उपभोक्ताको भान्सा झन्–झन् महँगो, भएन प्रभावकारी अनुगमन

 कात्तिक ३०, २०७८ मंगलबार १२:३८:२७ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डाै – ललितपुर सातदोबाटोकी मैयाँ श्रेष्ठ बिहान अलिकति भए पनि सस्तो होला भनेर तरकारी किन्न लगनखेल पुग्नु भयो । काउलीको भाउ सोध्दा उहाँको झण्डै पसिना छुट्यो । 

‘तिहारमा १ सय ८० देखि २ सय रुपैयाँ किलो पुगेको काउली अहिले त झन २ सय २० पो भन्छन् । नकिनी फर्किएँ,’ उहाँले भन्नुभयो, ‘अरु तरकारी पनि कुनै सस्तो छैन । पहिले १ सय रुपैयाँ भएको सबै तरकारीको भाउ अहिले १ सय ५० रुपैयाँभन्दा कम छैन ।’ 

एक हातमा आलु र अर्को हातमा चिनीको पोको झुण्ड्याउँदै पसलबाट घर फर्कँदै गर्दा चापागाउँ दोबाटोमा भेटिनु भएका निरन कार्की भन्नुहुन्छ, ‘चिनी पनि अचाक्ली महँगो भयो । किलोको १ सय तिर्नु पर्यो । अलि अगाडि करिब एक महिना अघिसम्म ८५ देखि ९० मा पाइन्थ्यो । किन बढेको भनेर सोध्यो भने उतैबाट बढेर आयो भन्ने जवाफ दिन्छन् । नकिनी भएन ।’ 

यी दुई उपभोक्ताका प्रतिनिधि पात्र मात्र हुन् । अहिले बजारमा तरकारी, फलफूल, चिनी, तेल जस्ता खाद्य सामग्रीको भाउ आकाशिएको छ । 

कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जारी गरेको मूल्य सूची अनुसार रातो आलु किलोको औसत ७१ भए पनि बजार भाउ भने १ सय भन्दा कम छैन ।

अन्य खाद्य सामग्रीमा भने तेल, चिनी, मैदा, चामल, दाल, गेडागुडी तथा डाल्डा  घ्यूमा पनि मूल्य बढेको खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बज्राचार्यले बताउनुभयो । 

उहाँका अनुसार सबैभन्दा धेरै खाने तेलको भाउ बढेको छ । तेलमा प्रति लिटर झण्डै ५० देखि १०० रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । 

नेपालमा मलेसिया तथा सिंगापुरबाट खाने तेल आयात हुँदै आएकोमा कोरोना संक्रमणपछि व्यापारीले भारतबाट तेल मगाउन थालेकोले धेरै बढ्न गएको व्यापारीको तर्क छ । 

तोरीको तेल तथा सनफ्लावर तेलमा सबैभन्दा मूल्य वृद्धि भएको छ । एक महिना अघिसम्म लिटरको २ सय ४० रुपैयाँमा बिक्री भइरहेको फेमिली ब्रान्डको सनफ्लावर तेल अहिले २ सय ६० पुगेको छ । सनफ्लो सनफ्लावर तेल लिटरको २ सय ५० मा बिक्री भइरहेकोमा अहिले २ सय ९० रुपैयाँ पुगेको छ । 

त्यस्तै मैदा किलोको ४५ रुपैयाँमा बिक्री भइरहेकोमा अहिले ५० पुगेको छ । बज्राचार्यका अनुसार खाने तेलको लिटरमा औसतमा १ सय रुपैयाँ मूल्य बढेको छ । 

एक महिना अघिको तुलनामा जुनसुकै ब्रान्डको २५ किलोको जिरा मसिनो चामलमा औसतमा ५० रुपैयाँ बढेको तथा दाल किलोमा २० देखि ३० रुपैयाँ बढेको छ । गेडागुडीमा पनि किलोको २० देखि ३० रुपैयाँ बढेको बज्राचार्यले बताउनु भयो । 

एक महिना अघिसम्म चिनी ८६ रुपैयाँ किलोमा बिक्री भइरहेकोमा अहिले १ सय रुपैयाँ पुगेको छ । चिनी आयातमा कोटा तोकिएका कारण चिनीको भाउ बढेको व्यापारीको तर्क छ । 

सरकारले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले चिनी आयातमा कोटा तोकेपछि चिनी अभाव भएका कारण व्यापारीले मूल्य बढाएका हुन् । 

बढ्दो मूल्य नियन्त्रणका लागि भने उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले प्रभावकारी रुपले अनुगमन गर्नुपर्ने पनि बज्राचार्यले बताउनु भयो । पछिल्लो पटक इन्धनमा भएको मूल्य वृद्धिका कारण पनि उपभोक्ताको भान्सा अझ महंगो हुने देखिन्छ । 

हालै निगमले पेट्रोल तथा डिजेलको लिटरमा ३/३ रुपैयाँ बढाएको छ । त्यस्तै खाना पकाउने ग्यासमा सिलिन्डरको ७५ रुपैयाँ बढाएको छ । इन्धनमा भएको मूल्य वृद्धिको असर सम्पूर्ण क्षेत्रमा पर्ने भएकोले उपभोक्ताले अझै महँगी व्यहोर्नु पर्ने देखिन्छ । 

देश खुला बजार व्यवस्थामा गएका कारण कुनै पनि खाद्य तथा पेय पदार्थको मूल्य निर्धारण गर्ने काम व्यापारीले आफ्नो लागत तथा गुणस्तरको आधारमा गर्ने भएकोले यसमा उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले हस्तक्षेप गर्न सक्ने नभइ केवल नियमन गर्न मात्र सक्ने विभागका निर्देशक शिवराज सेढाईंले बताउनु भयो । 

विभागले वस्तु तथा सेवा बढी कारोबार हुने चाडपर्व तथा जात्रामा आवश्यक्ता हेरेर बजारको अनुगमन गर्ने पनि उहाँले बताउनु भयो । विभागले समय समयमा अनुगमन गरी मूल्य नियन्त्रण गर्ने तथा कालोबजारी गर्ने व्यापारीलाई कारबाही गर्ने गरेको पनि उहाँले जानकारी दिनु भयो । 

बजारलाई अनियन्त्रित हुन नदिन वाणिज्य विभागले तोकेको निरीक्षण अधिकृतको मातहत अन्तर्गत रहेर अन्य कर्मचारीले निरन्तर बजार अनुगमन गर्ने पनि उहाँले जानकारी गराउनु भयो । 

बजार अनुगमनको विभागको तथ्यांक हेर्दा कात्तिक महिनामा १७ पटक अनुगमन भएको देखिन्छ । कात्तिक १७ गते २२ वटा पसलमा अनुगमन भएको थियो । अनुगमन गरिएको ११ वटा पसललाई जनही ५ हजारका दरले कारबाही गरेर ५५ हजार जरिवाना असुल गरेको विभागले जनाएको छ ।

यस्तै कात्तिक २२ गते भने १२ वटा पसलमा विभागले अनुगमन गरेको थियो । यस्तै विभागले काठमाण्डौ, ललितपुर तथा भक्तपुरका मिठाई, खाजा, खाना, बेकरी, तरकारी, फलफूल तथा जुस पसलमा अनुगमन गरेर ६ वटा पसललाई क्रमशः ५/५ हजार जरिबाना गरेको देखिन्छ । 

उपभोक्ता हित संरक्षण मञ्चका सचिव हरि मैनाली महँगी सबै कुरामा बढेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘प्रतिशतमा यति भन्ने नभए पनि महँगी बढेको छ र त्यो अस्वभाविक देखिन्छ ।’

व्यापारीले चाडपर्वका अवसरमा कृत्रिम अभाव सिर्जना गरेर वा त्यसै पनि मूल्य बढाउने गर्छन । त्यसमा पनि यातायातको भाडा वृद्धि व्यापारीलाई अर्को निहुँ थपिएको मैनाली बताउनु हुन्छ । 

बढ्दो मूल्य नियन्त्रणका लागि पहिलो कुरा त उपभोक्ता नै सचेत हुनुपर्ने उहाँको भनाइ छ । पसलमा मूल्य सूची अनिवार्य राख्न लगाउनु अर्को उपाय हो । उपभोक्ता हित संरक्षण ऐनले पनि पसलमा मूल्य सूची अनिवार्य गरेको उहाँले बताउनु भयो । 

पहिलो त अनुगमन गर्न जाँदा पनि हाम्रा पसल नै व्यवस्थित नरहेको उहाँको अनुभव छ । यसका लागि राज्यले पसल व्यवस्थापन तथा सञ्चालनका लागि केही नीति ल्याएर त्यसमा स्थानीय निकायले केही सहुलियत दिएर व्यवस्थापन गर्नुपर्ने पनि मैनालीको भनाइ छ । 

यसो गर्दा १/२ वर्षमा पसलहरु विस्तारै आफैं व्यवस्थापन भएर जान्छन् साथै अनुगमन र मूल्य नियन्त्रणका लागि केही कदम चाल्दा त्यसलाई कार्यान्वयन गर्न मद्दत पुग्ने पनि उहाँको तर्क छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया