सरकारले बनाएका घरमा बस्नै मान्दैनन् मुक्त हलिया

 असोज १६, २०७८ शनिबार १४:५८:४ | विमल बिष्ट
unn.prixa.net

डोटी – मुक्त हलियाको पुनःस्थापनका लागि पाँच वर्ष पहिले निर्माण गरिएका घरहरुमा अहिले सम्म पनि मुक्त भएका हलियाहरु नबस्दा संरक्षणबिना ती घरहरु भत्किन थालेका छन् । कतिपय घरहरु वर्षातको समयमा पर्ने झरीका कारण जगदेखि नै भत्किइ सकेका छन् भने कतिपय भत्किने अवस्थामा पुगेका छन् ।

जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा मुक्त हलिया पुनःस्थापनाका लागि निर्माण गरिएको मुक्तहलियाको बस्ती मान्छे नबस्दा दिनहुँ खण्डहर हुनुका साथै भत्किँदै गएका हुन् । पुस्तौँदेखि मालिकको घरमा हलो जोतेका १८ परिवार बस्नका लागि सरकारद्वारा स्थापना गरिएको त्यो बस्तीमा निर्माण भएको पाँच वर्ष बितिसक्दा समेत कोही पनि नबस्दा बस्ती खण्डहरमा परिणत हुँदै जान थालेको छ । 

सरकारले निर्माण गरेको त्यो बस्तीमा पानी र बिजुली नहुँदा मुक्त हलिया बस्न नसकेको त्यही सामूहिक बस्तीमा घर भएकी मुक्त हलिया चन्नरी कोलीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “घर बनेर मात्रै हुन्छ, बस्तीमा न बिजुली छ, न त खाने पानी हामी कसरी बस्नु, मान्छे बस्न लाएक ठाउँ त हुनु पर्यो नी ।” 

हलिया बस्ती स्थापनाका लागि विद्यालय, खानेपानी, विद्युत् तथा न्यूनतम विकासका पूर्वाधार हुनपर्ने कार्यविधिमा उल्लेख भए पनि बगलेकको बीच जङ्गलमा बस्ती बसाउँदा समस्या भएको मुक्तहलियाको गुनासो छ । हलियालाई पुनः हलिया नै बनाई राख्नका लागि बगलेकको जङ्लमा बस्ती राख्न प्रपञ्च गरिएको हलिया अभियान्ता गोरखबहादुर सार्कीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “हलिया हुन् भनेर बीच जङ्गलमा राख्ने, हामी पनि मान्छे हाँै नि, मान्छे बस्न लाएक नभएको ठाउँमा को गएर बस्छ ?”

कर्मचारी अभाव भएका कारण जिल्लाभरि मुक्त हलियाका मर्मत तथा निर्माण भएका सबै घरको अनुगमन गर्न नसकिएको घर अनुगमनको जिम्मा पाएको जिल्ला मालपोत कार्यालयका प्रमुख प्रेमबहादुर माझीले बताउनुभयो । 
उहाँले भन्नुभयो, “हलिया बस्तीमा सबै व्यवस्था गर्ने गरी काम दिइएको हो, के कस्तो काम भएको छ, अनुगमन गछौँ र नभएको भए निर्माण गर्न लगाउछौँ ।” 

सरकारले गएको वर्ष नै हलिया पुनःस्थापनाको काम सक्ने बताए पनि प्रभाकारी कार्यान्वयन नहुँदा वास्तविक पुनःस्थापना हुनेमा मुक्त हलियामा शङ्का पैदा गरेको छ । मुक्त हलिया पुनःस्थापना बस्तीमा एक घर पनि मापदण्डअनुसार नबनेका स्थानीयको आरोप छ । बस्तीमा जस्तापाताले छाएका घर भुईंतले मात्र छन् भने उचाइ सात फिटभन्दा तल छ । पूर्वीचौकी गाउँपालिकको बगलेकमा मापदण्डअनुसारका घर नबनेको जानकारी आफूलाई पनि प्राप्त भएको प्रमुख माझीले स्वीकार गर्नुभयो । 

दुई कोठे भवन निर्माणको नक्सा भए पनि सानो आकारको टहराजस्तो घर निर्माण गरेर मुक्त हलियाले अनुदान लिने गरेका छन् । नेपाल सरकारले जग्गा खरीदका लागि दुई लाख रुपैयाँ र घर निर्माणका लागि तीन लाख २५ हजार रुपैयाँ दिएको भए पनि घर निर्माण गर्दा करीब  एक लाख १२ हजार रुपैयाँमात्र खर्च गरेको मुक्त हलिया दीपक कोली बताउनुहुन्छ ।

यस्तै बस्तीमा निर्माण गरिएका घरको झ्याल ढोकासमेत नभएको मुक्त हलिया समाजका पूर्वअध्यक्ष डम्मर विकले आरोप लगाउनुभयो । विसं २०७४ असारमा नमूना हलिया बस्ती निर्माणका लागि अन्तिम तयारी गरेको अवस्थामा आर्थिक चलखेल भएको खबर बाहिरिएपछि जग्गा खरीदका लागि काटिएको ७८ लाख रुपैयाँको चेक कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा जम्मा गरिएको थियो । 

हनुमान हर्टिकल्चर प्रालिको नाममा रहेको उक्त जमीन विसं २०७५ असारमा फेरी १८ जनाले व्यक्तिगत जग्गा खरीद गरेर पास भएको थियो । मुक्तहलिया बस्दै आएको ठाउँबाट एक घण्टाको दूरीमा रहेको उक्त जमीन सुविधा नरहेको जानकारी हुँदाहुँदै पनि किन जमीन खरीद गरियो यो भने रहस्यको विषय बनेको स्थानीयवासीको आरोपछ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ बगलेक र दिपायल सिलगढी नगरपालिका–७ मा मुक्तहलियाका ३० परिवारको पुनःस्थापनाका लागि जग्गा खरीद तथा घर निर्माण गरिएको छ । प्रतिपरिवार पाँच लाख २५ हजार रुपैयाँको लगानी भएको भए पनि हाल उनीहरु पुरानो घरमा बस्दै आएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया