भन्सार छली ल्याएकाे औषधिसहित सङ्खुवासभामा दुई चिनियाँ नागरिक पक्राउ

 कात्तिक १४, २०७८ आइतबार २०:४२:१० | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभामा दुई जना चिनियाँ नागरिक भन्सार छली ल्याएकाे अवैध औषधिसहित पक्राउ परेका छन् । 

चीनको सिचुङ घर भइ हाल सङ्खुवासभामा रुद्राक्ष व्यापार गर्न आएका साङदोङ र उछिनग्लिन नाम गरेका दुई चिनियाँ नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सुभेश अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार, खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा रहेको बुद्ध होटल एन्ड लजमा भन्सार राजस्व छली ल्याएको औषधिसहित उनीहरू पक्राउ परेका हुन् । ‘पीबीओजी’ लेखेको कृषि बालीमा प्रयोग हुने औषधि (रुद्राक्षको बोटमा छर्कने) लुकाइ राखेको भन्ने सूचना पाएपछि विमानस्थलका सुरक्षा गार्ड  र सदरमुकाम खाँदबारीबाट खटिएको संयुक्त टोलीले लजमा छापा मारेको थियो । 
त्याे होटलको कोठा नं. ५०२ मा स्टोर गरी राखेको ३६ बोरा (आठ सय केजी) बराबरको ‘पीबीओजी’ औषधि भेटिएको प्रहरीले जनाएको छ । 

बरामद भएको औषधीसहित ती दुई चिनियाँ नागरिकलाई कारबाहीका लागि राजस्व अनुन्धान कार्यालय इटहरी सुनसरी पठाइएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । 

सङ्खुवासभामा बर्सेनि ठूलो सङ्ख्यामा चिनियाँ नागरिकहरू रुद्राक्ष व्यपारका लागि आउने गरेका छन् । उनीहरूले यहाँबाट बर्सेनि ठूलो मात्रामा रुद्राक्ष चीन लैजाने गर्दछन् ।  

अन्तिम अपडेट: चैत २३, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया