बौद्ध स्थल रहेका ४ नगरपालिका र स्पेनको काथेरेस नगरबीच भगिनी सम्बन्ध

 कात्तिक १३, २०७८ शनिबार १५:५५:४२ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – स्पेनको काथेरेस नगरसहित रुपन्देही र कपिलवस्तु र नवलपरासीका गरी विभिन्न ४ नगरबीच भगिनी सम्बन्ध कायम भएको छ ।

स्पेन सरकारको काथेरेस नगरपालिका, काथेरेस प्रादेशिक सरकार संस्कृति पर्यटन तथा खेलकुद मन्त्रालय र कपिलवस्तु नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका र रामग्राम नगरपालिकाबीच आज कपिलवस्तुको प्राचीन तिलौराकोट दरवार क्षेत्रमा भगिनी सम्बन्ध स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

शाक्यमुनि बुद्धले २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरवार क्षेत्रमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्पेनको काथेरेस प्रादेशिक सरकारका प्रतिनिधीहरुको रोहवरमा दुवै देशका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । 

कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, लुम्बिनी सांस्कृति नगरपालिकाका प्रमुख मनमोहन चौधरी, देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री र रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले हस्ताक्षर गरेका छन् । त्यसै गरी स्पेन सरकारको काथेरेस नगरपालिकाका प्रमुख, काथेरेस प्रदेश सरकारका प्रतिनिधिहरुले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्पेन र नेपालबीचको सम्बन्ध प्रगाढ बनाउन र दुवै देशबीच आपसी सम्बन्ध, भाइचाराका साथै विकास निर्माणको क्षेत्रमा समेत फड्को मार्न यस्तो भगिनी सम्बन्धले ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको बताउनुभयो ।

स्पेनमा रहेको लुम्बिनी गार्डेन फाउण्डेशनका उपाध्यक्ष गोविन्द सुवेदीको पहलमा नेपालका बौद्धस्थल रहेका ४ नगरपालिका र स्पेनको काथेरेस नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाका लागि प्रयास शुरु भएको हो ।

संसारभर अहिंसा, शान्ति, सद्भाव र भाइचाराको सन्देश प्रवाह गर्ने शान्तिका अग्रदूत गौतमबुद्धको भूमिमा आएर बुद्ध नगरहरुसँग भगिनी सम्बन्ध राख्ने कार्यको शुभारम्भ गर्न पाउँदा आफूहरु निकै खुशी रहेको काथेरेस नगरका प्रमुख, प्रदेश सरकारका प्रतिनिधिहरुले बताएका छन् । 

गौतम बुद्धको जन्मस्थल लुम्बिनी, २९ वर्ष बिताएको क्रिडास्थल कपिलवस्तु, मावली देवदह र अष्ट धातु राखिएको स्थल रामग्राम क्षेत्रको महत्वलाई बुझेर स्पेनको काथेरेस नगरले यी क्षेत्रका ४ नगरहरुसँग भगिनी सम्बन्ध स्थापना गर्न तयार भएको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताको भनाइ छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया