वाग्मती सरकारद्वारा समाजवाद कार्यक्रम स्वीकृत

 कात्तिक १०, २०७८ बुधबार ११:६:८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती सरकारले समाजवाद कार्यक्रम स्वीकृत गरेकाे छ । प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको नेतृत्वको सरकारले प्रारम्भिक सुशासन तथा समाजवाद उन्मुख कार्यक्रम स्वीकृत गरेको हाे । 

मुख्यमन्त्री शाक्यको अध्यक्षतामा प्रदेश नीति तथा योजना आयोगको पूर्ण बैठकले कार्यक्रम स्वीकृत गरेको हो । प्रदेशका निवर्तमान उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले गएकाे वर्ष देखि थालनी गरेको र अगाडि सारेको कार्यक्रममा हाल केही परिमार्जित गरी स्विकृत गरेको मुख्यमन्त्री शाक्यका निजी सचिव नवराज पुडासैनीले बताउनुभयो ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर जगत बस्नेत, आयोगका सदस्यहरु, प्रमुख सचिव किरणराज शर्मा लगायतकाे पूर्ण बैठकले समाजवाद कार्यक्रमको स्वीकृत गरेको हो ।

“सुखी नेपाली, समृद्ध नेपाल” भन्ने दिर्घकालीन सोच, दिगो विकासको लक्ष्यमा पुग्न प्रदेश सरकारले प्रथम आवधिक योजना कार्यान्वयन गरिरहेको जनाएकाे छ । समावेशीकरण, लैङ्गिक समता, समाजिक विभेद तथा वञ्चितिको अन्त्य, विकासमा पछाडि परेको समुदायलाई लक्षित कार्यक्रम तयार गर्न वाग्मती प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गरीरहेको छ ।​

उत्पादनमुखी अर्थतन्त्र, विकास तथा अवसरमा समान सहभागिता, श्रोतको समुचित परिचालन गरी युवा, सीमान्तकृत समुदाय, दलित तथा महिला केन्द्रित रहि चालु आर्थिक वर्षमा प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट तर्जुमा गरेको छ । तर्जुमा भएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन, लक्षित समुदायको सहभागिताको सुनिश्चितता, सुशासन, छिटो, सरल तथा सहज सेवा प्रवाह गर्दै उत्पादनको वृद्धिबाट सीमान्तकृत वर्ग र समुदायलाई लक्षित गरी जनजीविकामा गुणस्तरीय प्रभावका लागि यो कार्यक्रम तर्जुमा गरिएको छ ।

प्रदेश सरकारबाट सम्पादन भएका योजनाहरुको अनुगमन कार्यलाई प्रभावकारी बनाउन मुख्यमन्त्री कार्यालयका सचिव तथा सम्बन्धित मन्त्रालयका १/१ जना अधिकृत र महाशाखा प्रमुखको टिम बनाइ सबै मन्त्रालयको विकास कामको प्रभावकारिता अनुगमन गर्ने कार्यक्रममा उल्लेख छ । 

समाजवाद उन्मुख कार्यक्रम अन्तर्गत उत्पादनमा सीमान्तकृत वर्ग र समुदायको सहभागितामूलक कार्यक्रम, शिक्षा-स्वास्थसेवा र रोजगारीमा पहुँचवृद्धि कार्यक्रम, सेवा सुविधामा पहुँच कार्यक्रम, पर्यटन प्रवर्द्धन तथा संस्कृति संरक्षण कार्यक्रम, विपद व्यवस्थापन र विविध कार्यक्रम समावेश गरिएका छन् ।

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया