कस्तो इतिहास लेख्न चाहनुहुन्थ्यो वीपी ? (भिडियाे सामग्रीसहित)

 असोज १८, २०७८ सोमबार १८:५५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राजनीतिमा सर्वाधिक उचो कद बनाउन सफल नेता विश्वेश्वरप्रसाद काेइराला (वीपी) लाई आफू जीवित छँदै कांग्रेसको इतिहास लेखिसक्ने चाहना थियो । राजनीति र साहित्यमा उत्तिकै योगदान दिएर नेपाल र नेपालीलाई गुन लगाउनुभएका वीपी कांग्रेसको इतिहास लेख्न नपाउँदै बित्नुभयाे । यस्तै धेरै किताब लेख्ने चाहना राख्दा राख्दै वीपीको जीवन सकियो । 

राणा प्रधानमन्त्री चन्द्रशम्शेरले वीपीका पिता कृष्णप्रसाद कोइरालालाई देश निकाला गरेपछि उहाँकाे परिवारले १२ वर्ष भारतमा बिताउनुपर्‍याे । अङ्ग्रेजविरुद्ध महात्मा गान्धीले चलाउनुभएको स्वतन्त्रता आन्दोलनले गति लिइरहँदा वीपीको राजनीतिक प्रशिक्षण सुरु भयो ।

भारत स्वतन्त्र नभएसम्म नेपालबाट राणा शासन हटाउन सकिँदैन भन्ने वीपीको बुझाइ थियाे । स्वतन्त्रता आन्दोलनका क्रममा पक्राउ परि उहाँले तीन वर्ष भारतीय जेलमा बिताउनुभयो । आफू रिहा भएकै दिन वीपीले काठमाण्डाैमा राणा शासकले बन्दी बनाएका पिताजीको मृत्युको खबर सुन्नु पर्‍याे । यो घटनाले उहाँलाई राजनीति गर्न झनै प्रेरित बनायो अनि २००३ सालमा ३२ वर्षको उमेरमै नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरी राणाविरुद्ध आन्दोलनको योजना बनाउनुभयो । राजनीतिक रूपमा विभिन्न उतारचढाव खेप्नुभएका वीपीलाई राजाले प्रजातन्त्र अपहरण गरी आठ वर्ष सुन्दरीजल बन्दी गृहमा नपठाएको भए राजनीतिक व्यस्तता कारण सायद उहाँबाट यति धेरै कृति लेख्न सम्भव थिएन । राजनीतिमा वीपीका नामले परिचित साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाका धेरैजसाे कृति उहाँ सुन्दरीजल बन्दीगृहमा रहँदाकै उपलब्धि हुन् ।

(वीपीले लेख्न चाहेका पुस्तकहरू)

वीपी आफ्नो डायरीमा लेख्नुहुन्छ । (वीपीले लेख्न चाहेका पुस्तकहरूबारे स्वराङ्कन गरिएको)

सेप्टेम्बर १८, १९६२ (२०१९ असोज २)

मैले जीवनका ४८ वर्ष पूरा गरे । तर पनि कुनै विशेष उपलब्धि आर्जन गर्न सकेको छैन । मैले कारागारमा यी पुस्तकहरू लेख्नुछ– 

१९५० को आन्दोलन

शाह

नेपालको इतिहास

समाजवाद

शैलजा

उपन्यास 

सुशीला

विज्ञानमाथि पुस्तक

प्रकाश

कला

श्रीहर्ष

परीकथा 

सशाङ्क र बहिनी

साहित्य

कुन्दन

विश्वको इतिहास

आत्मवृत्तान्त

वीपीका प्रकाशित यी कृतिहरू पाठकले सर्वाधिक रुचाएका किताबको सूचीमा छन् ।

मेरो कथा  

आत्मवृत्तान्त

जेल जर्नल

फेरि सुन्दरीजल

मोदी आईन

नरेन्द्र दाई

हिटलर र यहुदी 

सुम्निमा

दोषी चम्मा

बाबु, आमा र छोरा

श्वेत भैरवी

राणाकालमै वीपी क्यान्सर पीडित हुनुहुन्थ्यो । बम्बईमा उपचार गराएर फर्किएपछिका दिनमा वीपीकाे राजनीतिक सक्रियता यति बढ्यो कि लेखनलाई समय दिनै पाउनुभएन । गृह मन्त्री भएसँगै बढेको राजनीतिक सक्रियता प्रधानमन्त्री भएर अपदस्थ नहुँदासम्म कायमै रह्यो । सुन्दरीजलमा बन्दी हुँदा उहाँले लेखेका प्रायः कृति प्रकाशित छन् ।

२०२५ सालमा सुन्दरीजलबाट छुटेको केही समयपछि नेपालमा बसेर राजनीति गर्न सम्भव नहुने निष्कर्षका साथ उहाँ भारत जानुभयो । आठ वर्ष प्रवासमा रहेर निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्यका लागि सशस्त्र क्रान्ति चलाउनुभयो ।

जहाज अपहरण

ओखलढुङ्गा काण्ड

भारतमा सङ्कटकाल

नेपालमा राजा महेन्द्रको निधन

नयाँ राजा वीरेन्द्रको सत्तारोहण

पूर्वी पाकिस्तानबाट टुक्रिएर स्वतन्त्र बङ्गलादेशको निर्माण

सिक्किमको भारतमा विलय

सन् १९७० को दशकमा सिङ्गो दक्षिण एसियामा फैलिएको राजनीतिक अस्थिरता अनि भारतमा इन्दिरा गान्धीले चलाएको तानाशाही शासनका कारण नेपालको स्वतन्त्रता गुम्ने डरले वीपीलाई चिन्तित बनाइरहेको थियो । तिनै ताका भारत सरकारले नेपाली कांग्रेसका गतिविधिलाई सीमाभन्दा पचास माइल पर सीमित गर्न आदेश दियो । त्यतिमात्र होइन, प्रजातन्त्रका पक्षमा वातावरण बनाउन सकिन्छ कि भनेर प्रवास जानुभएका वीपीलाई कुनै गतिविधि गर्न बन्देज लगाउन थालियो ।

ती दिनयता नेपालको अदालतमा वीपीविरुद्ध जहाज अपहरण गरेको, ओखलढुङ्गा कब्जाका लागि सैन्य दस्ता पठाएको लगायत आठ वटा राजकाज मुद्दा विचाराधीन थिए । सबै मुद्दामा मृत्युदण्ड मागदाबी गरिएको थियो ।

पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकसँगको लामो छलफलपछि वीपी राष्ट्रिय एकता तथा मेलमिलापको नीतिसहित २०३३ साल पुस १६ गते स्वदेश फर्किने निष्कर्षमा पुग्नुभयो । पटनाबाट काठमाण्डाै विमानस्थलमा ओर्लिन नपाउँदै ६ सहकर्मीका साथ वीपीलाई बन्दी बनाइ फेरि सुन्दरीजलमै पुर्‍याइयाे । 

यसरी वीपीले फेरि लेख्ने समय पाउनुभयो । पर्याप्त समय पाए पनि कागज उपलब्ध नगराउने जेल प्रशासनको निर्णयले उहाँलाई झनै चिन्तित बनायो ।

वीपी आफैँले लेख्नुभएको छ । (स्वराङ्कन गरिएको)

सुन्दरीजल

पृष्ठ :४९ 

८ फेब्रुअरी १९७७ (२०३३ माघ २६)

मैले केही सादा कागज मगाए । उनीहरूले छ पन्ना कागज ल्याए । मैले भने मलाई ६ ताउ अर्थात् (६.२४ पन्ना) चाहिन्छ ।

क्याप्टेनले माथिको आदेश सुनायो । सैनिक हेडक्वाटरको विशेष अनुमति विना हामीले लेख्ने कागज पाउने छैनौँ रे । जेल प्रशासनको यस्तो व्यवहार देखेर रिस उठ्छ । लेख्ने कागज पाइनँ भने यहाँ बस्न असह्य हुनेछ । लेख्नलाई पत्रिकाहरू प्रयोग गर्ने गणेशमानजी (जीएम) को सल्लाह छ । पत्रिकाहरू काटेर अभ्यास पुस्तिकाको आकारमा ल्यायौँ । अनि छापिएका पानाका खाली ठाउँमा आफ्नो नोट र विचार लेख्यौँ । सम्भवतः हामीले अब त्यसै गर्नुपर्ने छ ।

९ फेब्रुअरी १९७७ (२०३३ माघ २७)

पढ्ने किताब नभए पनि म आफ्नो जीवनी लेख्न सक्थेँ । नेपालको प्रजातान्त्रिक सङ्घर्षको इतिहास लेख्न सक्थेँ । (५०)

जसमा मैले धेरै सक्रिय र कहिलेकाहीँ त प्रमुख भूमिका निर्वाह गरेको छु । कथाहरू लेख्न अथवा नेपालको समसामयिक, राजनीतिक घटनाका बारेमा उपन्यास लेख्ने प्रयास गर्न सक्थेँ । कागज दिइएन र यदि आफैँले ल्याउन सकेनौँ भने जीवन साँच्चिकै अत्यन्त दुष्कर हुनेछ । यो एकदम हतासाजनक हुनेछ । लेख्नका लागि प्रयोग गर्न भनेर दुई वटा दैनिक पत्रिकाहरू गोर्खापत्र र राइजिङ नेपालका छेउछाउका खाली ठाँउ काटेर राख्न थालेको छु । कागज बचाउनुपर्ने भएकाले साना–साना अक्षरमा लेख्ने गर्छु । यसो गर्दा कागजको धेरै ठाउँ खाँदैन ।

मसँग भएका डटपेनका तीन वटा रिफिल छन् । अहिले प्रयोग गरिरहेको यो कलमसहित एक सिसी मसी पनि छ । यो मसी कति दिनलाई पुग्ने हो थाहा छैन ? (५१)

११ फेब्रुअरी १९७७ (२०३३ माघ २९)

दिउँसो खाजा खाएपछि समय बिताउन साह्रै गाह्रो हुन्छ । एक छिन सुत्न खोजेँ तर सकिनँ । एक्कासी मैले नेपाली कांग्रेसको इतिहास लेख्न सुरु गर्नुपर्छ भन्ने कुरा मनमा आयो । यतातिर लेखकहरूले दिनुपर्ने जति ध्यान दिएकै छैनन् । मैले लेखिनँ भने अरू कसले लेख्छ र ? त्यसपछि उठेँ र लेख्न थालेँ । एक हजार शब्द जति लेखेछु ।

लेख्ने कागज ज्यादै थोरै भएकाले हामीलाई दिइएका पत्रपत्रिकाहरूका एक इञ्च जति चौडा छेउछाउको लामो खाली ठाउँ काटेर रोखेको छु । कागजका यी लामा टुक्रामा नेपाली कांग्रेसको इतिहास लेखिँदैछ । लेख्न भनेर बाथरुममा राखिएका ट्वाइलेट पेपरलाई पनि मिलाएर राख्न थालेको छु । ट्वाइलेट पेपरको चक्का कोठामा ल्याएर अमूल्य वस्तु जस्तै दराजमा मिलाएर राख्न थालेको छु । ट्वाइलेट पेपर एकदम पातलो हुन्छ । यसमा लेख्न मिल्दैन । त्यसमा लेख्न मिले पनि डटपेनले मात्र मिल्ला । लेख्नमा आफूलाई अभ्यस्त बनाउन सके भने दिमाग खलबलाउने खिन्नता हुने छैन । (५४)

कांग्रेसको इतिहास लेख्नुपर्छ भन्ने विचारले मलाई आफ्नो जीवनी लेख्न पनि प्रेरित गरेको छ । सन् १९५०–१९५९ को क्रान्तिका विषयमा एउटा उपन्यास लेख्ने विचार पनि गरेको छु । यी सबै किताब तीन/तीन सय पेजका गरी नौ सय पेजका हुनेछन् । (५४)

वीपी सुन्दरीजल बन्दी गृहमा छँदैको कुरा हो । न्यायाधीश जनकमान श्रेष्ठको अध्यक्षतामा गठित विशेष अदालतमा उहाँमाथिका आठ वटा राजाकाज मुद्दामा सुनुवाइ चलिरहेकै थियो ।

वीपीको स्वास्थ्य बिग्रँदै थियो । उपचारमा संलग्न चिकित्सकहरूले अमेरिका वा बेलायतको कुनै सुविधा सम्पन्न अस्पतालमा उपचार नगराउने हो भने वीपीको ज्यान जान सक्ने वा प्यारालाइसिस हुन सक्ने रिर्पोट राजा वीरेन्द्रलाई दिए । यसरी राजाको आदेशमा उपचारका लागि उहाँलाई रिहा गरी अमेरिका पठाइयो, फर्किएपछि पुनः बन्दी बनाउने सर्तका साथ ।
तीन महिनाको उपचारपछि पटना हुँदै स्वदेश फर्किने बेला वीपीले नेपाली कांग्रेसको सम्मेलन बाेलाउनुभयो र त्यहीँ कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभयो ।

काठमाण्डाै पुग्नासाथ त्रिभुवन विमानस्थलबाटै गिरफ्तार गरी उहाँलाई फेरि बन्दी बनाइयो ।

यसबीच विशेष अदालतले धैरैजसाे मुद्दामा वीपीलाई सफाइ दिइसकेको थियो । २०३६ सालतिर आइपुग्दा विद्यार्थी आन्दोलन चर्किएर गयो । अनि वीपीसँगको परामर्शमा बहुदल र निर्दलमध्ये कुनै एक रोज्ने अधिकार जनतालाई दिने गरी राजा वीरेन्द्रबाट जनमत सङ्ग्रह घोषणा भयो ।

तर पञ्चहरूले धाँधली गरी बहुदल पक्षलाई हराइ दिए । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसहितका आफ्नै सहयात्री, वामपन्थी दल र बाैद्धिक समुदायबाट जनमत सङ्ग्रहको परिणाम अस्वीकार गर्न वीपीमाथि तीव्र दबाब परेको थियो । तर उहाँले जतिसुकै अप्रिय भए पनि मत परिणाम स्वीकार्ने वक्तव्य जारी गरिदिनुभयो ।  

जनमत सङ्ग्रहपछिका दिनमा वीपीको स्वास्थ्य अत्यन्त कमजोर थियो, केवल आत्मबलका भरमा उहाँ बाँचिरहनुभएको थियो । क्यान्सरको अन्तिम आक्रमण फोक्सोमा भएपछि ६ महिनाभित्र मृत्यु हुनसक्ने निदान चिकित्सकहरूले गरिसकेका थिए । त्यही अवस्थामा वीपीले वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँग आफ्नो जीवनी रेकर्ड गराउन थाल्नुभयो । जुन वीपीको आत्मवृत्तान्तका नाममा प्रकाशित छ । बाँकी इतिहास सुनाउन नपाउँदै २०३९ साल साउन ६ गते ६८ वर्षको उमेरमा वीपीको निधन भएसँगै कांग्रेसको इतिहास लेख्ने उहाँको सपना पनि साकार हुन पाएन ।  

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया