रसुवागढी नाका जोड्ने छोटो दुरीको मैलुङ–स्याफ्रुबेसी सडक स्तरोन्नतिको काम सुरु

 कात्तिक १५, २०७८ सोमबार १७:५२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेसी सडक खण्डको स्तरोन्नतिको काम सुरु भएको छ । बर्खाका कारण तीन महिनासम्म बन्द भएको सडक सञ्चालनमा ल्याइएसँगै स्तरोन्नतिको काम अघि बढेको हो ।  

बाटो फराकिलो बनाउने, पर्खाल लगाउने काम अघि बढाइएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाका प्रमुख मुकुन्दराज अधिकारीले बताउनुभयो । ‘हामीले केही दिन अघिदेखि काम सुरु गरेका थियौँ’, उहाँले भन्नुभयो, ‘तिहारका कारण केही दिन काम रोकिन्छ ।’ तिहारपछि भने कामले गति पाउने उहाँले बताउनुभयो । 

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दुरीको यो सडक खण्डको स्तरोन्नतिको काम गएको तिहारपछि सुरु भएको थियो । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले २०७९ माघमा सम्पन्न गर्ने गरी काम सुरु गरेको हो ।  

‘सडक स्तरोन्नतिको काम निर्धारित समय अगाडि नै सकाउने गरी काम अघि बढाइरहेका छौँ’, सडक योजनाका प्रमुख अधिकारीले भन्नुभयो, ‘यसका लागि हामीले ठेकेदारलाई निर्देशन दिने, ताकेता गर्ने र कामको अनुगमन गरिरहेका छौँ ।’

मैलुङदेखि स्याफ्रुबेसीको दुरी १९ किलोमिटर रहेको छ । २०७५ जेठ ६ गते मैलुङ–स्याफ्रुबेसी सडकको ट्र्याक खोल्ने काम सकिएको थियो । त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि यो सडकको निर्माण गरिएको हो । 

यो सडक बेत्रावती–कालिकास्थान धुन्चे हुँदै स्याफ्रुबेसी जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्याफ्रुबेसी पुग्न ५४ किलोमिटरको दुरी रहेको छ । बेत्रावती मैलुङ–स्याफ्रुबेसीको दुरी २९ किलोमिटर मात्रै छ ।  

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया