म्याग्दीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरसहित)

 कात्तिक २८, २०७८ आइतबार १३:५६:२५ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – हिमाली जिल्ला म्याग्दीको ग्रामीण भेगका किसानलाई वर्षे बालीअन्तर्गत लगाइएको धानबाली भित्र्याउने चटारो सुरु भएको छ । चाडपर्व सकिएसँगै म्याग्दीका किसानलाई खासगरी धान काट्न र भित्र्याउन भ्याइनभ्याइ भएको हो । 

म्याग्दीकाे माथिल्लो भेगका किसानले गएको असोज अन्तिम हप्तादेखि नै धानबाली भित्र्याउन सुरु गरेका थिए । ‘मानो खाएर मुरी उब्जाउने’ समयमा आफ्नो खेतमा रोपेको धान, भटमास, बारीमा लगाएको कोदोलगायत खाद्यान्न बाली भित्र्याउने चटारोमा किसानहरु लागेका हुन् । 

अहिले किसानको खेतका गह्राभरि पाकेको पहेँलपुर धानबाली छ भने बारीमा कोदो, गहत र बोडीजस्ता नगदेबाली पाकेका छन् । किसानहरु खासगरी मुख्यबाली धान भित्र्याउने काममा व्यस्त देखिन्छन्। दशैँको सुरुआतदेखि नै किसानहरुले धानबाली भित्र्याउन सुरु गरेका थिए । असोजदेखि मंसिरसम्मको समयमा उनीहरु अत्यन्त व्यस्त हुन्छन् । 

अहिले गाउँघरमा धान काट्ने, उठाउने, कुन्यु लगाउने र दाइँ हाल्नेजस्ता काममा चटाराे भएको बेनी नगरपालिका–५, चिप्लेटीका किसान लालबिर नेपालीले जानकारी दिनुभयो । धानबाली भित्र्याएलगत्तै गहुँ, जौ, तोरी, उवालगायत हिउँदेबाली लगाउने तयारीमा किसानहरु छन् । म्याग्दीको उच्च भेगका किसानहरुले धानबाली भित्र्याएर कोदो काट्ने र गहुँ, जौ, उवा छर्ने गर्दछन् । वर्षाको समयमा लगाएको धानसहित अन्य खाद्यान्न बालीहरु भित्र्याउन लागेको किसान नेपालीले बताउनुभयो । 

किसानहरु धानबाली भित्र्याउन विभिन्न उपायहरु अपनाउँछन् । कोहीले गोरु घुमाएर पराल माड्ने र धान झाँट्ने गर्दछन् भने कतिपयले खुट्टाले (लात्ती दाइँ) गरेर पराल माड्ने र धान चुट्ने गर्छन् । यसपटक कात्तिक महिना सुरु भएदेखि नै किसानहरु आ–आफ्नो टोल छिमेकमा अर्मपर्म गरेर धान भित्र्याउने काममा व्यस्त छन् । चाडपर्व समेत सकिएपछि उनीहरुको व्यस्तता बढेको छ । 

दशैँअघि नै म्याग्दीको माथिल्लो क्षेत्रमा वर्षेबाली भित्र्याउन सुरु भएको थियो । अहिले यहाँको कुहुँ, पुलाचौर, घतान, पात्लेखेत, राखुलगायत क्षेत्रका किसानहरुले धानबाली भित्र्याइसकेका छन् भने जिल्लाको तल्लो भेगमा काम सुरु भएको छ । विगत केही वर्षदेखि  म्याग्दीमा बारीलाई खेत बनाएर धानखेती गर्ने चलन बढ्न थालेको छ भने बारीमा समेत धान रोप्ने गरिएको छ । 

म्याग्दीकाे कुल खेतीयोग्य जमिनको ३ हजार ८ सय ९८ हेक्टरमा धानखेती हुँदै आएको छ । गएको वर्ष म्याग्दीमा जिल्लाभर २ प्रतिशतले धान उत्पादन बढेको थियो । तर यसवर्ष दशैँपछि परेको अविरल वर्षाका कारण धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । जिल्लाको सबै पालिकामा धानखेती हुने म्याग्दीमा गौरिया, गुडुरा, दर्माली, मार्सी, आङा (कालो धान), झिनुवा, ताकमारे, माछापुच्छ्रे–३, लुम्ले–२ लगायत लोकल जातका धानहरु रोप्ने गरिन्छ । 

यसपटक मौसम प्रतिकूल भएर परेको वर्षाले जिल्लाभर कुल २ हजार ३ सय ७६ रोपनीमा लगाइएको धानमा आंशिक क्षति पुगेको अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले बताउनुभयो । उहाँले बेमौसमी वर्षाका कारण सबैभन्दा धेरै धवलागिरि गाउँपालिकाको ११ सय रोपनी क्षेत्रफलमा लगाइएको धान खेतीमा आंशिक क्षति पुगेको जानकारी दिनुभयो ।     

यसैगरी बेनी नगरपालिकामा ५ सय ७६, रघुगङ्गा गाउँपालिकामा २ सय ५०, अन्नपूर्णमा २ सय ५०, मङ्गलामा १ सय ५० र मालिकामा ५० रोपनीको जग्गामा किसानहरुले लगाएको धानबालीमा बेमौसमी वर्षासँगै चलेको हावाहुरीले धान ढलाएर नष्ट गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । गएकाे वर्ष वर्षासँगै बाढीपहिरोले धान खेतमा क्षति पुर्याएकोमा यसपटक भने बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेपछि किसानहरु मर्कामा परेका छन् । 

युवापुस्ता रोजगारी, अवसर र सेवासुविधाको खोजीमा देशविदेश तथा सहर पसेका कारण गाउँमा काम गर्ने क्रममा भने युवा जनशक्तिको अभाव देखिएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया