छठबाट शुद्धताको पाठ सिकौँ, सुरक्षित भएर छठ मनाऔँ

 कात्तिक २४, २०७८ बुधबार १२:४२:६ | डा. जामुन प्रसाद सिंह
unn.prixa.net

मेरो पहिलो आग्रह गएको वर्ष जसरी पहिले हामीले घरमै छठ पर्व मनाएका थियाैँ त्यसरी नै छठ मनाऔँ।

यदि कसैले घाट बनाएर त्यहाँ सिङ्गारपटार गरिसकेको छ भने घरको कमभन्दा कम व्यक्ति त्यहाँ गएर विधि गरी छिटोभन्दा छिटो ठाउँलाई खाली गरेर पूजा गर्दा राम्रो हुन्छ । घरमा अथवा घाटमा जहाँ गरे पनि सर्जिकल मास्क लगाएर जानु पर्छ। 

छठ पर्व भनेकै शुद्धताको पर्व हो । कोभिडले शुद्धता खोज्छ । हामी घरबाट जलाशयमा जानुभन्दा अघि साबुनपानीले हात धोएर जाने, नभए स्यानिटाइजर हातमा लगाएर तथा मास्क लगाएर जानुपर्छ।

छठ पर्व जलाशयमा मनाइने हुँदा पानीको कमी हुँदैन । त्यसकारण एउटा साबुन लिएर जाने र सकभर घाटमा धेरै समय नबस्ने र बस्नै परे पनि आधा घण्टाको फरकमा साबुन पानीले हात धुने गरौँ । सकेसम्म अलि टाढै बसौँ। भौतिक दूरी कायम गरौँ। 

घाटबाट फर्कँदा पनि मास्क नफुकालिकन तथा साबुन पानीले हात धोएर मात्र फर्कौँ । छठ पर्वको शुद्धतालाई यी कुरामा ध्यान दिने हो भने कोभिड सर्नबाट जोगिन सकिन्छ । कम गर्न सकिन्छ । 

छठ पर्वका लागि बजारबाट किनेर ल्याएको सामान छठ पर्वको नियम अनुसार नै धुनुपर्ने हुन्छ । उखु तथा अदुवाको बोटदेखि लिएर छठ पर्वको लागि किनेर ल्याउने सम्पूर्ण सामान शुद्ध बनाउनका लागि धुनु पर्छ । छठ पर्वका लागि तयार पारिएका मिठाईलाई पनि २४ देखि ४८ घण्टासम्म अलग गरेर राख्यो भने त्यसमा कोभिडको किटाणु छ भने पनि आफैँ हराएर जान्छ । 

यसकारण हामीले बजारबाट ल्याएको सामान सफासँग धोऔँ । र, सकिन्छ भने त्यसलाई एकछिन घाममा पनि सुकाऔँ । 

छठमा अशुद्ध, नधोएको, नपखालेको, ननुहाइकन छोएको कुनै पनि कुरा चल्दैन । छठको सामान राखेको कोठामा छिर्दा पनि हात खुट्टा धोएर मात्र छिर्ने गर्छौँ। छठबाट हामी शुद्धताको पाठ सिकौँ ।

शुद्धता भन्ने बित्तिकै साबुनपानीबाट सुरु हुन्छ । साबुन पानी र हाम्रो बुद्धिको मात्र हामीले प्रयोग गर्ने हो भने कोरोना मात्रै होइन, सयौँभन्दा बढी किसिमका सरुवा रोगहरु हाम्रो परिवारमा रहँदैन । 

जण्डिस, टाइफाइड तथा अन्य धेरै सरुवा रोगहरु छन् । छठ पर्वमा जस्तो शुद्धतालाई र शुद्ध हुने कुरालाई ध्यानमा राख्याैँ यस्ताे सरुवा रोगहरुलाई कसरी भगाउने भन्ने ज्ञान प्राप्त गर्न सकिन्छ ।

(डा.सिंहसँग गरिएको कुराकानीमा आधारित कोरोना क्याप्सुल सुन्नुहोस्।)

अन्तिम अपडेट: बैशाख १२, २०८१

डा. जामुन प्रसाद सिंह

डा. जामुन प्रसाद सिंह जनकपुरको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड युनिट प्रमुख हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया