कांग्रेस नेता निधि, काेइराला र सिंहकाे निष्कर्ष : ‘मन्त्रिपरिषद्लाई पूर्णता दिन ज्यादै ढिला भइसक्याे’

 असोज १८, २०७८ सोमबार १९:३८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष तहका नेताहरूले नै मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन सुरु गरेका छन् । 

कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशाङ्क कोइराला र नेता प्रकाशमान सिंहले पार्टी, सरकार र सत्तारुढ गठबन्धनबीचको विश्वसनीयतामै ह्रास आएको निष्कर्ष निकाल्दै तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन पार्टी सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवालाई दबाब दिनुभएको हो । 

नयाँ बानेश्वरमा रहेकाे उपसभापति निधिको निवासमा आज साेमवार दिउँसाे बसेको तीन नेताको बैठकले सत्तारुढ गठबन्धन दलका नेताहरूलाई पनि विभिन्न कारण देखाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने काममा ढिलाइ नगर्न सचेत गराउनुभएको छ । सरकार र गठबन्धन दलको विश्वसनीयतामाथि नै प्रश्न उठिसकेकाले छिटो भन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन सरकारलाई आग्रह गरिएको उपसभापति निधिले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आज ८२/८३ दिन भइसक्यो सरकार गठन भएको । हाम्रै पार्टीका नेता शेरबहादुरजीको नेतृत्वमा सरकार छ । तर अहिलेसम्म मन्त्रिमण्डलले पूर्णता प्राप्त गर्न सकेको छैन । याे ज्यादै ढिला भयो । यति ढिलो हुनुहुँदैन भनेर हामीले चिन्ता व्यक्त गरेका छौँ । अब छिटो भन्दा छिटो मन्त्रिमण्डलले पूर्णता पाओस् । गठबन्धनका दलहरू जो छन्, ती दलहरूको कारणले गर्दा ढिलाइ नहोस् ।’

नेताहरूबीच १४ औँ महाधिवेशनमा पार्टी पदाधिकारीमा साझा उम्मेदवारी दिने विषयमा पनि छलफल सुरु भएको छ । त्यसैगरी बैठकले क्रियाशील सदस्यतासम्बन्धी बाँकी चार जिल्लाको विवाद छिटो टुङ्गो लगाएर पार्टीको वडा अधिवेशन, पालिका अधिवेशन र जिल्ला अधिवेशन समयमै सक्न पनि पार्टी सभापति शेरबहादुर देउवासँग माग गरेको छ । पार्टीको १४ औँ महाधिवेशनमा साझा धारणा बनाएर जाने र पदाधिकारीमा साझा उम्मेदवारी दिने विषयमा पनि छलफल सुरु गरिएको उपसभापति निधिले जानकारी दिनुभयो । 

नेपाली कांग्रेसको बारा, रौतहट, सप्तरी र रसुवामा अझै पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुङ्गो लागेको छैन । त्यसमा पनि नेताहरूले चिन्ता व्यक्त गरेका छन् । पार्टीको महाधिवेशन नै प्रभावित हुने गरी अझै क्रियाशील सदस्यतासम्बन्धी विवाद टुङ्गो लागिनसकेकोमा पनि आफूहरूले चिन्ता व्यक्त गर्दै छिटो टुङ्गो लगाउन नेतृत्वको ध्यानाकर्षण गराइएको उपसभापति निधिले बताउनुभयो ।

उपसभापति निधिले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ भने महामन्त्री कोइराला र नेता सिंहले पनि सभापति बन्ने आकाङ्क्षा राख्नुभएको छ । तर उपसभापति निधिले आफूहरूबीच पार्टीको नेतृत्व र नीतिका विषयमा साझा धारणा बनाएर अघि बढ्ने गरी छलफल भइरहेको र त्यो सकारात्मक दिशामा अघि बढिरहेको दाबी गर्नुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया