डोटीको शिखरमा १५ शैय्याको अस्पताल निर्माण हुँदै

 असोज १७, २०७८ आइतबार ९:०:३९ | विमल बिष्ट
unn.prixa.net

डाेटी - डोटीको शिखर नगरपालिका–६ तल्कोटमा १५ शैय्याको सुविधा सम्पन्न अस्पताल निर्माण भइरहेको छ । १८ करोड रुपैयाँको लगानीमा अस्पताल निर्माण भइरहेको हो ।

यही वैशाख ८ गते टेन्डर आह्वान भइ काम अगाडि बढाइएको हाे । डाेटीमा काेराेना जोखिम केही कम भएको र निषेधाज्ञा पूर्णरुपमा हटेसँगै अस्पताल निर्माणको कामले तीव्रता पाएको निर्माण कम्पनीले जनाएको छ।

निर्माण सम्झाैताकाे अवधिभित्रै अस्पताल निर्माण गरिसक्ने याेजनासहित काम अगाडि बढाइएकाे कम्पनीका सञ्चालक तेजबहादुर पालले बताउनुभयो ।

 उहाँले भन्नुभयो, 'भवन निर्माणका लागि चाहिने सामग्री सबै पाइएको छ, रोकावट केही छैन, हामी सम्झौतामा उल्लेखित मिति भित्र काम सक्छौँ ।'

वैशाखमा शिलान्याससँगै अस्पताल निर्माणको काम सुरु गरिएको भए पनि कोरोना महामारीले कामदार नपाउँदा कामले गति लिन सकेको थिएन ।

यस अस्पतालको अहिलेसम्म कम्तीमा पनि १५ प्रतिशत काम सम्पन्न भइसकेको शिखर नगरपालिका प्राविधिक शाखा प्रमुख लोकेन्द्र खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, 'काम तीव्र गतिमा अगाडि बढेको छ, महिना दिनमै १५ प्रतिशत काम भएको छ, अब समयमै काम सम्पन्न हुने आशा छ ।'

यस अस्पतालको भवन दुई तलाको हुने उहाँले बताउनु भयाे । निर्माण कम्पनीसँग अस्पताल भवन दुई वर्षभित्रै निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता गरिएको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत पर्मानन्द शर्माले जानकारी दिनुभयो ।

आफ्नै नगरपालिकामा सुविधा सम्पन्न अस्पताल निर्माण हुन थालेपछि स्वास्थ्य सेवा  लिन टाढा जानु नपर्ने भन्दै यहाँका नागरिक निकै खुशी भएका छन् । 

स्थानीय लक्ष्मी मल्ल भन्नुहुन्छ​, 'नगरपालिकाभरिमा अस्पताल नहुँदा सामान्य बिरामी पर्दा पनि दिपायल, राजपुर वा सिलगढीका अस्पताल धाउनु पर्थ्याे। अब घरैमा सुविधा सम्पन्न अस्पताल बन्दैछ, हामी खुशी छौँ ।'

आधारभूत अस्पतालसँगै स्वास्थ्यकर्मी र कर्मचारीका लागि आवास गृह र अन्य संरचनाका लागि स्वास्थ्य मन्त्रालयसँग आह्वान गरिएको नगर स्वास्थ्य शाखा प्रमुख हरिष शाहले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया