विमानस्थलमा चार वटा शटल बस सञ्चालन गर्दैछाैँ : मन्त्री आले

 कात्तिक २८, २०७८ आइतबार १४:१३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आन्तरिक र बाह्य विमानस्थलमा शटल बस सेवा सञ्चालन गर्ने बताउनुभएको छ । 

आज आइतवार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठकको समुद्घाटन समारोहमा मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा शटल बस सेवा सञ्चालन गर्ने बताउनुभएको हो । उहाँले यात्रुहरूले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेपछि अब विमानस्थलमा चार वटा शटल बस निःशुल्क सञ्चालन गरिने बताउनुभयो ।

मन्त्री आलेले मजदुरहरूका लागि विमास्थलमा विश्राम घरको निर्माण गर्न निर्देशन दिएको पनि बताउनुभयो । उहाँले भारतीय समकक्षीसँगको भेटमा नेपाललाई भारतलगायत मध्यपूर्व र पश्चिमी देशहरूसँग जोड्ने पश्चिमतर्फको हवाई रुट लिमा–६२६ लाई दुईतर्फी बनाउन पनि आग्रह गरेको बताउनुभयो ।

पर्यटन मन्त्री आलेले भन्नुभयो, ‘यो मन्त्रालयले विगतमा भन्दा अहिले धेरै तीव्रताका साथ काम गरेका छ, विगतमा हरेक मन्त्री आइसकेपछि बुझ्नलाई धेरै समय लगाउनुहुन्थ्यो, तर म आइसकेपछि तीव्रताका साथमा विगतमा एक सय चार दिनदेखि नेपाल एअरलाइन्सको अफिसमा भएको तालाबन्दी खुलाउने काम गरेँ । पीसीआर परीक्षणमा व्यापक अनियमितता भएको कुरा थियो, त्यसलाई मैले नियन्त्रण गरेँ, त्यसपछि जति पनि विदेश जाने हाम्रा श्रमजीवी मजदुरहरूको निमित्त एउटा छुट्टै विश्राम घरको निर्माण गर्ने भनेर मैले निर्देशन दिइसकेको छु । अहिले प्लेनभन्दा ट्याक्सी महँगो भयो भन्ने गुनासो आएको हुनाले अब हामी छिटै आन्तरिक र बाह्य एअरपोर्टमा चार वटा शटल बस सञ्चालन गर्दैछौँ, नेपाल नागरिक उड्डयन प्राधिकरणले निःशुल्क शटल बस सेवा सञ्चालन गर्दैछ । यस्तै अस्ति २६ गते म दिल्ली जाँदा नेपाललाई भारतलगायत मध्यपूर्व र पश्चिमी देशहरूसँग जोड्ने पश्चिमतर्फको हवाई रुट लिमा–६२६ लाई दुईतर्फी बनाउन पनि आग्रह गरेँ । त्यस्तै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्रीज्यूबाट छिट्टै उद्घाटन पनि गर्दैछौँ ।’

पर्यटन मन्त्री आलेले भारतीय सिभिल एभिएशन मन्त्री ज्योतिरादित्य एम सिन्धियासँग भारतमा नेपाल एअरलाइन्सको दुई वटा विमान उडान भर्ने व्यवस्था मिलाउन पनि आग्रह गरिएको बताउनुभयो । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया