अछाममा उच्च रक्तस्रावका कारण गर्भवतीको ज्यान गयाे

 असोज १६, २०७८ शनिबार ११:७:२८ | चन्द्र थापा
unn.prixa.net

अछाम - अछाममा उच्च रक्तस्रावका कारण गर्भवती महिलाको ज्यान गएकाे छ । 

अछामको तुर्माखाँद गाउँपालिका-१ रहफ‍की पूर्णकला विकको उच्च रक्तस्रावका कारण ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ । 

बिहीवार राति ८ बजे प्रसव पीडा भएपछि रहफ स्वास्थ्य चौकी लगिए पनि विकको हिजाे बिहान ५ बजे ज्यान गएकाे स्वास्थ्य चौकीकी अनमी गीता लम्सालले जानकारी दिनुभयो ।

घरमा व्यथा लागेपछि विकलाई स्वास्थ्यचौकी लगिएको थियाे । उहाँकाे रक्तस्रावका कारण बच्चा जन्माउन नसक्दा ज्यान गएकाे स्वास्थ्य चौकी रहफले जनाएको छ । भौगोलिक विकटताका कारण समयमै अस्पताल पुर्याउन नसक्दा उहाँको ज्यान गएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिनुभयो ।

यसअघि गम्भीर समस्या भए लगत्तै गर्भवती महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरमार्फत उद्धार गरिँदै आएकाे भए पनि समयमै जानकारी नभएकाले विकलाई बचाउन नसकिएको मल्लले बताउनुभयो ।

अछामकै विकट मानिएको तुर्माखाँद गाउँपालिकाका बस्तीहरुमा यातायातको सुविधाको नभएका कारण पटक पटक यस्ता घटनाहरु ‍दाेहाेरिने गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया