भदौमा अपराध गर्नेमध्ये ३ हजार ६ सय पक्राउ, ६ सय ६४ वर्ष कैद तोकिएका १४ सय जना पनि समातिए

 असोज ११, २०७८ सोमबार १७:२९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – गएको भदौ महिनामा देशभर विभिन्न अपराधमा संलग्नमध्ये तीन हजार ६ सय ८३ जना पक्राउ परेका छन् । अझै एक हजार एक सय ४३ जना फरार रहेका नेपाल प्रहरीले जनाएको छ । 

भदौ महिनामा दर्ता भएका तीन हजार नौ सय आठ वटा अपराधमा चार हजार आठ सय २६ अभियुक्त संलग्न रहेका थिए । अदालतबाट सजाय तोकिएकामध्ये एक हजार चार सय ४४ जना फरार प्रतिवादी भदौ महिनामा पक्राउ परेका छन् । 

उनीहरूलाई ६ सय ६४ वर्ष १० महिना ११ दिन कैद सजाय तोकिएको छ । साथै जरिबानाबापत बिगो रकम ६ करोड ७१ लाख ३५ हजार ६ सय रुपैयाँ असुल भएको छ । 

यस्तै भदौमा विभिन्न शीर्षकमार्फत ३४ करोड २८ लाख ६० हजार ९७ रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

यसैबीच भदौ महिनामा भएका एक हजार सात सय ९८ वटा सवारी दुर्घटनामा एक सय ७० जनाको ज्यान गएको छ भने पाँच सय १५ जना गम्भीर घाइते भएका छन् । औसतमा देशभरि हरेक दिन ५८ वटा सवारी दुर्घटना दर्ता भएको तथ्याङ्कले देखाएको छ । 

यस्तै भदौ महिनामा तीन सय चार वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएकोमा चार सय ७५ जना पक्राउ परेका छन् । साथै सात सय ९० किलो गाँजा, ३६ किलो चरेस, सात सय ५४ ग्राम हेरोइन, दुई किलो अफिम र दुई किलो ९६ ग्राम कोकिन बरामद भएको छ । भदौ महिनामा ४८ नाल हातहतियार, विभिन्न हतियारमा लाग्ने २० राउन्ड गोली र तीन थान म्यागजिन बरामद गरिएको छ । अवैध हातहतियारसहित २६ जना पक्राउ परेका छन् ।

भदौ महिनामा दर्ता भएका घटनामध्ये ज्यानसम्बन्धी ६ सय ६३ वटा, आत्महत्याको चार सय ८१ वटा, चोरीको दुई सय ७९, सङ्गठित र आर्थिक अपराध चार सय ६३, सामाजिक अपराध नौ सय ५३, महिला–बालबालिकाविरुद्ध चार सय ४४, सवारीसम्बन्धी एक सय ५७ र विविधतर्फ चार सय ६८ वटा मुद्दा दर्ता भएका छन् । दैनिक औसत एक सय २६ वटा मुद्दा दर्ता हुने गरेको तथ्याङ्कले देखाएको छ ।

यसैगरी हातहतियार तथा खरखजानासम्बन्धी २४ वटा, बाल यौन दुराचार २४ वटा, अपहरण वा शरीर बन्धकसम्बन्धी ११ वटा र मानव बेचबिखन तथा ओसारपसारका १७ वटा मुद्दा दर्ता भएका छन् । आत्महत्याका चार सय ८१ वटा घटनामध्ये झुन्डिएर तीन सय ७८, विष खाएर ९४, पानीमा डुबेर ६, हाम फालेर एक, हातहतियार औजारबाट एक र आगोका कारण एक जनाले ज्यान गुमाएका छन् ।

भदौ महिनाभरि ६ सय २४ विपद्का घटनामा ६५ जनाले ज्यान गुमाएका छन् भने एक सय नौ जना घाइते भएका छन् । जसमध्ये पहिरोबाट ४०, बाढीबाट १२, चट्याङबाट ६, जनावरको आक्रमणबाट तीन र वर्षाका कारण एक जनाको ज्यान गएको छ । उद्धारका लागि तीन हजार नौ सय ८१ जना प्रहरी कर्मचारी परिचालन गरिएको थियो ।

नेपाल प्रहरी अस्पतालमा कोभिड– १९ विरूद्धको खोप लगाउने कार्यक्रममा भेरोसेल पाँच हजार आठ सय ४८ जना, जोनसन एन्ड जोनसन आठ हजार १९ जना र एस्ट्राजेनेका एक हजार पाँच सय ९६ जना गरी जम्मा १५ हजार चार सय ६३ जनाले खोप लगाएका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया