बढी भाडा लिन खोज्ने नौ बिचौलिया पक्राउ

 असोज २१, २०७८ बिहिबार २०:२६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैबाहिर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा लिन खोज्ने नौ बिचौलियालाई आज बिहीवार ट्राफिक प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा चितवनको भरतपुर घर भएका ३८ वर्षीय समीर श्रेष्ठ, धनकुटाका ३० वर्षीय किरण लिम्बू र सुनसरीका २८ वर्षीय सविन राई रहेका छन् । त्यस्तै टिकट काउन्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ गर्ने काठमाण्डाैका ४६ वर्षीय राज ठकुरी, दाङ घोराहीका २९ वर्षीय विशाल गुरुङ र कैलालीका रमेश कठायतलाई काठमाण्डाैकाे गोङ्गबुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाइएको महाशाखाले जनाएको छ । त्यसैगरी काठमाण्डाैकाे कलङ्कीबाट ३९ वर्षीय नवीन केसी, बल्खुबाट शुभयात्री काउन्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भइ कीर्तिपुर बस्ने नारायणी काउन्टरका विनोद रानालाई समेत पक्राउ गरी कारबाहीका लागि प्रहरी वृत्त कालीमाटीमा पठाइएकाे महाशाखाले जनाएको छ ।

चाडबाडमा हुने ठगीलाई ध्यानमा राखेर महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा परिचालित टोलीले उपत्यकाको विभिन्न क्षेत्रमा गरेको जाँच अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको १४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुलाई परेका समस्या समाधान गर्दै आएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया