कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ

 असोज ७, २०७८ बिहिबार १४:२९:३२ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

विजयकुमार थारु/बाँके

लाखौँ रुपैयाँ खर्चेर रोजगारीको लागि विदेश जानुपर्छ । त्यसैमा पनि म्यानपावर तथा एजेण्टले ठगीका अनेक तरिका अपनाउँछन् । मलाई पनि एकजना एजेण्टले यूएईमा राम्रो कम्पनीको सेक्युरिटीमा पठाउने भनेर डेढ लाख रुपैयाँ माग्यो ।

यो गएको अगस्टको कुरा हो । सुर्खेतका मनम घर्ती नाम गरेका एकजनासँग फेसबुकमार्फत नै चिनजान थियो मेरो । उनले नै यूएई पठाइदिने कुरा गरेपछि मैले चिनेकै मान्छे, ठिकै होलान् भन्ने लाग्यो । उनलाई अगस्ट एक तारिखमा एकलाख ४५ हजार रुपैयाँ बुझाएँ । 

कामदार भिसामा पठाउँछु भनेको थियो । मैले पनि कामदार भिसामा भए मात्र जान्छु नत्र जान्न भनेर कुरा पक्का गरेको थिएँ । तर जब पैसा बुझाएँ, तब उनले मेरो हातमा भिसा थमाइदिए । पल्टाएर हेर्दा पो थाहा भयो त्यो त भिजिट भिसा रहेछ ।

सुरुमै कुरा पक्का गरेर ‘हुन्छ’ भनेको मान्छेले हातमा पैसा परेपछि आफ्नो वास्तविकता देखाएरै छाड्यो । मैले भिजिटमा नजाने कुरा गर्दा उनले त्यसमै पनि जाँदा केही फरक पर्दैन भनेर कुरा काट्न थाले । आफूले जाँदै नजाने र पैसा फिर्ता चाहियो भन्दा त्यसैलाई कामदार भिसा बनाउने कुरा गरे । 

पैसा बुझाएको एक हप्तामै उडाइदिन्छु भनेको थियो तर बीचमा भिसाको कुरा नमिल्दा अहिले दुई महिना हुन थालिसक्यो पठाउने त कुरै भएन । अहिले फोन पनि उठाउँदैनन् र म्यासेजको रिप्लाइ पनि दिँदैनन् । पैसा फिर्ता दिन पनि मानिरहेका छैनन् । 

विदेश जाने भनेर मैले काठमाण्डौमा गर्दै आएको जागिर पनि छाडेँ । पहिले जागिर गर्दा त कम्पनीले दिएको कोठामा बिसन्थ्यो । अहिले जागिर नि छैन, बस्ने ठेगान नि छैन । होटलमा बसिरहेको छु । खर्च दिनदिनै बढीरहेको छ । पासमा भएको पैसा पनि सकियो । हामीले कति दुःख गरेर कमाएको पैसा एजेण्टले विदेश पठाइदिने नाउँमा कति सजिलै लुट्न खोज्दा रहेछन् । अहिले आएर थाहा भयो ।

त्यसैले मैले कानुनी बाटो अपनाएको हुँ । मसँग पैसा बुझाएको प्रमाण पनि छ । पैसा बुझाउँदा वैदेशिक रोजगारी उल्लेख गरेरै पठाएको थिएँ । बैंकले प्रमाणीत गरिसक्यो । वैदेशिक रोजगार विभागमा निवेदन दिएको छु । पक्राउ पुर्जी जारी गरेको छ । विभागले कति चाँडो कारबाही गर्ने हो त्यसकै भरमा छु ।

म त बेलैमा सचेत भएँ जस्तो लाग्छ, विदेशमा गएर ठगिएको भए अझै बढी दुःख हुने थियो होला सायद । त्यसैले सबैलाई सचेत हुन म आग्रह गर्छु । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया