बाढी पहिरोमा परेर १६ जनाको ज्यान गएको पुष्टि, उद्धारमा कठिनाइ

 कात्तिक ३, २०७८ बुधबार ८:३४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ​आइतबारदेखिको वर्षाका कारण आएको बाढी पहिरोमा परेर १६ जनाको ज्यान गएको गृह मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयकाअनुसार धनकुटामा ६, पाँचथरमा ४ इलाम र डोटीमा २, कालिकोट र डडेल्धुरामा एक/एक जनाको ज्यान गएको छ ।

बाढी पहिरोमा परेर केही हराइरहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । यस्तै लगातारको  वर्षापछि पहिरोले ४ वटा घर पूर्ण रुपमा भत्किएका छन् । झण्डै पाँच सय परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।

यस्तै, पहिरोमा परेर हुम्लाको खार्पुनाथ–५ खर्पेल गाउँमा ६ जना पुरिएका छन् ।​खर्पेल गाउँमा रहेको बिचदउडामा रहेको धनबिरे शाहीको घर पहिरोले पुरिएको हो । हिजो रातिको समय भएकाले उद्धार हुन नसकेपछि अहिले बिहानदेखि खोजी कार्य सुरु गर्ने तयारी भएको छ । खोजी कार्यका लागि नेपाली सेनासहित सुरक्षाकर्मी खटाइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले उज्यालोलाई जानकारी दिनुभयो । 

उद्धारमा कठिनाइ

लगातारको बाढी पहिरोका कारण धेरै ठाउँमा सञ्चार र विद्युत् सेवा ठप्प  भएको छ । यसले गर्दा सूचना आदानप्रदान र उद्धारमा कठिनाइ भएको गृह मन्त्रालयले जनाएको छ । निरन्तरको वर्षाले सडक, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक सेवा प्रभावित भएका छन् । सुदूरपश्चिम र प्रदेश एकमा अत्यावश्यक सेवाका पूर्वाधारमा धेरै क्षति भएको छ । पाँच मुख्य राजमार्गसहित ९ वटा सडक अवरुद्ध छन् । सुदूरपश्चिमका कैलाली, बझाङ, बाजुरा, डोटी, अछाम, दार्चुला, बैतडीमा विद्युत् र सञ्चार सेवा पूर्ण रुपमा ठप्प छ । अत्तरिया–चमेलिया १३२ केभी प्रसारण लाइन र अन्य ३३ तथा ११ केभी लाइनमा क्षति पुगेको छ । यसबाट दार्चुलामा सञ्चालन रहेको ३० मेगावाटको चमेलियालगायतका जलविद्युत् आयोजनाको विद्युत उत्पादनसमेत बन्द भएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा पनि अवरुद्ध भएको नेपाल टेलिकम सुदूरपश्चिम क्षेत्रीय निर्देशनालयले जनाएको छ ।

यस्तै सुनसरीको दुहबीमा रहेको सबस्टेसन डुबानमा परेपछि प्रदेश एकमा विद्युत् आपूर्ति ठप्प छ । हिजो बेलुकादेखि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको विद्युत प्राधिकरणले जनाएको छ । दुहबी सबस्टेसन बन्द हुँदा काबेली करिडोर १३२ केभी प्रसारण लाइन पनि बन्द भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

उद्धार र राहतलाई प्रभावकारी बनाइने 

गृह मन्त्रालयले प्रभावित जिल्लामा खोज उद्धार तथा राहत वितरणलाई सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा गृह सचिवसहित चार वटै सुरक्षा निकायका प्रमुखको बैठकले खोज उद्धार तथा राहत वितरणलाई सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार  जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर राहत तथा उद्धारका काम हुनेछ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया