देशकाे शिक्षा नीति परिवर्तन हुनुपर्छ : अनेरास्ववियु अध्यक्ष बराल

 असोज २१, २०७८ बिहीबार १४:११:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । अध्यक्ष बरालले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षा जीवनोपयोगी नभएको भन्दै विद्यालय तहको शिक्षा जीवनोपयोगी र विश्वविद्यालय तहको शिक्षा विषय विज्ञ उत्पादन गर्ने गरी नीति बनाउनुपर्ने बताउनुभयो ।

आज बिहीवारकाे कुराकानीमा उहाँले पालिकाहरूले आफ्नो स्रोत र साधन प्रयोग गरी स्थानीय आवश्यकतालाई ध्यान दिइ विषय बनाउनुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयको शैक्षिक क्यालेन्डरलाई चुस्त/दुरुस्त बनाउँदै उहाँले प्रविधिमैत्री विश्वविद्यालय बनाउनुपर्ने आवश्यकता रहेको पनि उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष बरालले भन्नुभयो , ‘अब हामीले हाम्रा नीतिहरूमा परिवर्तन गर्नुपर्छ । राष्ट्रिय शिक्षा नीतिअनुसारका विश्वविद्यालयमा भएका कार्यक्रमहरू छन् । १२ कक्षा अध्ययन सकेर बाहिर आएको विद्यार्थी आफ्नो जीवन बाँच्न सक्ने विश्वासका साथ निस्किन्छ कि निस्किँदैन हाम्रो सबैभन्दा ठूलो चुनौतीको विषय यो हो । आफ्नो स्थानीय स्रोत, साधन झल्किने गरी पालिकाले शैक्षिक नीति निर्माण गर्नुपर्छ । शैक्षिक क्यालेन्डरलाई चुस्त दुरुस्त बनाउँदै विद्यालय शिक्षा जीवनोपयोगी शिक्षा र विश्वविद्यालय शिक्षा विज्ञ उत्पादन बनाउने शिक्षा बनाउनु चुनौती र आवश्यकता बनेको छ । शिक्षा क्षेत्रमा बजेट बढाउनुपर्छ । विश्वविद्यालयहरूलाई प्रविधिमैत्री बनाउनुपर्छ ।’

उहाँले विद्यार्थी सङ्गठनहरूले काम गर्ने शैली परिवर्तन गर्नुपर्ने बताउनुभयो । समय फेरिएको उल्लेख गर्दै उहाँले परिवर्तित समयानुकूल सङ्गठनले भूमिका र कार्यशैली बदल्नुपर्ने बताउनुभयो । पछिल्ला दिनमा राष्ट्रिय राजनीतिमा देखा परेका उतारचढावका कारण विद्यार्थी सङ्गठनहरू ओझेल परेजस्तो देखिएको भन्दै उहाँले अब भने सङ्गठनको कामलाई व्यवस्थित गरिने बताउनुभयो ।

अध्यक्ष बरालले भन्नुभयो, ‘पछिल्लो चार वर्षयताको राष्ट्रिय राजनीतिको अवस्था, कोभिडको समस्याको कारणले विद्यार्थी सङ्गठनहरू कतै अलमलिए कि भन्ने कुरा स्वाभाविक छ । किनकि हामी आफैँले चित्त बुझ्ने गरी भूमिका निर्वाह गर्न सकेका छैनौँ । तर अब विद्यार्थी सङ्गठनको मुख्य कार्यक्षेत्र भनेको शैक्षिक संस्था, विद्यालय, विश्वविद्यालय नै हो । कहीँ कतै अलमलिए जस्ताे भएको हाम्रो साङ्गठनिक संरचना, जीवन र कामहरूलाई व्यवस्थित गर्दै अगाडि जानुपर्नेछ ।’  

अन्तिम अपडेट: भदौ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया