृत्ति, आठ जनाले ७५ र तीन जनाले ५० प्रतिशत छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट थप ६ वटा विषय सञ्चालनका लागि अनुमति माग गरेको नगरपालिकाले जनाएको छ । पढ्नकै लागि पालिकाका विद्यार्थी बाहिर जान नपरोस् भनेर नगरपालिका तथा सङ्घीय सरकारको साझेदारीमा बहुप्राविधिक शिक्षालय सञ्चालन गरेको प्रमुख गोसाईंले भन्नुभयो । पालिकाले एक सय १७ जना शिक्षक व्यवस्थापन र प्रत्येक विद्यालयमा विषयगत शिक्षक दरबन्दी व्यवस्थापन गरेको छ । कुल बालबालिकामध्ये अहिले ३० हजार बालबालिकालाई पाठ्यपुस्तक वितरण गरिसकेको नगरपालिकाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।