कोरोना सङ्क्रमण हुन नदिन तिहारको किनमेल र खानपिन गर्दा ख्याल गरौँ

 कात्तिक १८, २०७८ बिहिबार ८:२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

कोरोना नलागोस् भनेर हामीले मान्छेसँग धेरै घुलमिल नगर्ने । भौतिक दूरी कायम गर्ने । तिहारमा घर जाँदै हो भने मास्कको अनिवार्य प्रयोग गर्ने । 

बसमा चढ्दा जथाभाबी नछुने । बसमा चढ्दा स्यानिटाइजर लगाएर चढ्ने । साथै ओर्लदा पनि स्यानिटाइजर लगाएर ओर्लने । र, घरमा अरु सामानहरु छुने । 

सबैभन्दा राम्रो भनेको यदि तपाईँ तिहारमा घर जाँदै हुनुहुन्छ भने घर पुगेर नुहाएर मात्र घरका अरु सदस्यलाई छुने । 

बजारमा एकदमै भीडभाड हुन्छ । तिहारमा भाइटीकाका लागि धेरै सामान किन्नुपर्ने हुँदा पसलेहरुसँग मास्क नलगाइ धेरै नजिक भएर कुरा नगर्ने । 

दुईवटा मास्क लगायो भने अझ धेरै सुरक्षित हुन्छ । मास्क लगाउँदा नाकको आधा भाग र चिउँडो ढाक्नु पर्छ । मास्क त लगाएको छ तर, चिउँडो भन्दा मुनि छ अथवा नाकको माथि छ र, राम्रोसँग कसिने गरी लगाएको छैन भने त्यसरी मास्क लगाउनु प्रभावकारी हुँदैन । 

यसले मास्क जुन कामको लागि लगाएको हो त्यसको काम मास्कले गर्दैन । मास्क लगाउँदा मास्कले नाकको आधा भाग छोप्नु पर्यो र चिउँडो पनि छोपिनु पर्यो । 

दुई वटा मास्क लगाएर पसल जानु भयो भने तपाईँ अझ सुरक्षित हुनु हुनेछ । 

र, विशेष गरी सामाजिक दूरीको पालना गर्नु पर्यो । पसलेसँग सामान किन्दा वा मोलमोलाई गर्दा अलि टाढा बसेर गर्ने । 

तिहारमा जमघट गर्दा विशेष गरी रुघाखोकी लागेको, जिउ दुखेको मान्छे सहभागी नहुने । यो कुरा हामी सबैले ख्याल गर्नु पर्छ । 

आफ्नै परिवार हो, के हुन्छ भनेर लापरबाही गरेर सबैलाई सार्ने काम नगरौँ । अस्वस्थ मान्छे पारिवारिक जमघट त हो नि भनेर जाने काम गर्दै नगरौँ । 

अस्वस्थ मान्छेले मलाई सञ्चो छैन भनेर भन्दा कर गरेर बोलाउन हुँदैन । परिवारमा रमाइलो हुन्छ भनेर त्यस्ता मान्छेलाई नबोलाउने । आफ्नो स्वास्थ्यको ख्याल गर्ने । 

आफूलाई त दुःख भयो भयो । अरु परिवार तथा प्रियजनलाई दुःख नहोस भनेर त्यस्ता व्यक्ति सकभर आफैँ नजाने । 

रुघाखोकी लागेको मान्छेले बच्चाहरुलाई माया गर्ने, सुम्सुम्याउने, चुप्पा गर्ने गर्नु भएन । बच्चाहरुलाई कोभिड छिटो सर्छ । साथै बच्चाकोमार्फत अरुलाई पनि छिटो सर्ने भएका कारण बच्चाहरुबाट टाढै बस्ने । 

जो मानिसलाई रुघाखोकी वा अन्य यस्ता लक्षण भएका मान्छे सामाजिक जमघटमा नगइदिए कोरोना रोकथाममा धेरै नै मद्दत पुग्छ । 

तिहार भनेपछि भाइटीका अनि नेवारी समुदायमा म्हः पूजा गर्दा सबै परिवार सँगै बसेर गर्ने चलन छ । त्यसकारण कोरोनाको जोखिम भएका कारण यसपटक सबै परिवार सँगै बसेर म्हः पूजा नगर्ने पो हो कि !

अलग अलग बसिरहेको परिवारले यस पटक कोरोनाको जोखिमबाट बच्नको लागि मूल घरमा आएर नगरि अलगै म्ह पूजा गर्दा राम्रो हुन्छ भन्ने मेरो सुझाव छ । 

यदि बाहिर बस्ने दाजुभाइ आएर सँगै म्हः पूजा गर्ने हो भने पनि मास्कको प्रयोग गर्ने । 

‘च्यारिटी बिगिन्स एट होम’ भने जस्तै आफैँले आफै‍ँलाई जोगाउनु पर्यो । अनि पछि अरुलाई जोगाउने हो । त्यसो भयो भने आफू तथा आफन्त र अरु सबै जोगिन सक्छन् । 

सङ्क्रमण घरबाट नै सुरु हुने हो । हामी मात्रै हो भनेर सावधानी अपनाइएन भने जोखिम बढी हुन्छ । त्यसकारण परिवार भनेर पनि हामी धेरै स्वतन्त्र भएर मास्क नलगाइ नबस्ने । 

हामीले परिवारसँग बस्दा पनि मास्कको प्रयोग गरौँ । त्यो पनि उचित ढङ्गले । 

लक्ष्मी पूजाको दिनमा पनि आरती गर्दा हामी सँगै बसेर पूजा आरती गर्ने प्रचलन हुन्छ । त्यसमा पनि अलि टाढा टाढा बसेर गर्दा एकदमै राम्रो । 

कोरोना सर्ने भनेकै हामी नजिकै सँगै बस्दा सर्ने हो । त्यसकारण अलि दूरी कायम गरेर बस्दा एकदमै राम्रो । 

तिहार आयो भनेर हाम्रो एकदमै चिल्लो गुलियो खाने चलन छ मिठो खाने भनेर । कोरोनाले आक्रान्त बनाइ रहेको यस समयमा हामीले खानपानमा पनि ध्यान पुर्याउनु पर्छ । 

हामीले तिहारमा बाँकी रहेको खानेकुरा भोलिपल्ट तथा पर्सिपल्टसम्म पनि खाने गर्छौँ । त्यसो नगरौँ। 

तिहारमा चिल्लो पनि एकदमै धेरै प्रयोग गर्ने हुनाले त्यसो नगरि एकदमै कम चिल्लोको प्रयोग गरौँ । तेल तथा घ्यूको प्रयोग गर्दा राम्रो साथै गुणस्तरीय तेलको प्रयोग गरौँ। 

तेलको अत्याधिक प्रयोग गर्दा शरीरको रासायनिक संरचना नै परिवर्तन हुने हुँदा यसतर्फ ध्यान दिने । साथै कोरोनाको जोखिम कम नहुञ्जेल हामीले अलि त्याग गरेर हामी मिष्ठान्नहरुबाट पनि अलि टाढा बस्नु नै बेस हुन्छ । 

(डा.संगीता शाक्यसँगको कुराकानीमा आधारित कोरोना क्याप्सुल सुन्नुहोस् ।)

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया