पर्यटकीय स्थल सौराहाका होटल भरिभराउ

 कात्तिक २, २०७८ मंगलबार १२:२४:३५ | रासस
unn.prixa.net

चितवन – दशैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । कोभिडका कारण लामो समय घुमफिरमा निस्कन नसकेका आन्तरिक पर्यटक आएसँगै होटल भरिभराउ भएका हुन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो देशका पर्यटक पनि आएका छन् ।

दशैँको फूलपातीको दिनयता अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीहरूले बताएका छन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार नवमी, दशमी र एकादशीका दिन सौराहाका होटल सतप्रतिशत भरिएका थिए । ती दिनमा कतिपय पर्यटकले राम्रा होटल नपाएपछि फर्किनु परेको थियो । फूलपाती र अष्टमीका दिनमा पनि ६५ प्रतिशतभन्दा बढी होटलका कोठा भरिएको उहाँले बताउनुभयो ।

कतिपय होटल फूलपाती यता पूर्णिमासम्म पूर्णरुपमा बुकिङ भएका छन् । भट्टराईले भन्नुभयो, “१० प्रतिशत हाराहारी भारतीय पर्यटक छन् भने केही तेस्रो मुलुकका छन् । बाँकी सबै नेपाली हुन् ।” होटल जङ्गल क्राउनका प्रमुख कार्यकारी निर्देशक सन्तोष गिरीका अनुसार उहाँको होटल फूलपाती यता पूर्णिमासम्म सबै कोठा बुकिङ भएका छन् । होटलमा ४० कोठा छन् । उहाँले भन्नुभयो “अहिले १०० कोठा भएको भए पनि खाली हुने अवस्था थिएन ।” नेपालीसँगै भारतीय, युरोपेली र इजरायली पर्यटक रहेको उहाँले जानकारी दिनुभयो ।

काठमाण्डाै, पोखरा र पूर्वी नेपालका धेरै पर्यटक आफ्नो होटलमा आएको उहाँको भनाइ छ । होटलमा कोठा खाली नभएपछि धेरै पाहुनालाई अन्य होटलमा पठाउनु परेको उहाँले बताउनुभयो । अहिले पनि सामाजिक सञ्जालमार्फत थुप्रै पाहुनाले पठाएका सन्देशको उत्तर आफूले दिन नभ्याएको गिरीले बताउनुभयो ।

जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे लकडाउनको समयमा समेत विभिन्न प्याकेज सार्वजनिक गरेर होटल बुकिङ गराउनेमध्येका एक हुनुहुन्छ । यो समयमा उहाँलाई पाहुनाका लागि कोठा पुर्याउन मुस्किल पर्यो । उहाँले भन्नुभयो “विगतका वर्षको तुलनामा यसवर्ष दसैँमा सौराहाको पर्यटन व्यवसाय निकै राम्रो रह्यो ।”

अप्रत्यासित रुपमा पर्यटक सौराहा आएको भन्दै उहाँले व्यवस्थापन नै कठिन भएको बताउनुभयो । क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्षसमेत रहनु भएका घिमिरेको भनाइमा अबका दिनमा पनि पर्यटकको सङ्ख्या आशातित रुपमा वृद्धि हुने छ । आउँदा केही दिनसम्मका लागि धेरै होटलमा पर्यटकको बुकिङ छ । सौराहाका एक सय १० पर्यटकीय होटलमा पाँच हजार पाँच सय बेड रहेका छन् ।

क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलियाले आन्तरिक र बाह्य पर्यटकले यो वर्षको दसैँमा सौराहा भरिएको बताउनुभयो । युनिक वाइल्ड रिसोर्टका सञ्चालकसमेत रहनु भएका थपलिया विगत वर्षको भन्दा यसवर्षको दसैँमा आफ्नो होटलमा पाहुनाको चाप बढेको बताउनुहुन्छ ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधिका लागि देशका विभिन्न क्षेत्रबाट पर्यटक यहाँ आएको उहाँको भनाइ छ । कतिपय घुम्नका लागि आएको र कतिपयले टीका लगाउनका लागि चितवन र छिमेकी जिल्ला आउँदा सौराहा आएको थपलिया बताउनुहुन्छ । उहाँले भन्नुभयो “अबका दिन विगत जस्तो हुँदैन भन्नेमा हामी आशावादी छौँ ।”

होटलहरुमा पर्यटक भरिएसँगै रेष्टुरेन्टहरू पनि पर्यटकले भरिभराउ हुने गरेका छन् । सौराहाको राप्ती किनारमा धेरै रेष्टुरेन्टहरू छन् । यससँगै अन्य विभिन्न क्षेत्रमा पनि पर्यटकलाई लक्षित गरी रेष्टुरेन्ट बनाइएका छन् । रेन्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) का अध्यक्ष दीपेन्द्र खतिवडा दशैँको टीकाको दिन राप्ती किनारमा एक हजारभन्दा बढी पर्यटक आएको अनुमान गरेको बताउनुहुन्छ । तस्बिर लिनेदेखि त्यहाँका रेष्टुरेन्टमा खाएर रमाउनेहरू नदी किनारमा आएका थिए ।

टीका लगाउन आएकाको चहलपहलले होटलसँगै रेष्टुरेन्ट भरिएको उहाँको भनाइ छ । सनसेट भ्यू रेष्टुरेन्टका सञ्चालक खतिवडा दशैँसँगै सौराहामा सकारात्मक सन्देश प्रवाह भएको बताउनुहुन्छ । चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा निकुञ्जमा रमाउनका लागि आन्तरिक र बाह्य पर्यटक आउने गर्दछन् । विगत दुई वर्षयता कोराेनाका कारण थला परेको यहाँको व्यवसाय दशैँसँगै चलायमान भएको हो ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया