व्यङ्ग्य : मौसमी वर्षाको मौसमी मायाजालमा धानको घान, दोष मान्छेकै !

 कात्तिक ६, २०७८ शनिबार ९:३७:५३ | मिलन तिमिल्सिना
unn.prixa.net

यसपालि दशैँ अघि र पछि सानोतिनो हैन, ठूलै अचम्म हुन गयो । वर्षा नसकिँदै दशैँ आयो, दशैँ सकिन पाएको थिएन, वर्षा फर्की हाल्यो । खेतमा भित्र्याउन ठिक्क पारेको धान पानीमा पौडी खेल्न थाल्यो । घरगोठ उफ्रिए, उछिट्टिए र भत्किएर बाढी पहिरोमा हराए । दशैँको रमझममा रमाउँदै गरेकालाई बिल्लीबाठ बनायो । दशैँ समेत राम्रोसँग मनाउन नदिने झरीलाई सराप्दै मान्छेहरुले भने : बेमौसमी पानी पारेर मौसमले धोका दियो, मौसम बेइमानी भयो ।

मान्छेले मान्छेलाई नै गाली र सराप दिएको भए त्यति गम्भीर हुँदैन थियो । गाली गर्नु र गाली खानु मान्छेका लागि सामान्य हो । तर मौसमले आफूमाथिको गाली र सरापलाई गम्भीर रुपमा लियो । यसपालि भएको चाहिँ के हो त ? कात्तिके झरी मौसमी हो कि बेमौसमी ? धनजनको क्षति हुनुमा मान्छे दोषी कि मौसम ? यसबारे मौसमले गम्भीर रुपमा समीक्षा गर्यो । विभिन्न तथ्य, प्रमाण र साक्षी सबुतसहित समीक्षा गरेपछि मौसमले ठहर गर्यो : यसपालि धनजनसँगै धानको नोक्सानी हुनुमा मौसमको होइन, मान्छेको दोष छ । बेमौसमी बाजा र डमरु बजाउँदै हिँड्ने मान्छेले समेत झरी र बादललाई बेमौसमी भन्नु गलत भएको मौसमको ठहर छ । 

मौसमलाई अचम्म लागेको छ कि बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्नुपर्ने बेलामा समेत नेता हुँ भन्ने मान्छेहरु आरोप प्रत्यारोपमै व्यस्त छन् । प्रदेशतिर झनै भाँडभैलो छ । कुर्सी एउटा छ, त्यो कुर्सीमा बसेकालाई खसाल्न धेरैथरी हानथापमा व्यस्त छन् । नेता हुँ भन्ने मान्छे आफ्नो ताल र राग मिल्ने बेमौसमी बाजा बजाउँछन्, उल्टै झरीलाई बेमौसमी भन्छन् । यिनलाई नागरिकको पीडा र व्यथामा कुनै मतलब छैन । मतलबी मान्छेहरुकै कारण बेला न कुबेला पानी पर्ने गरेको र धनजनको क्षति भएको मौसमको निष्कर्ष छ । मौसमले गरेको समीक्षाअनुसार मान्छे दोषी हुनुको प्रमाण र कारण यस्तो छ :

यसपालि कोरोनाले पनि साथ दियो भन्दै मान्छेहरु दशैँ मनाउन मस्त थिए । मान्छेलाई जस्तो मौसमलाई दशैँ लाग्ने कुरो पनि भएन । त्यसमाथि मान्छेले नै उखान बनाएका छन्: माया र मौसमको भर हुँदैन । मायामा धोका खाने मान्छेलाई थाहा हुनुपर्ने हो– मौसमले पनि बेलामौकामा धोका दिन सक्छ । मनसुन सकियो भन्दैमा पानी नपर्ने पनि होइन । कुनै न कुनै बेला समुद्रबाट उठेको बाफ बादल बनेर हिँड्ने क्रममा पानी पर्नसक्छ । पानी पर्छ भन्ने कुरा मौसमविद्ले पहिल्यै भन्छन् पनि । यसपालि पनि मौसमविद्ले पानी पर्छ भनेर दुई दिन पहिले नै भनेका थिए । रेडियो, टिभी र अनलाइनहरुमा पनि पानी पर्छ भन्ने कुरा आएकै थियो ।

 तर दशैँमा मान्छेहरुले रेडियो त्यति सुनेनन् । टेलिभिजन र अनलाइन पनि हेरेनन् । सबैलाई टिकटक बनाउन र टिकटक हेर्नमै भ्याइनभ्याइ भयो । टिकटकमा हेर्न मिल्ने, नमिल्ने कुरा राख्नेहरुले पानी पर्छ भन्ने कुरा राखेनन् । त्यसैले टिकटक हेर्नेले पानी पर्दैछ भन्ने कुरा थाहा पाएनन् ।

थाहा पाउनेहरुले पनि वास्ता गरेनन् । पहिलेपहिले मौसमविद्ले भन्थे एकथोक, तर हुन्थ्यो अर्कैथोक । कतिपय बेला त मौसमविद् आफैं पनि झुक्किएका थिए । पानी पर्दैन भनेर छाता नबोकी हिँड्दा मुसो रुझे झैं रुझेका मौसमविद्सित त धेरैपल्ट हाइहलो नै गरियो । तर मौसम सज्जन भएर हो वा मौसमविद् गम्भीर भएर हो हिजोआज मौसमको भविष्यवाणी धेरै मिल्न थालेको छ । 

यसपालि मान्छेहरु दशैँ मनाउन व्यस्त भएका बेला मौसमविद्ले दुई दिन अगाडि नै भविष्यवाणी गरे : पर्सिदेखि पानी पर्छ, कृषिको काम गर्दा र घुमफिरमा निस्कदा ख्याल गर्नू । मौसमविद्ले भविष्यवाणी गरेको यो कुरा गृह मन्त्रालयले सम्बन्धित निकायसम्म, कृषि मन्त्रालयले मातहतका निकायमार्फत किसानसम्म र पर्यटन मन्त्रालयले उसैगरी घुमफिरमा निस्कनेहरुसम्म पुर्याउनुपर्ने थियो । तर कार्यालयमा त काम नगर्ने कर्मचारी दशैँ बिदामा म्यारिज खेल्न छाडेर किन काम गर्थे ? दशैँ बिदामा रहेका सरकारी निकायका जिम्मेवार मान्छेहरु घरमै मासुभात खान र म्यारिज खेल्न व्यस्त भए । त्यसैले, पानी पर्दैछ भन्ने कुरा उनीहरु आफैँलाई पनि थाहा भएन । नतिजा के भयो भने, पानी पर्दैछ भन्ने कुरा आफ्नै परिवारका मान्छेले पनि थाहा पाएनन् । कतिपय घर पुगेको बेला धान काट्न सघाउनुपर्यो भनेर खेतमा पसे । पानी पर्दैछ भनेर अरुलाई धान नकाट्न सुझाव दिनुपर्ने सरकारी कर्मचारी समेत बाढीले धान बगाएको रमिता हेर्न थाले ।

मौसमविद्ले पनि पानी पर्दैछ भन्ने भविष्यवाणी आफ्नो कार्यालयको वेबसाइटमा राखिदिएपछि आफ्नो धर्म पूरा भएको ठाने । रातदिन खेतमै हुने किसानलाई इन्टरनेट र एसएमएस हेर्ने फुर्सद र पहुँच हुन्छ/हुँदैन भनेर ख्याल गरेनन्। मौसमविद्लाई पानी पर्छ भन्ने थाहा भयो, तर किसानलाई पत्तो भएन । 

पानी पर्दैछ भन्ने सुनेकाहरुले पनि मौसमविद्को कुरा सजिलोसित पत्याएनन् । मनसुन सकिनेबित्तिकै टन्टलापुर घाम लागेको छ, गर्मीले उखरमाउलो भइरहेको छ, आकाशमा कहीँ कतै एक टुक्रो बादल देखिँदैन । यस्तो बेला मौसमविद्ले पानी पर्छ भन्दा कसरी विश्वास गर्नु ! दशैँका बेला मौसमको मस्ताना रुप देखेर मौसमविद्ले दारुको रमरममा भविष्यवाणी गरेका होलान् भन्ने धेरैलाई लाग्यो । किनकि, नेपालका मौसमविद्को भविष्यवाणीमा नेपालीलाई न पहिले विश्वास थियो, न अहिले । पहिले पनि पानी पर्छ भनेको दिन घाम लाग्थ्यो, घाम लाग्छ भनेको दिन पानी पर्थ्यो । यसपालि मौसमविद्ले घाम लाग्छ नभने पनि घाम लाग्यो, अब पानी पर्छ भनेका छन्, उनीहरुले पानी पर्छ भनेपछि पनि घाम नै लागिरहन्छ भन्ने धेरैलाई लाग्यो ।

पानी पर्छ भन्ने थाहा पाएकालाई मौसमविद्को भर लागेन, थाहा नपाएकालाई यसै पनि पानीको डर भएन । दशैँ मान्न छोराबुहारी घर आएको मौका छोपेर सबै धान खेतमा पसे । पाकेको धान काटेर खेतमा निहिन हाले । धान काटेको दिन टन्टलापुर घाम लागेको छ, झार्ने दिन पनि यसैगरी घाम लाग्छ भन्ने सबैलाई लाग्यो । तर मान्छेकै माया त सधैँ उस्तै हुँदैन भने मौसमको के भर ? अघिल्लो दिन टन्टलापुर घाममा धान काट्नेहरुले सोचेजस्तो भएन । यसपालि मौसमविद्ले भनेको कुरा मिल्यो । बिस्तारै बादल मडारिन थाल्यो । घाम हरायो, पानी बर्सियाे । हेर्दाहेर्दै खेत ओलीले कल्पना गरेको पानीजहाज दौडन लायकको समुद्र भयो । पाकेर काटेको धान कतै बग्यो, कतै पौडी खेलेर तैरियो।

मौसम भविष्यवाणी मेल खान थाल्यो, तर भविष्यवाणीलाई ख्याल गर्दै काम गर्न तालमेल पुगेन । किसानका लागि काम गर्नुपर्ने नेता र सरकारी मान्छे निदाएर बसे । यसपालि यी मान्छेहरुकै कारण जन र धनसँगै धानको नोक्सानी भयो। 

अर्को मान्छेहरुकै कारण जलवायु परिवर्तन भइरहेको छ, जलवायु परिवर्तनले जुनसुकै बेला पनि पानी पर्न सक्छ । मान्छेका गतिविधिले बेला न कुबेला पानी पार्नु मौसमको बाध्यता हो । मौसम बद्ली गराउन बाध्य पार्ने मान्छेले मौसमी गतिविधि बुझेर काम गर्नुपर्छ । आफैं बेमौसमी कुरा र काम गर्ने, अनि मौसमलाई बेमौसमी भनेर गाली गर्न पाइँदैन ।

अन्तिम अपडेट: मंसिर १९, २०७८

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया