दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डौ - काठमाण्डौसहित केही जिल्लामा स्क्रब टाइफस र डेङ्गीका बिरामी बढेका छन् ।
काठमाण्डौ, पाल्पा, गुल्मी, अर्घाखाँची लगायतका जिल्लामा स्क्रब टाइफस र डेङ्गीका बिरामी बढ्दै गएका डाक्टरले बताएका छन् ।
दुवै रोगको लक्षण कोरोनाको लक्षणसँग मिल्दोजुल्दो हुने सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुनले बताउनुभयो । उपत्यकाका विभिन्न अस्पतालहरुमा उपचारका लागि जानेहरुमध्ये तीन देखि चार प्रतिशत डेङ्गी र स्क्रब टाइफसका बिरामी हुने गरेका सम्बन्धित अस्पतालहरुले जनाएका उहाँले बताउनुभयो ।
उहाँका अनुसार तुलनात्मक रुपमा यो सङ्ख्या दशैँ अगाडि भन्दा केही बढी हो । स्क्रब टाइफस र डेङ्गीबाट विशेष गरी बालबालिका धेरै प्रभावित भएका छन् । बालबालिकाहरु घर बाहिर झार भएका ठाउँमा खेल्दा किराले टोके पनि वास्ता नगर्ने र थाहा पाइहाले पनि धपाउन नसक्ने भएकाले बालबालिका धेरै सङ्क्रमित भएका हुन सक्ने डाक्टरहरुले बताएका छन् ।
डेङ्गीको तुलनामा स्क्रब टाइफस भएका बालबालिका धेरै भेटिएको छ । मुसामा पाइने माइट नामक परजीवीको टोकाइबाट मानिसमा स्क्रब टाइफस रोग सर्छ । स्क्रब टाइफस सङ्क्रमणका बिरामीलाई टाउको तथा मांसपेशी दुख्ने, ज्वरो आउने, पखाला लाग्ने, परजीवीले टोकेको ठाउँमा घाउ देखिनेलगायतका लक्षण देखा पर्छ ।
डेङ्गी दिउँसो सक्रिय हुने एडिस जातको लामखुट्टेले टोकेमा हुने गर्छ । डेङ्गीको लक्षण पनि उच्च ज्वरो, शरीर दुख्ने नै हुन्छ । स्क्रब टाइफस मनसुनको समयमा देखिने भए पनि त्यसकै निरन्तरता भएको हुन सक्ने र डेङ्गी देखिने समय सुरु भएकाले बढ्न थालेका हुन सक्ने डा पुनले बताउनुभयो ।
खेतबारीमा काम गर्दा, वनजङ्गल वा झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाक्ने कपडा लगाउने, सम्भव भएसम्म लामो जुत्ता लगाउने, घाँसबारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, चउर, बारी, झाडी, घाँस तथा घुरान बढ्न नदिने र मुसा नियन्त्रणका उपायहरु अपनाउन सके डेङ्गी तथा स्क्रब टाइफसबाट बच्न सकिने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।