जनगणनाबारे बुझ्नैपर्ने केही तथ्य

 मंसिर ३, २०७८ शुक्रबार १२:५९:२५ | हेमराज रेग्मी
unn.prixa.net

कात्तिक २५ गतेदेखि सुरु भएको जनगणनाको काम मङ्सिर ९ गतेसम्म सक्ने गरी हामीले तयारी गरेका छौँ । यसका लागि गणकहरुको नियुक्ति, गणनाको सघन तालिम,  तथा गणना सामग्रीसहित उहाँहरुलाई एउटा गणना क्षेत्रको नक्सा समेत उपलब्ध गराएर जनगणना सुरु गरेका छौँ । 

हिँड्नु पर्ने ठाउँमा अलि बढी अनि हिँड्नु नपर्ने ठाउँमा अलि कम अर्थात सहरतिर अलि बढी तथा गाउँतिर अलि कम औसतमा २ सय घरपरिवारको जनगणना गर्ने गरी अर्थात दैनिक १५ घरपरिवार पर्ने गरी अनि १५ दिनभित्र सक्ने तयारी छ । गणक घरघर पुग्दा सरकार म कहाँ आइपुग्यो भनेर नागरिक खुशी भएका छन् । 

गणकहरु भनेका एक महिनाको निमित्त करारमा भर्ना गरिएका अस्थायी कर्मचारी भएता पनि अहिले चाहिँ सरकारको प्रतिनिधि भएर घर–घरमा पुग्नु भएको छ । सरकार घरमा आउँदा खुशी हुने एउटा ठूलो जनसमूह छ । केही मान्छेहरु बेखुशी पनि हुनु भएको छ । सरकारप्रतिको गुनासाहरु पनि गर्नु भएको छ उहाँहरुले । किन यस्तो भएन, किन यस्तो भयो भनेर सरकारसँग अरुबेला व्यक्त गर्न नपाएका गुनासाहरु पनि हाम्रा गणकहरु समक्ष पोखिरहनु भएको छ ।

वृद्धभत्ता बेलामा पाइएन, नागरिकता बनाउन टाढा जानु पर्यो वा सरकारबाट प्राप्त हुने सेवा, सुविधाहरु मैले पाइनँ भन्ने गुनासाहरु पनि उहाँहरुले हाम्रा गणक समक्ष राखिरहनु भएको छ।गणकहरु देशको प्रतिनिधि भए पनि सबै विषयको प्रतिनिधि त होइन । हामीले त्यस्ता गुनासालाई लिपिबद्ध गरेर राख्ने तथा त्यस्ता गुनासाहरु साँच्चिकै जायज रहेछन् भने केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार समक्ष पेश गर्ने विचार पनि गरेका छौँ । 

जनगणनाका चुनौती

केही चुनौती पनि देखिएका छन् । जस्तो केही सङ्घसंस्था तथा सङ्गठनहरुले तपाईँको जाति यो हो, तपाईँको भाषा यो हो, तपाईँको धर्म यो हो भनेर लेखाउनुस् भनेर विज्ञप्ति निकालेर तथा भन्दै हिँडेको सञ्चार माध्यम तथा हाम्रा गणकमार्फत हामीले सुनेका छौँ । 

जनगणनाको सिद्धान्तले के भन्छ भने जनगणनामा सङ्कलन गरिएको विवरणहरु पारदर्शी हुन्छन् । जनगणनामा कस्ता प्रश्न सोधिने छन् भनेर सरकारले राजपत्रमा सूचना प्रकाशित गरिसकेको छ । त्यसभन्दा बाहिरका प्रश्नहरु सोध्नै मिल्दैन । उत्तरदाताले के उत्तर दिनु भयो भन्ने चाहिँ त्यो उत्तरदाता तथा गणक वा सुपरिवेक्षक बाहेक अन्य मान्छेलाई जानकारी दिन मिल्दैन । नेपालको तथ्याङ्क ऐन २०१५ ले गोपनीयताको सुनिश्चित गरेको छ । यो सुनिश्चितता गर्नुको कारण तथ्याङ्कको विश्वसनीयता अभिवृद्धि गर्नको निमित्त हो । 

तपाईँले भनेको विवरण मैले सबैलाई देखाउँदै हिंँडे भने तपाईँले दोस्रो पटक मलाई तथ्याङ्क दिनु हुन्न । तथ्याङ्क विभागले त एक पटक मात्र जनगणना गरेर हुँदैन होला। यो जनगणना नै १२ औं जनगणना हो । यस्ता ठूला गणना बाहेक कृषि गणना, औद्योगिक गणना, आर्थिक गणना तथा सानातिना सर्वेक्षण त हामी गरिरहेका हुन्छौँ । उत्तरदाताको विश्वास जबसम्म हामीले जित्न सक्दैनौँ त्यो नजितेसम्म हामीले गुणस्तरीय र विश्वसनीय तथ्याङ्क प्राप्त गर्न सक्दैनौँ। 

यो विश्वसनीयता जगाउन पनि संसारभरिको प्रचलन के हो भनेदेखि तथ्याङ्कीय प्रयोजनको लागि सङ्कलन गरिएका विवरणहरुलाई अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने तथा गोपनीयताको सुनिश्चितता गरिनु पर्ने हुन्छ । 

किनकि हामी नितान्त व्यक्तिगत प्रश्न गरिरहेका हुन्छौँ, नितान्त संवेदनशील कुराहरु सोधिरहेका हुन्छौँ । ती कुराहरुलाई सार्वजनिक गर्न मिल्दैन । यसको अर्थ यसलाई तथ्याङ्कीय प्रयोजनको निमित्त भने प्रयोग गर्न पाइन्छ ।  

तथ्याङ्कीय प्रयोजन भनेको योजना तर्जुमा गर्नको निमित्त नीति बनाउनको निमित्त, राज्यले दिने सेवा सुविधामा सुधार गर्नको निमित्त, अनुगमन, मूल्याङ्कन गर्नको निमित्त अथवा हाम्रो स्थिति थाहा पाउनको निमित्त यी विषयहरु प्रयोग गरिन्छन् ।

तथ्याङ्क सङ्कलन गरिएका विषयलाई आधार बनाएर कतै अड्डा अदालतमा मुद्दा हाल्न पाइँदैन, व्यक्तिगत विवरणहरु सार्वजनिक गर्न पाइँदैन । यी कुराहरु नबुझेका कारण पनि कतै कतै केही समस्या उत्तरदातामा देखिएका होलान्। 

कुनै कुनै सङ्घसंस्थाहरुको केही अघोषित उद्देश्य पनि हुनसक्छ । उहाँहरुले यस्तो लेख, यो जातिको भाषा यो लेख, यो धर्म हो भनेर दबाब दिइरहनु भएको छ भन्ने विवरण पनि हामीलाई प्राप्त भएको छ । जुन आचारसंहिता विपरीत हो । राष्ट्रिय जनगणना सञ्चालन गर्नको निमित्त नेपाल सरकारले जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश २०७६ जारी गरेको छ जुन कानुन सरह लागू हुन्छ । त्यसले आचारसंहिताको व्यवस्था गरेको छ । अरुलाई प्रभाव पार्न हुँदैन । उत्तरदाताले जे मन लाग्छ त्यही टिपाउन पाउँछ । 

उत्तरदाताको सबै विवरण गोप्य

अहिलेसम्म हाम्रा उत्तरदातालाई हाम्रा गणकमार्फत तथा सार्वजनिक सूचना प्रवाह गरेर के विश्वास दिलाइ रहेका छौँ भने वास्तविक विवरण तपाईँहरुले उपलब्ध गराइ दिनु भयो भने चाहे ती आर्थिक विवरण हुन्, सामाजिक विवरण हुन्, व्यक्तिगत विवरण हुन् वा जनसाङ्ख्यिक विवरण हुन् ।  अथवा परिवारमा अनुपस्थित जनसङ्ख्याको विवरण हुन्, चाहे ती जाति, भाषा धर्मका बारेमा होस् । भाषामा पनि यस पटक हामीले तीन वटा प्रश्न सोधेका छौँ, पुर्खाको भाषा, मातृ भाषा, चलनचल्तीको भाषा  । यस्ता व्यक्तिगत विवरणहरु सार्वजनिक हुँदैनन् । 

तपाईँले दिएका विवरणहरुलाई जोडजम्मा गरेर एउटा क्षेत्रको आधारमा फलानो क्षेत्रमा, फलानो वडामा, फलानो बस्तीमा यति जना मान्छेहरु छन्, यति महिला छन्, यति पुरुष छन्, काम गर्ने मान्छे यति छन्, नगर्ने यति छन्, बिजुली पुगेका यति छन् भनेर तथ्याङ्क निकाल्छौँ । 

त्यस्तै पढेका यति छन्, नपढेका यति छन्, मोबाइल भएका यति छन्, टेलिभिजन भएका यति छन्, नभएका यति छन्, कुनै जातिका मान्छे यति छन्, कुनै धर्मका मान्छे यति छन्, कुनै भाषा बोल्ने मान्छे यति छन् भनेर पनि तथ्याङ्क निकाल्छौँ । 

त्यस्ता तथ्याङ्कहरु भोलि नितान्त संविधानको प्रयोजनको निमित्त, कानुनी प्रयोजनको निमित्त, योजना तर्जुमा गर्नको निमित्त, अनुगमन मूल्याङ्कन गर्नको निमित्त तथा त्यसको आधारमा नीति निर्माण तथा निर्धारण गर्नको निमित्त र हामीलाई तुलना गर्नको निमित्त यी तथ्याङ्कहरु प्रयोग हुन्छन् । 

यसकारण पूर्ण विश्वस्त भएर, कसैबाट पनि प्रभावित नभएर आफ्नो मनमा लागेका सही, सत्य र तथ्य विवरणहरु यहाँहरुले हामीलाई टिपाइ दिनु भयो भने राष्ट्र विकासमा यहाँहरुको योगदान हुनेछ । 

गलत विवरणले गलत योजना

वास्तविक विवरण टिपाउनु भएन भने देशले बनाउने योजनाहरु गलत हुन सक्छन् । अहिले हामीले काठमाण्डौमा खानेपानीको समस्या भोगिरहेका छौँ । हुन त मेलम्ची आइसके पछि समाधान हुन्थ्यो होला । 

उदाहरणको लागि तपाईँको धारामा पानी आउँछ कि आउँदैन भनेर भन्नका लागि मानौँ आएन भने किन आएन भन्ने कुराप्रति तपाईँ पनि जिम्मेवार हुन सक्नु हुन्छ । तपाईँले तथ्य विवरण टिपाउनुभयो र काठमाण्डौ उपत्यकामा ४० लाख मान्छेको बसोबास गर्छन् भन्ने हाम्रो तथ्याङ्कले देखायो भने राज्यले भोलि योजना तर्जुमा गर्दा ती ४० लाख व्यक्तिको लागि योजना तर्जुमा गर्छ । 

४० लाख मान्छेलाई कति खानेपानी चाहिन्छ, कति बिजुली चाहिन्छ, इन्टरनेटको सुविधा कहाँ कहाँ चाहिन्छ, गाडी, मोटर कति चाहिन्छ, विद्यालयहरु कति खोल्नुपर्छ, स्वास्थ्य संस्थाहरु कति चाहिन्छन्, पसलहरु कति चाहिन्छन्, मनोरञ्जन स्थलहरु कति चाहिन्छन् ? यस्ता विषयहरु तर्जुमा गर्न जसलाई हामी योजना तर्जुमा भन्छौँ जुन तर्जुमा गर्नको निमित्त सही तथ्याङ्क चाहिन्छ । 

आज तपाईँले झुटो कुरा गर्नु भयो, घरमा बहाल बस्ने मान्छेको नाम टिपाइ दिनु भएन, उहाँहरु छुट्नु भयो भने वास्तविक सङ्ख्या नै गलत हुन सक्छ । अथवा त्यस पछिका जुन विशेषताहरु छन् जुन सामाजिक विशेषताको आधारमा, महिला पुरुषको आधारमा सरकारले अहिले आरक्षण दिएको छ, अपाङ्गता भएको व्यक्तिलाई आरक्षता दिएको छ, विशेष वर्गलाई, ज्येष्ठ नागरिकलाई भत्ता उपलब्ध गराएको छ त्यसमा थपघट गर्नुपर्ने कुरा सही विवरणले प्राप्त हुन्छ ।   

तपाईँले सही उमेर बताइदिनु भयो भने ज्येष्ठ नागरिकको लागि कति रकम आवश्यक पर्छ, एकल महिलाको लागि कति रकम आवश्यक पर्छ, अथवा अपाङ्गता भएका व्यक्तिलाई कति रकम आवश्यक पर्छ भनेर देशले फेरि योजना तर्जुमा गर्ने देखि लिएर सेवा सुविधाको पहुँचमा समेत ठीक योजना बन्छ । विवरण पछि अहिले मानौँ ८० प्रतिशत जनसङ्ख्या मात्रै शुद्ध खानेपानी पिउँछन् भने २० प्रतिशतको लागि थप योजना निर्माण गर्नु पर्ने हुन सक्छ । 

यस्ता योजना तर्जुमा गर्नको निमित्त तथ्याङ्क चाहिने हो । यी तथ्याङ्क गलत भए भनेदेखि गलत तथ्याङ्कमा आधारित भएर बनाइएका योजनाहरु पनि गलत हुन्छन् त्यसको प्रतिफल त हामीले भोग्नै पाउँदैनौंँ । यसकारण यो तथ्याङ्क भनेको योजनाको आधार हो । योजना सही र निष्पक्ष रुपमा तर्जुमा हुनको निमित्त, त्यसको कार्यान्वयन हुनको निमित्त, प्रतिफल प्राप्त भयो कि भएन जान्नको निमित्त पनि सही तथ्याङ्क आवश्यक पर्छ । 

एउटा प्रश्नकर्ता जुन हाम्रा झण्डै ४० हजार जति गणकहरु र ९ हजार जति सुपरिवेक्षकहरु र अन्य व्यवस्थापकीय कर्मचारी गरेर झण्डै ५० हजार जति जनशक्तिहरु जुन हाम्रो नियन्त्रणमा हुनुहुन्छ । हामीले उहाँहरुलाई तालिम दिएका छौँ, अप्ठ्यारो पर्यो भने थप निर्देशन दिन सक्छौँ, बदमासी गर्नु भयो भने उहाँहरुको जागिर खाइदिन सक्छौँ, गलत तथ्यहरु भर्नु भयो भने जरिबाना गर्न सक्छौँ, तथ्याङ्क ऐनले थुन्ने र जरिबाना गर्ने समेत व्यवस्था गरेको छ । 

अर्को भनेको उत्तरदाताहरु हुन् । उत्तरदाता भनेको परिवार मुली अथवा परिवारको विषयमा जान्ने मान्छे जो भए पनि हुन्छ भनेका छौँ । 

झण्डै झण्डै ६८/७० लाख जति उत्तरदाताहरु हाम्रो नियन्त्रणमा हुनुहुन्न । त्यो ६८/७० लाख जति उत्तरदाताहरु यदि कुनै नियतवश प्रभावित हुनुभयो र उहाँहरुले गलत विवरण टिपाउनु भयो भने देशलाई आवश्यक पर्ने सही विवरण उपलब्ध हुँदैनन् । त्यसकारण उत्तरदाताहरु पनि सचेत हुनु अत्यन्त जरुरी छ । हुनत सत्य, तथ्य विवरणको लागि अन्तरवार्ताको समयमा हाम्रो गणकले भ्याएसम्म उहाँहरुलाई बुझाउने प्रयास पनि गर्नुहोला ।  

प्रारम्भिक घर तथा परिवारको जनगणनाको सम्पूर्ण विवरण प्राप्त भएको त छैन । हामीले ७० लाख घरपरिवार भएको अनुमान गरेका थियौँ । तर, ७० लाख नपुग्ने देखिएको छ । ७० लाखभन्दा केही कम परिवार छन् भन्ने हाम्रो अनुमान छ । जनगणनाका प्रारम्भिक प्रतिवेदनहरू हामीले जनगणना सम्पन्न भएको दुई महिना भित्र प्रकाशन गर्ने, त्यसलाई रुजु गर्ने, र परिवार कम्तीमा महिला, पुरुष गरेर हामीले तल्लो तहसम्मको वडा तहसम्मको विवरणहरु यो गणना सम्पन्न भएको दुई महिना भित्र प्रकाशन गर्ने लक्ष्य लिएका छौँ । 

तथ्याङ्क समयसापेक्ष

तथ्याङ्क विश्वसनीय हुनुपर्छ, यो अन्तर्राष्ट्रिय सिद्धान्त हो । तथ्याङ्कलाई विश्वसनीय कसरी बनाउने भन्नको निमित्त विभिन्न सिद्धान्तहरु छन् । 

सबैभन्दा महत्त्वपूर्ण सिद्धान्त भनेको समय हो । तथ्याङ्क समयसापेक्ष हुनुपर्छ भन्ने छ । जति छोटो समयमा गणना गर्न सकियो त्यतिखेरको वास्तविक तथ्याङ्क अर्थात फोटो खिचे जस्तो झिलिक्क गर्दा सक्नु पर्ने भन्ने हो । 

हामीले तथ्याङ्कबाट सङ्कलन गर्ने विषय भनेको देशको सामाजिक, आर्थिक अवस्था हो । यसलाई जति छोटो समयमा सङ्कलन गर्न सक्यो त्यति राम्रो हुन्छ भन्ने भएर हामीले १५ दिनको समय लगाएर विवरण सङ्कलन गर्दैछौँ । संसारका कतिपय देशले एकैदिनमा पनि सङ्कलन गर्ने गरेका छन् । 

फोटो नै नभए पनि यस पटक हामीले राष्ट्रको भिडियो बनाउँदै छौँ । राष्ट्रको आर्थिक, सामाजिक, जनसाङ्ख्यिक, भौगोलिक विषयहरुको हामीले भिडियो बनाउँदै छौँ। सही तथ्याङ्कको लागि एउटा भनेको समय सापेक्षता हो । दोस्रो विषय भनेको यो वास्तविकतामा आधारित हुनुपर्छ भन्ने हो । वास्तविकता भनेको के हो त भन्दा जे छ त्यही टिपाउने हो । कतैबाट पनि यो पक्षपातसहितको हुनु हुँदैन । पक्षपातरहित हुनुपर्छ भनेर भनिन्छ । 

पक्षपातरहित कसरी हुन्छ त भन्दा तपाईँले मलाई कुनै पनि किसिमबाट प्रभावित नभएर, तपाईँको व्यक्तिगत इगोले पनि प्रभावित हुन भएन, छिमेकीको इगोले पनि प्रभावित हुनु भएन, कानुनबाट डराउन पनि भएन । अथवा कुनै सङ्घसंस्थाको प्रलोभनमा पनि पर्नु भएन । 

यी कुनै कुराको प्रलोभनमा नपरेर तपाईँले जे छ त्यही कुरा टिपाइ दिनु भयो सही तथ्याङ्क प्राप्त हुन्छ । हुन त अहिले हामी आम्दानीको प्रश्न त सोध्दैनौँ । तर, तपाईँको आम्दानी कति हो भन्दा प्रायः घटाएर भन्ने अथवा बढाएर भन्ने चलन हुन्छ । यस्तो नगरिदिनु होला । उमेर कति हो भन्दा पनि किन घटाउनु पर्यो र ? तपाईँको उमेर हामी सार्वजनिक गरेर हिँड्दैनौंँ। 

गणक प्रभावित हुनु हुँदैन

हामील उत्तरदातालाई प्रभाव पार्ने केही कुरा गर्न पाउनु हुन्न भनेर गणकलाई भनेका छौँ । प्रश्नावलीमा जे लेखिएको छ त्यही मात्र सोध्ने हो । बुझ्नु भएन भने बुझाइ दिने हो । यस्तो होला भनेर पनि नभन्नु होला भनेर हामीले गणकलाई तालिममा पनि सिकाएका छौँ । त्यस अनुरुप नै गणकहरु जानु भएको छ । 

यति हुँदा हुँदै पनि ४०/५० हजार जुन जनशक्ति कार्यस्थलमा खटिनु भएको छ त्यसमा एक/दुई जनाले गल्ती गरेनन् होला भनेर पनि भन्न सकिँदैन । तर, त्यसको निमित्त हामीले संयन्त्रको निर्माण गरिसकेका छौँ । 

चारजना गणकलाई निरन्तर सुपरिवेक्षण गर्नको निमित्त एकजना सुपरिवेक्षक व्यवस्था गरेका छौँ । सुपरिवेक्षक सँधै उहाँहरुको पछिपछि लाग्ने हो । के गरिरहेको छ, पुग्यो कि पुगेन, ठीक ढङ्गले भर्यो कि भरेन भनेर पनि सुपरिवेक्षकले हेर्न पाउनु हुनेछ । किनकि उहाँ पनि हाम्रो गणनाको कर्मचारी हो । 

त्यस बाहेक अलिकति समग्र व्यवस्थापन गर्नको निमित्त राजनीतिकक संयन्त्रको पनि व्यवस्था छ । वडाध्यक्षज्यूको अध्यक्षतामा वडा तहमा यस्तो संयन्त्र हुन्छ । हुन त अहिले नगरपालिकामा हजारौँ हजार जनसङ्ख्या भएको ठूला वडाहरु पनि छन् । त्यहाँ सबै ठाउँमा अनुगमन गर्न त नसकिएला । तर पनि हामीले संयन्त्रको निर्माण गरेका छौँ । त्यो संयन्त्र कस्तो छ भन्दा वडाध्यक्षको अध्यक्षतामा वडाका गन्यमान्य व्यक्तिहरु, नागरिक समाजहरु भएर गणनाको अवलोकन गर्ने । 

उहाँहरुले फारम के भर्यो हेर्न पाउनु हुन्न, तथ्याङ्क ऐनले दिँदैन, गोपनीयता भङ्ग हुन्छ । तर, त्यो गणक तोकिएको ठाउँमा पुग्यो कि पुगेन, सोध्नु पर्ने प्रश्नहरु सोध्यो कि सोधेन भन्नका लागि यी संयन्त्रहरु छन् । भने हामीले पर्यवेक्षकहरु पनि परिचालन गरेका छौँ । 

नेपालमा कार्यरत अन्तर्राष्ट्रिय संस्थाहरु र नेपाल भित्रैको नागरिक समूहहरुले पनि हामी पर्यवेक्षण गर्छौँ भनेर हामीसँग अनुमति लिनु भएको छ । हामीले तथ्य विवरण आओस् भन्नका लागि हरसम्भव प्रयास गरेका छौँ । 

अन्तर्राष्ट्रिय स्तरमा स्थापित कुनै पनि पद्धतिलाई हामीले तल माथि पर्न दिएका छैनौँ । ती पद्धतिलाई कडाइका साथ लागू गर्ने जस्तो सुपरभाइजर र गणकको अनुपात १ः४ बनाउने तथा १५ दिन भित्र गणना गर्ने । यो धेरै प्रचलित विधि हो । कतिले अलि लामो समय पनि लगाउँछन् भने कतिले छोटो समय पनि लगाउँछन्। 

विदेशमा रहेका नेपालीबारे जानकारी

यो जनगणनाले संसारभरि कति नेपाली छन् भन्ने विवरण नदिन पनि सक्ला । नेपाली भाषी कति छन् भन्ने विवरण नदिन पनि सक्ला । किनकि नेपाली भाषीहरु भारतमा पनि हुनुहुन्छ । नेपाली भाषीहरु अमेरिका तथा अस्ट्रेलियामा पनि हुनुहुन्छ । हाम्रो यो जनगणनाको प्रयास के हुन्छ भने नागरिकता नलिएका भए पनि नेपालीहरु अनुपस्थित कति हुनुहुन्छ जनगणनाको समयमा भन्ने विवरण सङ्कलन गरिन्छ । 

स्वदेशमा अनुपस्थितिलाई त हामी अर्को ठाउँबाट सङ्कलन गर्छौँ । पढाइको सिलसिलामा, कामको सिलसिलामा, रोजगारीको सिलसिलामा विदेशमा भएका कारण कति अनुपस्थित हुनुहुन्छ भनेर हामी उहाँहरुको परिवारको सदस्य मार्फत नेपाल भित्रै गणना गर्छौँ । र यसमा छोटो अवधिमा घुम्न गएको चाहिँ पर्दैन । 

घुम्न गएको र विदेशमा बस्ने मान्छेको पनि तथ्याङ्क सङ्कलन हुन्छ । विदेशमा लामो समय बस्ने मान्छेलाई चाहिँ हामी नेपालीको जनसङ्ख्यामा जोड्दैनौँ । विदेशमा कति नेपाली छन् भन्ने कुरामा एउटा सीमितता चाहिँ के छ भने कुनै नेपालीको पूरै परिवार विदेशमा गएको छ भने त्यसलाई चाहिँ हामी गन्न सक्दैनौँ । किनकि सोध्ने मान्छु नै नभए पछि को सँग सोध्ने त ? 

यहाँ कोही पनि छैन यहाँ उहाँहरुले बेचेर जानु भयो वा छोडेर जानु भयो र उहाँहरुको समात्ने कोही पनि छैन भने उहाँहरु चाहिँ छुट्नु हुन्छ । त्यो बाहेकका परिवारको एकजना सदस्य मात्र पनि नेपालमा उपस्थित हुनुहुन्छ र बाँकी सदस्यहरु संसारको जुनसुकै देशमा भए पनि त्यो परिवारको सदस्यमार्फत विवरण सङ्कलन गर्छौँ । नेपालको जनगणनाको सिद्धान्त भनेको अक्सर बसोबास भन्ने हो । अक्सर बसोबासलाई हामीले कसरी परिभाषित गरेका छौँ भने जो जहाँ बसेको छ त्यहीं गन्ने हो । स्थायी ठेगानामा होइन । अथवा स्थायी पनि हुन सक्छ । 
जनगणना किन गर्नु पर्यो, जनगणनाको महत्त्व के हो त भन्दा योजना तर्जुमाको निमित्त हो ।

तपाईँ हामी यहाँ काठमाण्डौमा बस्छौँ । यहाँको सेवा, सुविधा उपयोग गर्छौँ । यहाँको पानी पिउँछौँ, यहाँको आवास प्रयोग गर्छौँ, यहाँको बिजुली प्रयोग गर्छौँ, यहाँका विद्यालय तथा यहाँका स्वास्थ्य चौकी प्रयोग गर्छौँ र हामीलाई हाम्रो स्थायी ठेगानामा गणना गर्ने हो भने त योजना त हामीले सोचे जस्तो हुँदैनन् । त्यसकारण जनसङ्ख्याको सिद्धान्तले स्थायी र अस्थायीको विभेद गर्दैन । हामीले स्थायी पनि गन्छौँ, अस्थायी पनि गन्छौँ ।

उदाहरणको लागि काठमाण्डौको जनसङ्ख्या भन्दा स्थायी तथा यहाँ काम, रोजगारी तथा पढाइका लागि अस्थायी बसोबास गर्ने सबै समेटिने भए । हामीले जनगणना गरेको विधि भने स्थायी ठेगानाको आधारमा नभएर अक्सर बसोबास गरेको ठेगानाको आधारमा हो । त्यो स्थायी पनि हुनसक्छ, अस्थायी पनि हुनसक्छ। 

कोही नछुटुन्, कोही नदोहोरिउन्

आफ्नो परिवारमा कानुनी रुपमा छुट्टाभिन्न नभएको भएता पनि यदि भान्सा अलग अलग छ भने जनगणना प्रयोजनका लागि त्यसलाई हामीले दुईवटा परिवार मान्छौँ । साथी–साथी मिलेर डेरामा बस्नु भएको छ भने पनि त्यो एउटा परिवार हो । त्यसमा रक्त सम्बन्ध नै हुनुपर्छ भन्ने पनि छैन । अन्य नाताका व्यक्तिहरु पनि हुन सक्छन् । सँगै बस्ने, सँगै खाने तर अलिकति आर्थिक साझेदारी गर्ने विषय चाहिँ हुनु पर्यो । यसलाई पनि हामीले परिवार मानेका छौँ । 

तथ्याङ्क सङ्कलनको एउटा समस्या के हो उत्तरदाता नभेटिनु । तथ्याङ्क सङ्कलन भनेकै प्रश्नकर्ता र उत्तरदाताको बीचको सम्बन्ध हो । त्यो समयमा उत्तरदाताले दिएका उत्तरहरु प्रश्नकर्ताले कागजमा टिपेर ल्याउने वा ट्याब्लेटमा टिपेर ल्याउने र पछि त्यसलाई प्रशोधन गर्ने र विश्लेषण गर्ने र नतिजा प्रकाशन गर्ने यो तथ्याङ्कको समग्र प्रक्रिया हो । 

उत्तरदातालाई भेट्न केही ठाउँमा चुनौती देखिएको छ । सहरमा धेरैजसो मानिसहरु कामकाजी हुनुहुन्छ, पढ्दै गरेको हुनुहुन्छ । उहाँहरुलाई हाम्रो गणकले तोकेको समयमा नभेट्न सक्नु हुन्छ । 

त्यसको लागि हामीले के भनेका छौँ भने उहाँलाई सम्पर्क गरेर उहाँको उपयुक्त समय लिएर भेट्ने । बिहान–बेलुकी भए पनि हुन्छ, बिदाको दिन भए पनि हुन्छ । एकपटक जाँदा भेटिएन भने अर्को पटक जाने वा छिमेकीसँग नम्बर मागेर हामी यतिखेर आउँदैछौँ है भनेर तपाईँको उपयुक्त समय कहिले हो भनेर सोध्ने । खेतबारीमा काम गरिरहेको हुनुहुन्छ भने खेतबारीमा नै गएर सङ्कलन गर्ने, अथवा कार्यालय नजिकै छ र कार्यालयमा गएर गर्न सम्भव छ भने कार्यालयमा गएर गरे पनि हुन्छ । यस्तो सहजता पनि दिएका छौँ हामीले । तर, कसै गरी पनि छुटाउन चाहिँ मिल्दैन । 

यस भन्दा पहिलेको चरणमा केही छुटेको भएता पनि त्यसलाई पनि अहिले समावेश गर्नु होला भनेर हामीले गणकलाई निर्देशन दिइसकेका छौँ । हाम्रो प्रयास भनेको शतप्रतिशत गणना त्यसमा पनि कोही नछुटुन् र कोही नहाेरिदिउन् भन्ने हो।

वैकल्पिक विधि

लिपुलेक र लिम्पियाधुराको गणनाका लागि हामीले सम्बन्धित निकायमार्फत पत्राचार गरेका छौँ । अर्थात तथ्याङ्क विभाग राष्ट्रिय योजना आयोग अन्तर्गत रहेर काम गर्ने संस्था हो । 

राष्ट्रिय जनगणना सञ्चालनका निमित्त राष्ट्रिय जनगणना निर्देशक समिति छ राष्ट्रिय योजना आयोगको माननीय उपाध्यक्षको अध्यक्षतामा । जसमा विभिन्न मन्त्रालयका सचिवज्यूहरु हुनुहुन्छ । जस्तै परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय लगायतका मन्त्रालय र सचिवज्यूहरु त्यसको सदस्य हुनुहुन्छ। 

त्यो निर्देशक समितिले भारतसँग पत्राचार गर्ने भन्ने निर्णय बमोजिम परराष्ट्र मन्त्रालयमार्फत वार्ता भइरहेको छ । अहिलेसम्म स्पष्ट जवाफ आइनसकेको हामीले बुझेका छौँ । अझै पनि गणनाको अन्तिम दिन मङ्सिर ९ गतेसम्म पनि हाम्रो गणकलाई पठाउन सकिन्छ कि प्रयासरत छौँ । यदि पठाउन सकिएन भने वैकल्पिक विधिहरुबाट भए पनि त्यहाँको जनगणना गर्नुपर्छ भन्ने विषयमा निरन्तर छलफल भइरहेको छ । 

प्रत्यक्ष अन्तर्वार्ता गरेर लिने भन्ने नै छ अहिलेसम्म । तर, सुरक्षा वा अन्य कारणले प्रत्यक्ष तरिकाले लिन सकिएन भने अप्रत्यक्ष विधि जो तथ्याङ्क शास्त्रमा स्थापित विधिहरु हुन् ती अप्रत्यक्ष विधिको प्रयोग गरेर भए पनि हामी गणना गर्छौँ । जस्तो तपाईँको घरमा गणक जाँदा ताल्चा लागेको छ र गणक धेरै पल्ट जाँदा पनि मान्छे भेट्न सकेन भने तपाईँको विषयमा जानकारी राख्ने मान्छे त्यो छिमेकी हुनसक्छ, नातेदार हुनसक्छ वा अरु कोही हुनसक्छ । लिपुलेकको सन्दर्भमा पनि व्यासका कोही मान्छे जानकार छ वा आउजाउ गरिरहेको हुनसक्छ भने ती मानिसबाट सङ्कलन गर्ने । 

अर्को विधि भनेको अवलोकन विधि । अवलोकन विधि भनेको जाने हेर्ने र टिप्ने । सोध्ने भने होइन । अवलोकन त स्याटेलाइट मार्फत, गुगल म्यापमार्फत वा फोटोग्राफी मार्फत । गुगल म्यापमार्फत गर्दा घर मात्रै आउने भयो । सामाजिक, आर्थिक र अन्य क्रियाकलाप आउँदैन । त्यसमा केही अनुपात लगाएर भए पनि गर्ने । यस्ता विधिहरु संसारका द्वन्द्वग्रस्त देशमा भइरहेका छन् । जस्तो अफगानिस्तानमा जनसङ्ख्याको अनुमान यस्तै विधिबाट गरिएको हो । पाकिस्तानका केही क्षेत्रमा यस्ता विधिबाट जनसङ्ख्याको अनुमान गरिएको छ । ती विधिको प्रयोग गर्न पनि सकिएला । तर, अहिलेसम्म हामी ती विधिमा गइहालेका छैनौँ । अहिलेसम्म पनि हामीले सहज पहुँच पाइन्छ भनेर अपेक्षा गरेका छौँ । 

दुई महिनाभित्र प्रारम्भिक तथ्याङ्क

मङ्सिर ९ गते जनगणना सकिन्छ । त्यसको दुई/चार दिनमा हाम्रा गणकहरुले फारमहरुमा केही कोडहरु राख्न छुटेका वा अन्य केही छुटहरु भएका रहेछन् त्यो बुझाउनु हुन्छ हाम्रो कार्यालयमा लगेर । 

मङ्सिर मसान्तसम्म हामीले जिल्ला र प्रदेशमा स्थापित सबै कार्यालयहरु बन्द गरेर ती सामग्रीहरु केन्द्रमा ल्याउँछौँ । त्यसपछि हामीले तथ्याङ्क प्रविष्टिको काम सुरु गर्छौँँ। तथ्याङ्क प्रविष्टि गरेर विस्तृत प्रतिवेदन आउन त केही समय लाग्छ । त्यसको लागि ६ महिना १ वर्ष भनेका छौँ हामीले । 

तर, प्रारम्भिक प्रतिवेदन भने हामीले दुई महिना भित्रै निकाल्छौँ । जसमा कुल जनसङ्ख्या, महिला, पुरुष, घरपरिवार तथा पालिकाको वडासम्मको विवरणहरु हामी निकाल्छौँ ।     
(हेमराज रेग्मीसँगको कुराकानी बदलिँदाे नेपालमा सुन्नुहाेस्)

अन्तिम अपडेट: बैशाख ६, २०८१

हेमराज रेग्मी

रेग्मी केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया